काठमाडौं–कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासीमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल दोहोरिए आफूले पनि उम्मेदवारी दिने नेता कृष्णप्रसाद सिटौलाले प्रष्ट पारेका छन्। दोश्रो तहका नेताबीच सभापतिको उम्मेदवारी एक हुने अवस्थामा सहमतिमा पुग्न सकिने विकल्प रहेको उनले बताएका छन्। आफूपक्षीय नेताहरुसँगको भेलामा नेता सिटौलाले भावी नेतृत्व दोश्रो पुस्तामा पुग्नुपर्ने बताएका हुन्।
विचारको रुपान्तरण तथा पुस्ता हस्तान्तरणको वकालत गर्दै आएका सिटौलाले दोश्रो पुस्ताका नेताहरु नै भावी नेतृत्वमा आउनुपर्ने मत राखेका छन्। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकीय जिम्मेवारी बहन गर्दै प्रतिस्पर्धामा आउन नहुने आवाज पार्टीभित्र बढ्दै गएको छ। एक तहको नेतृत्व प्रतिस्पर्धाबाट अलग हुनासाथ दोश्रो तहका नेताहरु प्रतिस्पर्धी बन्नेछन्। देउवा र पौडेलले बाटो खाली गर्दा सभापतिको जिम्मेवारी स्वतः दोश्रो तहको काँधमा आइपुग्छ।
दोश्रो तहमा सिटौलासहित विमलेन्द्र निधि, डा शशांक कोइराला,प्रकाशमान सिंह र डा शेखर कोइराला सभापतिको लाइनमा देखिएका छन्। देउवा प्रत्यासीबाट पछि हटेको अवस्थामा संस्थापन पक्षबाट निधि एक्ला प्रत्यासी हुनेछन्। १४ औं महाधिवेशनमा सभापति भिड्ने मनस्थितिमा निधि छन्। निधि सभापतिको उम्मेदवार हुँदा विद्यमान समीकरणमा पनि परिवर्तन आउँछ। यही आँकलनले नै दोश्रो तहका नेताले एक आपसमा संवादलाई तिब्रता दिएका छन्।
कांग्रेसमा अहिले सतहमा तीन तहको पुस्ता देखिएको छ। देउवा र पौडेलको पुस्तालाई पहिलो पुस्ताका रुपमा अर्थ्याइएको छ। सिटौलाले आफूलाई दोश्रो पुस्ताको नेताका रुपमा परिभाषित गर्दै आएका छन्। बिहीबारको बैठकमा सिटौलाले दिएको अभिव्यक्तिबारे सहभागीले भने,‘पहिलो पुस्तालाई स-सम्मान बिदा गर्न सकियो भने दोश्रो पुस्ताका लागि अवसर पैदा हुन्छ।’
दोश्रो पुस्ता सभापति र उपसभापतिमा प्रत्यासी बन्दै गर्दा तेश्रो पुस्ताका परिचित नेताहरुलाई पदाधिकारीमा भिड्न अवसर रहन्छ। पदाधिकारीको शक्तिशाली पदमध्ये महामन्त्रीमा तेश्रो पुस्तालाई निर्विकल्प ठाउँ रहन्छ।
अहिलेको दोश्रो पुस्ता भनेर चिनिएका नेताहरु पनि १५ औं महाधिवेशनमा पदाधिकारीमा भिड्ने अवस्था रहँदैन। जसले गर्दा पुस्ता हस्तान्तरणको जाम खुला हुने विश्लेषण गरिँदै आएको छ। सभापति र उपसभापतिमा भिडेका दोश्रो तहका नेता १५ औं महाधिवेशनमा पुनः प्रत्यासी नहुँदा अहिलेको तेश्रो पुस्ता हाबी हुने आँकलन छ।
देउवा र पौडेलले चुनौती सामना गर्न नसक्ने निर्क्याैलमा १३ औं महाधिवेशनमै पुगेका सिटौला आफ्नो पुरानो विचारमा यथावत छन्। सिटौलाले आफूपक्षीय भेलामा नयाँ पुस्ताले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताउँदै आएका पनि छन्।
विचार र मुद्धाका आधारमा सभापतिका आंकाक्षी दोश्रो तहका नेताहरुसँग सहकार्य हुनसक्ने सिटौलाको भनाइ छ। सिटौलानिकट एक नेता भन्छन्,‘पहिलो पुस्ताले प्रतिस्पर्धाबाट हट्ने अवस्थामा मुद्धा र विचारका आधारमा अरु कोहीलाई सभापतिमा सघाउन सक्नुहुन्छ। आफू नै हुनुपर्छ भन्ने छैन। देउवा र पौडेल उम्मेदवार बने उहाँ पनि उठ्नुहुन्छ।’
वैचारिक समूहका रुपमा आफ्नो पक्षलाई अर्थ्याउँदै आएको उक्त समूहले शक्ति थप विस्तार भएको दाबी गर्दै आएको छ। क्रियाशील सदस्यता वितरण र नवीकरण सकिएपछि आफ्नो समूहको नीतिगत योजना सार्वजनिक गर्ने सिटौला पक्षको तयारी छ। मुद्दा, योजना र भावी कार्यदिशाबारे प्रकाशित गरेसँगै तेश्रो धार थप शसक्त उक्त समूहकाे बुझाइ छ। महाधिवेशनको निर्णायक शक्ति महाधिवेशन प्रतिनिधिको चयन गत्तै दोश्रो चरणको योजना सार्वजनिक गर्ने उक्त समूहले जनाएको छ।
यसअघिका आफूपक्षीय नेता कार्यकर्ताको भेलामा तेश्रो समूह १४ औं महाधिवेशनसम्म यथावत रहने सिटौलाले बताउँदै आएका छन्। प्रतिस्पर्धा पनि तेश्रो धारकै रुपमा हुने उनको दाबी हुँदै आएको छ। देउवाको कार्यशैलीविरुद्ध संयुक्त विरोधपत्र बुझाउने पौडेल पक्षको आग्रहलाई उनले अस्वीकार गरेका थिए। पौडेल पक्षको कार्यमा हस्ताक्षर नगर्नुको अर्थ नै आफ्नो धार फरक देखाउनु सिटौलाको ध्येय थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।