काठमाडौं- भेचुप्रसाद यादवलाई अहिले अनाज रुच्दैन। शरीर दुखिरहेको छ। पेट हुँडलिएको जस्तो भइरहन्छ। बोल्न पनि मन लाग्दैन। यसअघि पनि मन हुँदैन थियो बोल्न त। तर अनाज नरुचेको भने यसैपटक हो। यी किसानलाई अनाज नरुच्नु चिन्ताको विषय हो कि होइन?
७८ वर्षको उमेरमा काठमाडौंको सडकमा उनलाई अस्वस्थ देख्नेहरु करुणाको भावमा हेरिरहेकै छन्। तर जसलाई गुहार्न उनी कपिलबस्तुबाट राजधानी आएका थिए, उही सरकार उनलाई ‘बिचौलिया’ देखिरहेको छ। यो स्वरुपमाथि किसान मारेर नाफा खाने आरोप सर्वहाराको सत्ताले कसरी लगाउन सक्यो उनलाई थाहा छैन।
थाहा छ त यहाँ सरकार हुन्छ भन्ने मात्र। आफ्नै सरकार। आफैले चुनेको सरकार। आफ्नै लागि काम गरिदिन्छु भन्ने सरकार। जसले गएको वर्ष यसैगरी माइतीघरको सडकमा दुई साता बसेपछि गराइदिएको थियो- उखु बेचेको पैसा दिलाउने सहमति।
तर सरकारको सम्झौता पनि पूरा हुँदैन रहेछ। सहमतिको वर्ष दिनपछि परिश्रमको मूल्य माग्न उनीहरु फेरि माइतीघरमा सुत्नु परेको छ। पसिनाको कमाइ माग्नुपरेको छ। परिश्रम सिञ्चने यिनीहरु माग्न रुचाउँदैनन्। मेहनत शरीरले धान्ने भन्दा बढी गर्न तयार हुन्छन्, तर पसिना खर्चेभन्दा ज्यादा नाफा चाहँदैनन्। हुनुपर्ने भन्दा बढी कहिल्यै मागेनन् पनि। अहिले त आफैसँग भोट मागेको सरकारसँग पाउनुपर्ने पैसा दिलाइमाग्दा अपमान भोगेका छन्। जसले सरकारप्रतिको विश्वासबाट पर हुँदैछन्।
‘हामी किसानलाई सरकारले पैसा दिलाइदिए हुन्थ्यो। सरकारले सुनेन र पैसा पाइएन भने त हामी कसरी फर्कनु र?’, भेचुप्रसादको मधुरो आवाज माइतीघरको खलबल र ट्याँ टुँमा अझ सानो सुनियो, ‘मलाई सञ्चो छैन। अनाज पनि रुच्दैन। खानै मन लाग्दैन। बिहान थोरै चावल खान खोजेको, रुचेन। जिउ दुखिरहेको छ। बोल्ने हिम्मत पनि छैन।’
भेचुप्रसादले महालक्ष्मी सुगर मिलबाट कति लिनुपर्ने छ भन्ने हिसाब सम्हालेर राखेका छन्। २०७० सालदेखिकै उखु बेचेको पैसा लिन बाँकी बसेको उनी सुनाउँछन्। ‘मेरो त धेरै रकम नै बाँकी छ। बोरिङ गाड्ने पैसा पनि सरकारबाट अनुदान सहयोग हुन्छ भनेको थियो, त्यसैले बोरिङ खनेँ। त्यो पनि पाएको छैन’ उनले सुनाए।
काठमाडौंमा होटलमा बसिरहेका उनलाई खर्च कसरी पुर्याउने भन्ने चिन्ता पनि लाग्न थालेको छ। भन्छन्- ‘साथीबाट २५ हजार लिएर आएको हो, अब बादमा त गोजीमा पैसा पनि हुँदैन।’
परिवारमा को-को हुनुहुन्छ? भन्ने प्रश्नमा दुखिरहेको शरीर घुमाएर साथीहरु भएतिर देखाउँदै उनले भने- ‘यिनीहरु सबै परिवार त हुन्।’
भेचुप्रसादले भनेजस्तै उनको किसान परिवारका गौरीशंकर पण्डितलाई पनि अब राजधानीमा खर्च धान्ने चिन्ता थपिएको छ। सर्लाहीबाट काठमाडौं आएर आन्दोलनमा सामेल भएको पनि ६ दिन बितिसक्यो। ८ हजार रुपैयाँ लिएर काठमाडौं आएका उनीसँग अहिले २१० रुपैयाँ बाँकी छ।
उनले अन्नपूर्ण सुगर मिलका मालिकसँग आफूले पाउनुपर्ने पैसा धेरैपटक मागे। ‘अर्को महिना खातामा हालिदिन्छौँ’ भन्ने जवाफ लिएर फर्कने उनका लागि मिल मालिकले भनेको अर्को महिना चार वर्षमा अहिलेसम्म आएन। पोहोरको आन्दोलनपछि पैसा पाउने आश निकै थियो। तर पूरा भएन।
‘यहाँ त हामी सबै किसान छौँ, पैसा लिनुपर्ने प्रमाण सबैसँग छ। तर सरकारले कसरी बिचौलिया भनिरहेको छ। अब त सरकारलाई केही भन्न पनि मन लाग्दैन। सरकारको बोलि सुन्न पनि मन लाग्दैन। सरकारको भर छैन’ उनले भने।
गौरीशंकर यहाँ गौशाला धर्मशालामा बसिरहेका छन्। अरु १० जना किसान साथीसँगै। बाँकी अरु होटलतिर बसिरहेका छन्। ‘खाना पसलमा खाइरहेको छु। एकपटकको १६० रुपैयाँ पर्छ। बसेको दिनको ३८० रुपैयाँ परेको छ। घरबाट ८ हजार रुपैयाँ ल्याएको थिएँ। अब मसँग त थोरै मात्र पैसा बाँकी छ’ अप्ठ्यारो गरी भित्री खल्तीबाट २१० रुपैयाँ निकालेर उनले देखाए।
‘केही किसान साथीहरुले खाजा खुवाउने, बिस्कुट खुवाउने, पानी खुवाउने गरिरहनुृभएको छ। तत्कालको समस्या साथीहरुबाट सहयोग होला, तर उखुको पैसा दिन मिल मालिक पनि सुृन्दैन, सरकार पनि सुन्दैन। सरकार त भन्छ कि किसान पनि नक्कली छ’ उनले भने।
भेचुप्रसाद र गौरीशंकर जस्तै समस्यामा छन् सर्लाहीबाट आएका मनोज साह र अरु सयौँ किसान। आन्दोलनको ६ दिन बित्दा मनोजलाई खोकिले च्यापेको छ। बिसञ्चो महसुस भइरहेको छ। उनको पनि चार वर्षदेखिको उखुको चार लाख रुपैयाँ लिन बाँकी छ।
‘छठ पर्वमा पैसा हालिदिन्छु भनेको थियो। तर छठमा पनि दिएन। पैसा दिएपछि घर जान हुन्थ्यो। नत्र त हामी आन्दोलन जारी राख्छौँ। जबरजस्ती किसान ओरिजिनल छैन भनेर कहाँ हुन्छ?’ उनले भने।
२०७६ पुस १८ गते उखु किसान संघर्ष समिति र उद्योग मन्त्रालयबीच भएको पाँच बुँदे सहमति अनुसार पहिलो बुँदामा नै सरकारले तोकेबमोजिम मूल्य अनुसार उखु किसानले पाउनुपर्ने बाँकी रकम २०७६ माघ ७ गते दिइने सहमति भएको थियो। तर समयमा रकम नपाएपछि किसानले धेरैपटक मन्त्रालयमै पनि ताकेता गरिसकेका छन्।
यसैले अब पाउनुपर्ने रकम नपाउँदासम्म आफूहरु सडकमा शान्तिपूर्ण आन्दोलनमा रहने उनीहरु बताउँछन्। कुनै राज्य कोषबाट आफूलाई रकम दिएर सरकारले उद्योगीबाट रकम उठाए हुन्थ्यो भन्ने पनि उनीहरुमा आश छ। त्यसका लागि परिणाममुखि वार्तामा बस्न तयार रहेको उनीहरुले सुनाए।
अहिले नागरिकस्तरबाट र केही कलाकारले समेत उखु किसानको आन्दोलनमा साथ दिइरहेका छन्। केही दिन अघि लोक तथा दोहोरी गायक बद्री पंगेनी माइतीघरमा नै पुगेर उखु किसानलाई साथ दिएका थिए। ‘मै पनि एमाले, सही पनि एमाले’ भनेर चुनावमा गीत घन्काएका पंगेनीले ‘यो व्यवस्था चाइँदैन, किसान मार्न पाइँदैन’ भन्दै सरकारलाई झकझकाए।
बिहीबार दिउँसो कलाकार सरिता साहसँगै रंगकर्मी कलाकार समूहले पनि मैथिली सडक नाटकमार्फत किसानलाई साथ दिए। किसानले लगाइरहेको गम्छा संकलन गरेर कलाकारले लगाए। गुलियो चिनि उद्योगका कारण उखु किसानले भोग्नुपरेको तीतो यथार्थ नाटकमा प्रस्तुत गरिएको थियो। आफ्ना पीडाको कथा नाटकमा हेरेका किसानको धुमिल अनुहार कलाको रमाइलो अलिकति भए पनि मुस्कायो।
उखु किसानको आन्दोलनमा देखिएका दृश्य थप तस्बिरमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।