सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अहिले उत्कर्षमा छ। गत कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको १९ पृष्ठको प्रस्तावको प्रतिवादमा अर्का अध्यक्ष केपी शर्मा ओलीले मंसिर १३ गतेको बैठकमा ३८ पृष्ठको जवाफ पेश गरे। अहिलेसम्म आरोप-प्रत्यारोमा सिमित यो विवाद कहाँसम्म पुग्छ भन्नेमा स्पष्ट संकेत देखिएको छैन। तर, पार्टी विभाजन आशंका गर्नेहरु प्रशस्तै छन्। यी र यस्तै विषयमा नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलसँग सोमबार नेपाल लाइभले गरेको कुराकानीः
नेकपाका एक जना अध्यक्ष केपी शर्मा ओलीले सचिवालयमा जवाफी प्रस्ताव पेस गर्दै अर्का अध्यक्षले 'अनौपचारिक रुपमा पार्टी विभाजन गरेको' भन्नुभएको छ। अब औपचारिक घोषणा कहिले हुन्छ?
पार्टी फुटिसक्यो भनेको मलाई जानकारी छैन। उहाँहरू दुवै जनाले आ-आफ्नो तर्फबाट प्रस्ताव प्रस्तुत गर्नुभएको छ। प्रस्तावमा व्यक्त भएका शब्दहरु, त्यसका बान्की, भाषाशैली र तरिका अलिकति आक्रामक प्रकृतिको देखिन्छ। एकअर्कालाई कहीँ न कहीँ आवेगात्मक रुपमा प्रस्तुत गरिएको हामीले बुझेका छौं। तर पार्टी फुटको घोषणाको बारेमा तपाईंले जे भन्नुभयो, त्यस्तो अवस्थामा पुगेको जस्तो मलाई लाग्दैन।
फुटको घोषणा भइ नसके पनि त्यसको आधारसम्म त पुगियो नि?
त्यो भन्नचाहिँ सकिन्छ। यस्तै यस्तै प्रवृत्तिबाट पार्टी फुटसम्म पुग्छ। तर पनि रुसको घटना स्मरण गराउन चाहन्छु। लेनिन र ट्रटस्कीबीच भएको छलफलका शब्दहरु हेर्नुभयो भने निकै चर्का, डरलाग्दा र सँगै बस्न नसकिने खालका छन्। तर फेरि पनि लेनिन ज्युँदो हुञ्जेल पार्टी गम्भीर बहसको बीचमा पनि एकै ठाउँमा रह्यो। माओ त्से तुङले नेतृत्व गरेको चीनको कम्युनिस्ट पार्टी गम्भीर प्रकृतिका आरोप प्रत्यारोप र कारबाही यतिसम्म थियो कि गम्भीर प्रकृतिका अपराधजन्य घटना घटेको पाउँछौं। तर पार्टी एकै ठाउँमा रह्यो।
आशा गरौं। गम्भीर छलफल र बहसको बीचबाट लेनिन र माओले व्यवस्थापन गरेको पार्टी प्रणालीलाई आत्मसात् गर्दै दुवै अध्यक्षले जनताको भावना अनुरुप यो पार्टीलाई टुटफुट र विभाजनतिर होइन, गम्भीर बहसको बीचबाट एकताको प्रक्रियामा जोगाएर लिएर जानुपर्छ। हामीले त्यो आशा गरौं। कामना गरौं। हामीले अनुरोध र पहल गरेका छौं।
दुवै अध्यक्षको विगत र उहाँहरुले खेलिरहेको भूमिका हेर्दा अब उहाँहरुले लेनिन र माओको भूमिका खेल्नुहोला भन्ने विश्वास लाग्छ तपाईंलाई?
अहिलेसम्म अहिलेसम्म नेतृत्व सम्हाल्दै आएको र यस प्रकारका अप्ठ्याराहरुमा पार्टी पंक्तिलाई जोगाएको र जनताको चाहना अनुरुप एकीकरण पनि जोखिम मोलेर अगाडि बढाएको हुनाले मचाहिँ व्यक्तिगत रुपमा आशावादी छु।
टुटफुट र विभाजनले उहाँहरुको हित गर्दैन। उहाँहरु तारेभीरको टुप्पोमा हुनुहुन्छ। पार्टी फुट्यो भने आकाशतिर जाने होइन, तल झरेर हातखुट्टा भाँचिने हो। कमजोर हुने हो। त्यसकारण टुटफुटले कहीँ लैजाँदैन। यो हुनसक्छ कि, विचारमा, सोचाइमा, दृष्टिकोणमा, उद्देश्यमा, लक्ष्यमा कुरा मिलेन भने त्यो पार्टी एउटै रहन सक्दैन। मैले बुझे अनुसार, ती कुरामा विमति भइसकेको छैन।
नेकपामा विवाद छ भन्ने सबैलाई थाहा छ। तर खासमा विवाद कहाँ हो भनेर पर्गेल्न भने धेरैलाई गाह्रो छ। तपाईं भनिदिनुस् न, नेकपाको विवाद कहाँ हो?
पार्टी भित्रका प्रवृत्तिहरुको सन्तुलित समायोजनमा विवाद हो। पार्टीभित्र विभिन्न प्रवृत्तिहरु हुन्छन्। पार्टी विचार र दृष्टिकोणहरुको केन्द्रबिन्दु हो। साथै, राज्यका निकायहरुमा पार्टी यो वा त्यो रुपमा निर्वाचित भएर पुगिसकेपछि त्यहाँ भावनात्मक रुपमा प्रवृत्तिहरुको सम्बोधन, समायोजन र सन्तुलनको आवश्यकता हुन्छ।
भदौ २६ गतेको स्थायी कमिटीको बैठकमा हामीले पार्टीलाई सहमतिमा पुर्याएका थियौं। पार्टीभित्र सहमतिमा, सरसल्लाहमा, पार्टीको निर्णय अनुरुप पार्टीभित्रका जिम्मेवारीहरुमा सन्तुलन कायम गर्ने र पार्टीभित्रका प्रवृत्तिहरुलाई सँगै लिएर जाने र सहमतिका आधारमा केन्द्रीय कमिटीको बैठक हुँदै महाधिवेशनसम्म लैजाने भनेर एक प्रकारको निर्णय गरेका थियौं। त्यो निर्णय कार्यान्वयन गर्ने निकायबाट निर्णय कार्यान्वयन नभएको, निर्णयप्रति उदासिन भएको, हाललाई सेफल्यान्डिङ भएको र भविष्यमा देखाजायगा भनेर सोच्न खोजेको जस्तो अनुभूति हामीले गरेका छौं। त्यसो गर्नु हुँदैनथ्यो। त्यो निर्णयलाई इमान्दारितापूर्वक पालना गरेको भए पार्टीभित्रका समस्या सुल्झनेतिर जान्थ्यो। त्यो गर्न नसक्नु नै गम्भीर कमजोरी भएको मैले महसुस गर्छु।
तपाईंले दुवै अध्यक्षको प्रतिवेदन पढ्नुभएकै होला। तिनीहरु स्थायी कमिटी, केन्द्रीय कमिटी हुँदै महाधिवेशनसम्म जान योग्य छन् कि छैनन्?
प्रतिवेदन आउनुपर्थ्यो। आयो। हामीले नै ल्याउनुस् भनेको हो। खालि राजदूतमा कुरा मिलेन, मन्त्रिमण्डलमा कुरा मिलेन, नियुक्तिहरुमा कुरा मिलेन, कार्य विभाजनमा कुरा मिलेन भन्ने कुरा जनताको बीचमा गएको छ। त्यसमा कुरा नमिलेको भने कम्युनिस्ट पार्टी नैतिक रुपमा पनि फुट्न मिल्दैन। कम्युनिस्ट पार्टी त यस्ता समस्यालाई झन् समाधान गरेर जानुपर्छ। त्यसैले अध्यक्षद्वयको फरक परेको कहाँ हो? विचार र दृष्टिकोणमै फरक परेको हो भने त्यसमा बहस चलाउनुहोस्। त्यो भयो भने पो कार्यकर्ताले ठीक बेठीक छुट्याउँछ। अब प्राविधिक र जिम्मेवारीका कुरामा तलमाथि भएको हो भने कार्यकर्तालाई, मतदाता, समर्थक र शुभचिन्तकलाई त्यसको औचित्य हुँदैन। कहाँ र कसरी छलफलमा भाग लिने भन्ने थाहा हुँदैन।
मलाई व्यक्तिगत रुपमा सोध्नुहुन्छ भने बहस बल्ल सुरु भएको छ। मैले भन्न चाहन्छु, बहसबाट कोही पनि भाग्न मिल्दैन। भाग्ने होइन, बहसलाई महाधिवेशनसम्म लैजाने, अझ उहाँहरुलाई लागेको कुरा ल्याउने र हामीले जनताका माझमा गरेका प्रतिबद्धताहरु, त्यसमा पनि संश्लेषित रुपमा एकताले नेपालको राज्य प्रणालीलाई समाजवादसम्म पुर्याउने छ र नेकपाले नेतृत्व गर्नेछ भनेर एकता गरेको हो। त्यहाँसम्म पुग्नका निम्ति कसको समस्या हो? कुन प्रतिवेदनले, कुन व्यक्तिले, कुन समयमा भनिएका लक्ष्य अगाडि बढाउनका निम्ति कुन विचार र लक्ष्यले सहयोग गरेन, त्यसको वैचारिक जग के हो भन्ने अझ बढी छलफल हुन जरुरी छ।
दुवै प्रतिवेदन पढ्दा कसको कमजोरी बढी देखिन्छ?
यस विषयमा मैले १८ गतेको स्थायी कमिटी बैठकमा कुरा राख्नेछु। मैले गम्भीरतापूर्वक प्रतिवेदन बढेको छु। अहिले यतिसम्म भन्न सकिन्छ कि अलिकति आवेगात्मक भएर शब्दहरु उनिएका छन्। छोटो-छोटो समयमा लेख्दा आवेग प्रधान भएर लेखिएका र अलिकति के विषयमा परेको छ, त्यसका लागि सैद्धान्तिक आवरण खोजिएका शब्दहरु मैले प्राप्त गरेको छु। यी विषय उठिसकेपछि गम्भीरतापूर्वक छलफल चलाएर एउटा प्रतिबद्धता दुवै अध्यक्षको आवश्यक छ, कमिटीले गरेको निर्णय मान्नुपर्छ। त्यसैले यो प्रस्ताव ठीक र बेठीक भन्नुभन्दा पनि कमिटीमा पेश भएपछि कमिटीका बहुसंख्यक साथीहरुको धारणा कार्यान्वयन गर्नुपर्छ। र अल्पसंख्यक साथीहरुले समर्थन गरेको प्रतिवेदनलाई पार्टीमा संरक्षण गर्ने गरियो भने जनवादी केन्द्रीयताको संगठनात्मक प्रणालीसँग मेल खान्छ।
तपाईं स्पष्ट वक्ता हो। तर, पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि निकटता बढेपछि जिब्रो लरबराउन थाल्नुभएको आरोप लाग्ने गरेको छ। यो सत्य हो?
यो सही होइन। म प्रष्ट बोल्छु तर पार्टी बैठकमा बोल्नुपर्ने कुरा आज बोलाउन खोज्नुभयो भने सम्भव हुँदैन। हामी मर्यादामा रहनुपर्छ। म कसैको नजिक वा टाढाको भने जस्तो स्थितिमा होइन। पार्टी एकता टुट्नुहुँदैन भन्ने पक्षमा दृढताका साथ उभिएको छु। त्यसैले बीचतिरका शब्द प्रयोग गरको साँचो हो।
मेरो पक्षधरता प्रष्ट छ। म जुन पृष्ठभूमिबाट आएको छु, त्यसमा प्रतिबद्ध छु। जुन मुद्दा हामीले उठाउँदै आयौं। त्यसको पक्षमा छु। त्यो पृष्ठभूमिलाई आइपर्ने समस्याका विरुद्ध जुध्न लाग्छु। त्यो पृष्ठभूमि, त्यसका समस्याहरु, शान्ति प्रक्रिया सम्बन्धित समस्याहरु, सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित समस्याहरु अझै निरुपण गर्न बाँकी छन्। फेरि यसका बाबजुद पनि दुइटा पार्टी विशिष्ट अवस्थामा अगाडि बढ्ने उद्देश्य एउटै भएकाले एकता गरेका हौं। त्यसकारणले एकता भनेको सापेक्ष हुन्छ, संघर्ष भनेको निरपेक्ष हुन्छ। सरल भाषामा भन्दा पार्टीभित्र संघर्ष निरन्तर चलिरहन्छ। लड्ने भिड्ने होइन, वैचारिक छलफल संघर्ष हो।
एकता भने विषयअनुसार अघि बढिरहन्छ। दुइटा अध्यक्षको मात्रै पुग्दैन, सबैको भावना केन्द्रिकृत भावना एकता टुट्नुहुन्न। देख्लास् र पख्लास् भन्दा त टुटिहाल्छ नि। पार्टीमा हामी जस्ताको भूमिका पार्टी एकता टुट्न नदिनुपर्ने हुने भएकाले दुवैका सकारात्मक र नकारात्मक जोडेर, दुवैलाई भनेर, पार्टी एकता नटुट्ने गरी, संविधान कार्यान्वयन गर्ने गरी, शान्ति प्रक्रियालाई थप अघि बढाएर भविवष्यमा जटिलता नआउने गरी अघि बढनुपर्छ भनेर हामीले त्यस्तो भषा प्रयोग गरेका हौं।
प्रतिवेदन दुवैका आएका छन्। अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रतिवेदन त खारेजयोग्य भन्नुभएको छ। दुवै प्रतिवेदन सँगै अगाडि बढाउने पक्षमा ओली देखिनुहुन्न। दुवै नेताबीचको तिक्तता चरममा पुगिसकेको अवस्थामा एकसाथ अगाडि बढ्न कति सहज देख्नुहुन्छ अब?
मैले दुवै प्रतिवेदन र पत्र पढ्दा खेरी बहस नोटका रुपमा आएको बुझेको छु। केही नलेखिकन प्रशंसैप्रशंसा लेखियो भने बहस नोटका रुपमा आउँदैन। केही भएर त बहस भएको हो। केही न केही भएर त नमिलेको हो। केही न केही भएर छत छलफल भइरहेको छ। आरोप पत्रका रुपमा बुझेको छैन। कटाक्ष गर्ने र भावनामा बहकिएर शब्द प्रयोग भएको पाइन्छ। तर, फेरि पनि शब्दहरु के प्रयोग भए भन्ने कुराबाट आतंकित हुनुहुँदैन। अभिव्यक्ति र आलोचनाको स्वतन्त्रताका कुरा लेनिनले गरेका छन्। दुवै अध्यक्षले लेनिनको यो भनाइलाई स्मरण गरेर अघि बढ्नुपर्छ। खण्डनमण्डन गर्ने उद्देश्य भनेको पार्टी एकतालाई जोगाउने हुनुपर्छ। बिनाआधार कसैको अरोप पुष्टि हुँदैन।
कतिपय आरोप यस्ता लगाइए, जसको आत्मालोचना वा आत्मसमीक्षाले पुग्दैन, फौजदारी कसुर भएकाले त्यही अनुसार प्रमाणित हुनुपर्छसम्म भनिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्ट्याइँका लागि चुनौती दिनुभएको छ। परिस्थिति बहसभन्दा पनि चुनौती दिने र पुष्टि गर्ने तहसम्म पुगिसक्यो। त्यसैले फेरि पनि एकबद्ध भएर अघि बढ्न सम्भव देख्नुहुन्छ?
यो राजनीतिमा अलिकति नैतिकता, अलिकति विश्वास, अलिकति दलीय प्रतिवद्धता र विश्वास भन्ने हुन्छ। हामी विभिन्न आन्दोलन हुँदै आयौं। कमरेड केपी शर्मा ओली एउटा आन्दोलनमा सरिक भएर १४ वर्ष जेल बसेर आउनुभएको हो। प्रचण्डको नेतृत्वमा जनयुद्ध भयो। यी दुवै आन्दोलनका पृष्ठभूमि छन्। यी प्रकृतिका आन्दोलन पृष्ठभूमिलाई राखेर बीचमा टुंग्याएका विभिन्न शान्ति प्रक्रियाका काम, टुंयाइसकेका साझा मुद्दा, राजालाई हटाउन विभिन्न शक्तिहरुबीच अपनाएको गम्भीर प्रक्रिया, गरिएका सहमति र एकतालाई फेरि टुटाउने गरी जान्छौं भने त्यो राजनीतिका अपराधिक क्रियाक्लाप हो। व्यक्ति किटान गर्न नभन्नुहोला, कसैले त्यस प्रकारको कुरा गर्छ भने त्यो आपराधिक क्रियाकलाप हुन्छ। त्यसले सही ठाउँमा पुर्याउँदैन। त्यो अर्कै प्रकारले गरिने झगडा हो। त्यसतर्फ पार्टीलाई लैजानु हुँदैन।
पार्टी एकता टुंगिने/टुगिने अवस्थामा आइपुगेको थियो। तर फेरि अहिले व्यक्तिगत आरोप प्रत्यारोपतिर फर्किएको छ। कतिपय व्यक्तिगत आरोप पनि सुरु भएका छन्। विगतमा पार्टीमा विवाद हुँदा सामान्य पानी पट्टी लगाउँदा नै निको हुने स्थिति थियो। के अब पार्टीलाई अपरेसन नै गर्नुपर्ने अवस्था आएको हो?
यस्तो गम्भीर परिस्थितिमा पार्टी पुर्याइसकेपछि दुवै अध्यक्षले समीक्षा गर्नुपर्छ। त्यो आफैंतिर फर्किएर समीक्षा गर्नुपर्छ। पार्टीका अरु सिनियर साथीहरुले आत्मसमीक्षा गरेर पार्टी जोगाउन सकिने बिन्दु कहाँ छ भन्ने खोज्न आवश्यक छ। हामीले पनि विगतको आन्दोलन सहभागिता, यो पार्टीमा निर्वाह गरेको भूमिका, जनताको चाहना अनुरुप गरेका प्रतिबद्धताहरुतिर फर्किएपछि आरोप लगाएका विषयबाट केही न केही सकारात्मक कुरा भेटाउन सक्छौं।
राजनीतिमा कहिलेकाहीँ यस्ता विषयहरु हुन्छन्, जुन नैतिकताको धरातलबाट सेफल्याण्ड गराउन सक्नुपर्ने हुन्छ। एकपछि अर्को आरोपतिर जाने हो भने अन्त कतै पुगिन्छ। त्यसले हामीलाई फाइदा गर्दैन। अनावश्यक आवेगमा आएर होइन कि उठेका प्रश्नहरुलाई सन्तुलित र वस्तुगत रुपमा ल्याण्ड गर्नुपर्छ। उठेका प्रश्नहरुको आफूतिर फर्केर जवाफ खोज्ने प्रयास गर्नुपर्छ। कसैले कसैलाई भ्रष्टाचारको आरोप लगाएको छ तर उसले गरेकै छैन भने किन डराउने? त्यो शब्दमा लड्नै पर्दैन। त्यो पुष्टि हुँदा पनि हुँदैन। होइन कसैले गल्ती नै गर्या छैन भने किन डराउने? यदी कतै नातापातालाई पोस्ने गल्ती गरेको भए त्यो सच्याए भइहाल्यो। अनावश्यक रुपमा तन्काएर पार्टीलाई भ्रमित पार्नेतिर जानुहुँदैन।
शान्ति प्रक्रिया नेपालले गरेको एउटा महत्त्वपूर्ण कोषेढुंगा हो। यो वा त्यो रुपमा जान वा अन्जानमा कतिपय साथीहरुले शान्ति प्रक्रियासँग जोडेर नियतपूर्वक रुपमा नउठाउन अनुरोध गर्दछु। शान्ति प्रक्रियापछि प्रमुख दलहरु, त्यसका साथसाथै प्रतिपक्ष दल, राज्यका महत्त्वपूर्ण निकाय सेना तथा प्रहरी सबैलाई प्रभावित पार्छ। त्यो सबै हामीले हिजो जाने बुझेर सोचेर गरेको हो। आज यो भएन भने देखाइदिन्छु भन्ने कुरा सही छैन। काम गर्दा गर्दै गल्ती कमजोरीहरु भएका छन्। कसैले राज्यका निकायमा जाँदा भ्रष्टाचार गरेको छ भने आलोचना गर्न सकिन्छ। तर, शान्ति प्रक्रियासँग सम्बन्धित विषयलाई 'देखाइदिन्छु' भन्नु अपराधजन्य कुरा हुन्छ। त्यसले सबैलाई बढारेर लान्छ। सोहोरेर अन्त कतै लैजान्छ। त्यस्तो नगर्नको निम्ति अनुरोध गर्दछु। त्यस्तो विषय नउठाउनको निम्ति त्यस्ता विषय बजारमा छरेर प्रभावित नपार्नको निम्ति अनुरोध गर्दछु।
नेकपामा दुई अध्यक्षको विवादमा दोस्रो पुस्ता आँटिलो भएन, हस्तक्षेप नै गर्न सकेनन्, त्यसैले दुई अध्यक्ष यो हालतसम्म पुगेको भन्ने गरिन्छ नि? के पार्टीमा दोस्रो पुस्ता त्यही हालतमा पुगेको हो?
त्यही भएर सन्तुलित शब्द प्रयोग गरेको छु। यस्तो भएको भए गत असारमा स्थायी कमिटी बैठकको वरिपरि नै अर्कै प्रकृतिको घटना घटिसक्थ्यो। दोस्रो पुस्ता सक्रिय भएर नै स्थायी कमिटीका बहुमत सदस्यहरुले गणित प्रयोग नगर्न प्रचण्डलाई अनुरोध गर्यौं। केपी ओलीलाई भेटेर गलत खालको स्टेप नलिन समूहका समूहहरु गएर दबाब दियौं।
पार्टी एकताको पक्षमा झण्डै डेढ सय नेताहरुले हस्ताक्षर गर्नुभयो। बहुसंख्यक सांसदहरु कतै लागिँदैन भनेर प्रतिबद्धतता व्यक्त गर्नुभयो। त्यो कारणले गत स्थायी कमिटीले विवाद समाधान कार्यदल हुँदै एकतालाई जोगाउने स्थितिमा गएको हो। पहल गरेकै छैन भन्ने सही होइन।
तपाईंले भनेको आशिंक सत्य के छ भने दोस्रो पुस्ताकाले यो परिस्थितिको ब्रेक डाउन गरेर नयाँ ठाउँमा लग्न पहल गरेको भए हुन्थ्यो। दोस्रो पुस्ताका नेताहरु भेटघाट छलफलमा बसिरहेका छौं। दैनिकजसो भेटघाट छलफल गरिरहेका छौं। चिन्ता प्रकट गरिरहेका छौं। थोरै कतातिर अल्झेको छ भने कतिपय जिम्मेवारी प्राप्त गर्ने क्रममा, पार्टीहरुको प्रवृत्तिहरु, समायोजन हुने क्रममा सम्बन्धित पात्रले प्रस्ताव नगर्दा उसको भविष्य धरापमा पर्यो। मन्त्री चुपचाप लाग्नु पर्ने। अरु पार्टीका जिम्मेवार साथीहरु पनि चुप लाग्नुपर्ने। भोलि उहाँहरु मिल्नुभयो भने बढी चर्को भएर बोल्दा समस्या हुन्छ कि भन्ने भएको हो। पार्टी एकताका निम्ति नयाँ शिराबाट सोच्नुपर्ने अवस्था छ।
प्रधानमन्त्रीले पार्टी नयाँ पुस्तालाई दिनुपर्छ भनिरहुभएको छ। प्रचण्डलाई किन आपत्ति भयो?
यसमा प्रचण्डले विरोध गर्नुभयो जस्तो लाग्दैन। यो पक्षमा उहाँले कहीँ कतै विरोध गरेको जाने बुझेको छैन। केपी कमरेडले यो आन्दोलनलाई यहाँसम्म ल्यायौं। राज्यका निकायका पदहरु लियौं। त्यस कारण सदासयतापूर्वक नेतृत्व हस्तान्तरण गरेर आफ्नो बाँकी जीवन सल्लाहकार जस्तो बनाउने हो भने एकदमै स्वागतयोग्य कुरा हो। त्यसलाई हामी सम्मान गर्छौं।
उहाँलाई नभनीकन भन्न चाहन्छु। दुवै जनाले वा अरु कसैले आइपरेको समस्या बचाउनको निम्ति वा अहिले कुनै समस्या आयो कहीँ न कहीँ सेफल्याण्ड गर्नुपर्यो, ती समस्या हल गर्नुभन्दा यताबाट छिरियो भने जान सकिन्छ भन्ने हो भने त्यो राम्रो कुरा होइन। अहिले आएका समस्या हल गर्दै दोस्रो पुस्तालाई पार्टी हस्तान्तरण गर्ने गरियो भने राम्रो हुन्छ। र, दोस्रो पुस्तालाई टिममा दिँदा राम्रो हुन्छ। यस्तै एकल प्रकृतिको नेतृत्व गर्ने गरी हस्तान्तरण गरियो भने एकले अर्कोलाई विश्वास गर्न सक्ने स्थिति हुँदैन। एउटा टिमलाई साँच्चिकै मनैदेखि, दिलैदेखि उहाँहरुले भन्नुभयो भने भर्खरै हल हुन्छ। हामीमा त्यो समस्या छैन। हामीले अझै केही समय भविष्य देखेका छौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।