नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले पनि कोरोना विरुद्धको खोप जिटुजी खरिद गर्ने र खोप खरिदका लागि अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयका सचिव रहेको तीन सदस्यीय समिति समेत गठन गरिसकेको छ।
विश्वका सबै देश कोरोना संक्रमणबाट आक्रान्त बनेको सन्दर्भमा सबै देश सकेसम्म छिटो खोप आफ्नो देश भित्र्याउन चाहन्छन्।
नेपालले कार्यदल नै बनाएर कोरोना विरुद्धका खोपहरुमध्ये कुन खोप उपयुक्त हुन्छ, कसरी खरिद गर्ने, हालको भौतिक संरचना (कोल्ड चेन) भण्डार गर्न मिल्छ कि मिल्दैन, आपतकालीन अवस्थामा कसरी खोप भित्र्याउन सकिन्छ, कति खोप चाहिन्छ र त्यसका लागि आर्थिक व्यवस्थापन कस्तो हुनुपर्छ लगायतका कुराहरु अध्ययन गरिरहेको छ।
सोमबार समाचारमा आएको खोपको कुरा गर्ने हो भने सो खोपको भण्डार माइनस ७० डिग्री सेन्टिग्रेट तापक्रममा गर्नुुपर्ने उल्लेख छ। जसलाई ‘अल्ट्रा कोल्डचेन’ भनिन्छ। यो खालको कोल्ड चेन नेपालमा छैन।
नेपालमा २ देखि ८ डिग्री सेन्टिग्रेट तापक्रममा भण्डार गर्न सक्ने क्षमताको मात्र कोल्ड स्टोरको भौतिक संरचना रहेको छ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा झलक शर्मा गौतमका अनुसार नेपालमा हाल उपलब्ध भइरहेका खोप २ देखि ८ डिग्री सेन्टिग्रेट तापक्रममा भण्डार गर्नुपर्ने खालका छन्।
त्यसैले अहिले कोरोना विरुद्ध क्लिनिकल ट्रायल भएका खोपमध्ये सोमबार भनिएको खोप मात्र प्रभावकारी भयो र सो खोप नेपाल ल्याउनुपर्ने भयो भने खोप भण्डारका लागि भौतिक संरचना (अल्ट्रा कोल्ड चेन) र जनशक्ति तयार गर्नुपर्ने चुनौती छ।
कोरोना विरुद्धको खोप नेपालले खरिद गर्दा कसरी प्रक्रिया अघि बढ्छ, कोरोना खोपको खरिदका लागि नेपालको तयारी कस्तो छ त? हामीले खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमलाई सोधेका छौँ। उनी कोरोना भाइरस विरुद्धको खोपबारे अध्ययन गरी सुझाव दिन बनेको कार्यदलको सदस्यसचिव समेत हुन्।
यस्तो छ उनले व्यक्त गरेको धारणा
सबैभन्दा पहिलो कुरा त कोभिड–१९ कुनै पनि खोप आइसकेको छैन। खोप क्लिनिकल ट्रायलको थर्ड फेजमा भएकाले कुनै पनि खोप फाइनल भएको छैन।
तर, हामीले सबैखालको पूर्वतयारी भने गरिरहेका छौँ। हामीले आर्थिक तयारी, आकस्मिक रुपमा खोप ल्याउँदा कानुनी अड्चन नहोस भनेर त्यसलाई फुकाउने तयारी पनि गरिरहेका छाँै। भोलि खोप आयो र ल्याउनुपर्दा कुनै पनि कानुनी वा आर्थिक अड्चन नहोस भनेर पनि तयारीमा लागिरहेका छौँ।
हाम्रो खोप ऐन छ। जसमा राष्ट्रिय खोप सल्लाहकार समिति छ। सो समितिले विश्व स्वास्थ्य संगठनबाट इमर्जेन्सी प्रयोगका लागि अथोराइज्ड भएका खोपहरुको बारेमा अध्ययन गरी कुन खोप नेपाललाई उपयुक्त छ भनेर सरकारलाई सिफारिस गर्छ।
अहिले विश्वमा कोरोना भाइरस विरुद्धका १० वटा खोप थर्ड फेजको क्लिनिकल ट्रायलमा छन्। त्यसमध्ये कतिपय खोपहरु सँगसँगैजसो डब्युएचओ पिक्यु वा इमर्जेन्सी प्रयोगका लागि तयार हुन सक्छन्। बजारमा आउन सक्छन्। तीमध्ये कुन नेपालको लागि यो कारणले उपयुक्त हो भनेर हाम्रो सल्लाहकार समितिले सिफारिस गर्छ।
सल्लाहकार समितिले सिफारिस गरिसकेपछि स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको राष्ट्रिय खोप समितिले त्यो खोप स्वीकृत गर्छ। मन्त्रालयले यो खोप प्रयोग गर्छौं भनेर निर्णय गरेपछि मात्र ल्याउने, कति खोप चाहिने हो, कहिलेकहिले ल्याउने भन्ने खरिद प्रक्रियामा हामी जान्छौँ।
हामी कोभ्याक्स फ्यासिलिटीमा सहभागी छौँ। कोभ्याक्स फ्यासिलिटी भनेको खोपका काम गर्ने संस्थाहरु जस्तो गाभी, डब्युएचओ लगायतका संस्थाहरु रहेको अलाइन्स हो। त्यो एलाइन्स कोरोना भाइरसका सन्दर्भमा बनेको हो।
कोभिडको भ्याक्सिन ल्याउने सन्दर्भमा कोभ्याक्सले डब्युएचओमा पिक्यु प्राप्त वा इमर्जेन्सी प्रयोगका लागि प्रमाणित भएको खोप कोभ्याक्समा सहभागी भएका देशहरुलाई त्यो देशको कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने गरी सहुलियत दरमा सरकारको केही र बाँकी रकम उनीहरुले दिएर खोप आउँछ।
२० प्रतिशतलाई खोप आउँदा पनि जोखिमको तह निर्धारण गरिएको आधारमा खोप दिइने छ।
२० प्रतिशतमा पनि पहिलो फेजमा ३ प्रतिशत खोप आउने हो। त्यो खोप फ्रन्ट लाइनर हेल्थवर्कर, सोसियल वर्करहरुलाई दिइने भनिएको छ।
त्यसरी पहिले सबैभन्दा बढी जोखिममा कोको छन् भन्ने आधारमा खोप दिइने छ भनिएको छ।
डब्ल्युएचओ पिक्यु भन्नाले खोप उत्पादक कम्पनीले आफूले उत्पादन गरेको खोप सुरक्षित, गुणस्तरीय र प्रभावकारी छ भनी दिएपछि डब्ल्युएचओको विज्ञ टिमले सबै अध्ययन गरी ठिक छ, यो खोप प्रयोग गर्न उपयुक्त छ भनी प्रमाणित भएको भन्ने बुझिन्छ। र, डब्ल्युएचओमा उक्त खोप सूचीकृत हुन्छ। डब्ल्युएचओको पिक्युको प्रक्रिया पूरा हुन करिब ८–९ महिना लाग्ने रहेछ।
कोभिडको सन्र्दभमा यो निकै लामो समय भएकाले डब्ल्युएचओ इमर्जेन्सी युस्ड अथराइन्ड भनेर अनुमति दिने व्यवस्था मिलाइएको छ।
कोभ्याक्स फ्यासिलिटीले डब्ल्युएचओ पिक्यु वा डब्ल्युएचओ इमर्जेन्सी युज्ड अथराइज्ड लिस्टमा परेको भएको खोप सप्लाई गर्छ।
नेपालको खोप ऐनले पनि आपतकालमा खोप ल्याउँदा कि डब्ल्युएचओ पिक्यु भएको हुनुपर्छ। यदि यस्तो छैन भने जुन देशमा खोप उत्पादन भएको हो, त्यो देशको नियमनकारी निकायमा दर्ता भएको हुनुपर्छ। र, उक्त खोप उत्पादन गर्ने देशका जनताले लगाएको हुनुपर्छ र नेपालको औषधि व्यवस्था विभागमा पनि दर्ता भएको हुनुपर्छ। यति भएपछि खोप नेपाल आउने प्रक्रिया सुरु हुन्छ।
कार्यदलले काम गरिरहेको छ
सरकारले कोरोना विरुद्धको खोप ल्याउने सन्दर्भमा कोरोना भाइरस विरुद्धको खोपको विकास र नेपालमा खोप ल्याउन तयारी बारेमा सुझाव दिन ५ सदस्यीय कार्यदल गठन गरेको छ।
कार्यदलले कुन खोपको विकासको अवस्था कस्तो छ भन्ने विश्लेषण गरिरहेको छ।
कुनै पनि खोपहरुको थर्ड फेज पार भएको छैन। ती खोप कति मात्रा दिनुपर्ने, कति पटक दिनुपर्ने कुनै पनि तथ्यांक नआएको हुँदा अहिले हामीले यही खोप नै उपयुक्त हो भनेर भन्न सक्ने अवस्था छैन।
यो १० वटा खोपमा पनि फरकफरक खोप र फरक कोल्ड चेन चाहिने खोपहरु बनिरहेको छ।
जस्तो सोमबार आएको खोपको प्रभावकारिताबारे आएको फाइजर कम्पनीको रिपोर्ट पनि प्रारम्भिक रिपोर्ट मात्र हो।
क्लिनिकल ट्रायलको थर्ड फेजको प्रारम्भिक रिपोर्ट मात्र हो। यो कम्पनी अमेरिकको एफडिएमा दर्ता भएको पनि छैन। त्यो सबै प्रक्रिया हुन बाँकी नै छ। यो फाइनल रिपोर्ट होइन।
यो खोपको बारेमा कुरा गर्दा यो खोप माइनस ७० सेन्टिग्रेट तापक्रममा राख्नुपर्ने हुन्छ। हाम्रो टेक्निकल टिमले यो कुरा पनि हेरिरहेको छ।
नेपालको सन्दर्भमा हेर्दा २ देखि ८ सेन्टिग्रेट तापक्रममा राख्न मिल्ने कोल्ड चेन छ।
माइनस ७० सेन्टिग्रेटको त्यो खोप हो भने हामीसँग त्यो खालको अल्ट्रा कोल्ड चेन छैन। यदि त्यो खोप मात्र प्रभावकारी भयो अरु खोपहरु भएन भने हामीले सबै नयाँ सरचना तयार गर्नुपर्ने हुनसक्छ। त्यसपछि कोभ्याक्स फ्यासिलिटीले पनि सिफारिस गर्नुपर्ने हुन्छ। यो प्रक्रिया लामो हुनसक्छ।
कोभ्याक्स फ्यासिलिटीले लो इनकम र मिडिल इनकम भएका देशका लागि यो खोप उपयुक्त छ भनेर पनि भन्नुपर्ने हुन्छ।
कार्यदलले २ देखि ८ सेन्टिग्रेट तापक्रममा हुने खोप पनि ट्रायलमा भएकोले त्यसबारे देशको अवस्था, अहिले खोपबारे आएका सूचना र तथ्यांक पनि अध्ययन गरिरहेका छौँ।
त्यसबाहेक हामी २ देखि ८ सेन्टिग्रेडमा हुने खोप आए भने अहिलेको संरचना थप गर्नुपर्ने भन्नेबारे पनि छलफल गरिरहेका छौँ।