काठमाडौं–नेकपा सचिवालय सदस्य एवंं गृहमन्त्री रामबहादुर थापा‘बादल’लाई अध्यक्ष केपी ओलीसँग नमिल्न पूर्वमाओवादीनिकट डेढ दर्जन केन्द्रीय सदस्यले दबाब दिएका छन्। मन्त्रीनिवास पुल्चोकमा भेला भई उनीहरुले बादललाई ओलीसँग नमिल्न दबाब दिएका हुन्।
ओलीसँग कुनै हालतमा मिल्न नसकिने भन्दै १६ केन्द्रीय सदस्यले बादललाई फकाउन पुल्चोकमा भेला गरिरहेका छन्। यसरी दबाब दिने नेताहरुमा स्थायी कमिटी सदस्यद्य देव गुरुङ र पम्फा भुसाल छन्।
यस्तै केन्द्रीय कमिटीमा रहेका हितमान शाक्य, लेखनाथ न्यौपाने, मनोज थापा, यसोदा सुवेदी, सूर्यप्रकाश सुवेदी, सावित्रिकुमार काफ्ले, अमृता थापा मगर, श्रीराम ढकाल, मायाप्रसाद शर्मा, महेश्वर दाहाल, युवराज भट्टराई, रामदीप आचार्य र सुरेश आलेमगरलगायत नेताहरु पनि मन्त्रीनिवासमा छन्। उनीहरुले पार्टी विवादमा अध्यक्ष प्रचण्डसँगै मिलेर जानुपर्ने भन्दै दबाब बढाएका हुन्। बादलले प्रचण्डलाई छाडे आफूहरुले साथ दिन नसक्ने ती नेताहरुले बताएका छन् ।
उनीहरुले आइतबारै बादललाई गृहमन्त्रीबाट राजीनामा दिन सुझाव दिएका थिए। तर उनले राजीनामा दिन आनाकानी गरेपछि उनीनिकट नेताहरुले भेटेरै दबाब दिएका हुन्। पार्टी विवादमा बाहिर हेर्दा पद लेनदेनको विषय जस्तो देखिए पनि त्यो वैचारिक लडाइँ भएकाले ओलीसँग मिलेर जान नसकिने बादलनिकट नेताहरुको भनाइ छ। संसद विघटन गरेपछि ओलीले झन् एकपछि अर्को आत्मघाती बाटो समाएको भन्दै मिल्न नसकिने उनीहरुको तर्क छ । बादलसँग ३४ जना केन्द्रीय सदस्यहरु छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।