काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अन्तर्वार्ताहरूको संग्रह प्रकाशन भएको छ। वि.सं. २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा दिएका अन्तर्वार्ताहरुको सङ्ग्रह 'नयाँ राजनीतिक विश्लेषण' पुस्तक सार्वजनिक भएको हो।
पुस्तकले तत्कालीन राजनीतिक परिस्थिति र परिघटना बुझ्न मद्दत गर्ने बताइएको छ। पुस्तकमा विस्तृत शान्ति सम्झौताको जगमा अन्तरिम संविधानदेखि संविधान सभासम्म, राजतन्त्रको अन्त्यदेखि गणतन्त्रको स्थापनासम्म, हतियार व्यवस्थापनदेखि सेना समायोजनसम्म, संविधान सभाबाट समानुपातिक समावेशी प्रतिनिधित्व सहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान निर्माणमा खेलेका भूमिकाहरू विषय समावेश छन्।
प्रचण्डका अन्तर्वार्ताहरुको सँगालो राजनीति शास्त्रका विद्यार्थी, नेपाली समाज र राजनीतिमा अनुसन्धान गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता र नेपाली राजनीतिका बारेमा चासो राख्ने सबैका लागि उपयोगी हुने विश्वास प्रकाशकले लिएको छ।
पुस्तक प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको हो। पुस्तकमा ४०८ पृष्ठ रहेका छन् भने यसको मूल्य ५५० रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।