काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संसद् विघटन गर्ने सिफारिस गैरजिम्मेवारपूर्ण भएको भन्दै प्रतिवाद गर्नुपर्ने बताएका छन्। ट्विटरमा प्रतिक्रिया दिँदै भट्टराईले यस्तो बताएका हुन्।
'नयाँ संविधानमा देशमा राजनीतिक स्थिरता कायम गर्नका लागि प्रतिनिधि सभाको कार्यकाल ५ वर्ष किटान गरेका थियौं। र विगतका अस्थिरतालाई ध्यान दिँदै बीचमा नै संसद् गरेर अस्थिरता निम्त्याउन नदिने प्रावधान राखेका थियौं। त्यसविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको प्रस्ताव राष्ट्रपति समक्ष प्रस्तुत गरेको खबर प्राप्त भएको छ। त्यो अत्यन्त दुखद् छ,' उनले भनेका छन्।
ओलीका क्रियाकलाप संविधान र लोकतन्त्रका मान्यता विपरीत भएको समेत उनको भनाइ छ। 'हिजोकै संसदीय व्यवस्थाको जुन अस्थिरता निम्त्यायो र हामीले संविधानसभाबाट सुधारिएको प्रणाली ल्यायौं, त्यसको धज्जी उडाएको छ।यो लोकतन्त्रको मर्म विपरीत छ, संविधानको प्रावधान विपरीत छ। यसले नेकपाको दुई तिहाइ नजिको सरकार बन्दाखेरी पनि जुन ढंगको गैरजिम्मेवारपूर्ण हर्कत प्रधानमन्त्रीबाट भएको छ। यो लोकतन्त्रको हितमा छैन। र यसको सबैतिरबाट प्रतिवाद गरिनुपर्छ,' भिडियोमा उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।