काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओलीले फासिवादको सहारा लिएको बताएका छन्।
आइतबार एक विज्ञप्ति जारी गर्दै उनले वर्तमान राज्य व्यवस्थाको विकल्प खोजिनुपर्ने भन्दै उनले फासीवादको सहारा लिँदै संसद विघटन गरेको बताएका हुन्।
‘नेपाली जनताको अग्रगामी एवम् रूपान्तरणकारी चाहना र दलाल पुजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका
कारण पैदा हुने सङ्घर्षले उनीहरूले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरे पनि यो असफलता र सङ्कट आउनु अनिवार्य थियो‚’ विज्ञप्तिमा भनिएको छ‚ ‘जनताको शान्ति र प्रगतिको आकांक्षा पूरा गर्न असफल हुँदा फासिवादको सहाराद्वारा आफ्नो सङ्कट टार्न खोज्ने संसद्वादी तत्वहरूको विश्वव्यापी चरित्रअनुरूप पर्ने केपी ओलीले यो कदम चालेका छन्।’
साथै विप्लवले लोकतन्त्रवादी, प्रगतिशील, देशभक्त शक्तिहरुसँग आफू नयाँ आधारमा सहकार्य र मोर्चाबन्दी गरेर अगाडी बढ्न तयार रहेको प्रस्ताव समेत गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।