काठमाडौं- संवैधानिक कानुनका ज्ञाता चन्द्रकान्त ज्ञवालीले राष्ट्रियसभा अविच्छिन्न भएकाले विघटन हुन नसक्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट संसद् विघटन गर्न सिफारिस गरेको विषयमा नेपाल लाइभले राखेको जिज्ञासामा उनले राष्ट्रियसभा विघटन नहुने बताएका हुन्।
'नेपालको संविधान २०७२ अनुसार राष्ट्रियसभा अविच्छिन्न हो। मन्त्रिपरिषद् बैठकले संसद् विघटनका लागि सिफारिस गर्न सक्दैन,' उनले भने।
संविधानको धारा ८६ को उपधारा १ मा राष्ट्रिय सभा स्थायी सदन हुने उल्लेख छ। 'राष्ट्रिय सभा एक स्थायी सदन हुनेछ,' उक्त उपधारामा लेखिएको छ।
राष्ट्रियसभा सदस्यहरूको पदावधि छ वर्षको हुने र सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा सकिने त्यसमा पुन मनोनयन वा निर्वाचन हुने भएकाले राष्ट्रिय सभा विघटन हुन नसक्ने संवैधानिक कानुनका जानकार ज्ञवालीले बताएका हुन्।
यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले भने आइतबारको मन्त्रिपरिषद् बैठकबाट संसद् विघटनको सिफारिस गराएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।