नेपालगञ्ज- कान्छी छोरीको वियोगको पीडा भुल्न सकेका थिएनन् कमिलालले। २ महिनाअघि मात्रै बिरामी भएर गुमाएको छोरीको सम्झनामा बेलाबेला उनको आँखा रसाइरहेकै हुन्थ्यो। पीडाको खाटो नबस्दै नियतिले उनका अरु ३ छोरीलाई पनि बाढीले सोहोरेर लगिदियो- कहिल्यै नफर्कने गरी।
बाढीले घर भत्किँदा च्यापिएर ३ छोरीहरु गुमाए थिए, बाँके राप्ती सोनारी- ४ लालपुरका कमिलाल थारुले।
बस्ने घर नभएका कारण छोरीहरु गुमाएको एक महिनासम्म पनि उनले काजकिरिया गर्न पाएनन्। किनकि थारु समुदायको धार्मिक मान्यता अनुसार परिवारका कुनै सदस्यको मृत्यु भएमा काजकिरिया गर्नका लागि बस्ने घर र कुलदेवता अनिवार्य छ।
जेठी अन्जु कक्षा ६ मा पढ्थिन्। माइली सरिता ४ र साइँली सुस्मिता कक्षा २ मा पढ्दै थिए। कलिलैमा चारै छोरीलाई गुमाउँदाको पीडा उनी सुनाउनै सक्दैनन्, बरु उनको आँखाबाट बाढी सुरु हुन्छ।
छिमेकीहरुको सहयोगमा अहिले जेनतेन ओत लाग्न मिल्ने सानो कच्ची घर बनेको छ कमिलालको। घर बनेपछि उनले त्यहाँ देवता राखे। छोरीहरुको किरियाकर्म सम्पन्न गरे। छोरीहरुको मत्युको पीडा बिस्तारै कम भए पनि उनी र उनकी श्रीमती नयाँ घर असुरक्षित र जोखिमपूर्ण बनेका कारण चिन्तामा छन्।
पुरानो घर योभन्दा बलियो थियो तर बाढीले भत्काइदियो। 'फेरि बाढी आयो भने त यो घरमा हामी बाँच्दैनौँ,' कमिलालकी श्रीमती फूलकुमारी तनावमा छिन्।
राप्ती नदीको किनारामा रहेको लालपुर गाउँ बाढीको उच्च जोखिममा छ। गाउँलेहरु जोखिममा छन्, तर सरकारले कुनै ठोस योजना ल्याएको छैन।
अर्को वर्ष साउन-भदौमा आउने बाढीमा कसरी जोगिने भन्ने चिन्तामा कमिलाल दम्पती मात्रै होइन यहाँका सबै गाउँले चिन्तामा छन्। छिमेकीको सहयोगमा बनेको कमिलालको घर कच्ची मात्रै छैन, काँचो सिसौका खाँबाले घर दरिलो छैन। मटोमा गाडिएका खाँबा माटो र पानीबाट छिट्टै सड्ने भएकाले कुनै पनि बेला भत्कन सक्ने जोखिम हुन्छ।
कमिलाल खयरका खाँबा हाल्न चाहन्थे, गाउँमा पाएनन्। सामुदायिक वनबाट उनले आशा गरेका भए पनि पाउन सकेनन्। बाढीपछि उनलालाई सहयोग गर्न विभिन्न संघसंस्था गाउँमा पुगे। प्रधानमन्त्री शेरबहादुर देउवा नै पुगेर राहतस्वरुप कमिलाललाई ६ लाख रुपैयाँ दिएका थिए। अन्य विभिन्न संघसंस्थाबाट पटकपटक गरेर थप एक लाख ६० हजार रुपैयाँ, कपडा र खाद्यान्न पनि पाए। तर उनी सुरक्षित घर बन्न नसकेकोमा धेरै तनावमा देखिन्छन्।
कमिलाल सुरक्षित घर बनाउका लागि प्राविधिक एवं आर्थिक रुपमा सहयोग गर्ने सरकारी/गैरसरकारी संघसंस्थाको खोजीमा छन्।
उनको गाउँका करिब एक सय बाढीपीडितले बनाएको घर पनि कच्ची र असुरक्षित नै छ।
सम्पतत्तिको नाममा ३६ वर्षीय कमिलालसँग २ कठ्ठा जग्गा मात्रै छ। मजदुरी गरेरै उनले परिवार पाल्दै आएका थिए।
जे नहुनु भइदियो उनको परिवारमा। सहनु त छ नै। उनको एउटै दुखेसो छ- 'घर सुरक्षित बनाउन सकिएन। कसैले सहयोग गरे मेरो पीडामा मल्हम लगाएजत्तिकै हुनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।