काठमाडौं–संसद विघटनपछि विकसित घटनाक्रमबारे छलफल गरि रणनीति बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुको भेला आज हुँदैछ । भेला दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुन लागेको हो।
प्रचण्ड र नेपालले आफ्ना निकटका नेताहरुलाई अनिवार्य रुपमा उपस्थित हुन निर्देशन दिएका छन्। ‘हामीलाई दिउँसो १ बजे अनिवार्य रुपमा उपस्थित हुन सूचना आएको छ,’ नेता मेठमणि चौधरीले नेपाल लाइभसँग भने।
उनले संसद विघटन भइसकेपछि कसरी अघि बढ्ने भन्नेबारे छलफल केन्द्रित हुने बताए।
भेलामा सहभागिता जनाउनका लागि उपत्यकाबाहिर रहेकालाई पनि अनिवार्य आउन निर्देशन दिइएको छ।
आइतबार प्रधानमन्त्री केपी ओलीविरुद्ध ९० सांसदले अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए। ओली समूहले भने बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेला गरेका छन्। संसदीय दलमा दुवै पक्षले बहुमत जुटाउनका लागि रस्साकस्सी गर्दै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।