काठमाडौं– आपत्कालीन तथा उद्धार उडानमा सबैभन्दा प्रयोग हुने यातायातको साधन भनेको हेलिकोप्टर हो। अहिले नेपालमा ११ वटा निजी हवाई सेवा कम्पनीले हलिकोप्टर सेवा प्रदान गर्दै आएका छन्।
२/३ वर्षदेखि हेलिकोप्टर उडानका प्रतिस्पर्धा सुरु भएको थियो। तर, कोभिड–१९ को सुरुवातसँगै हेलिकोप्टरको व्यापार ९० प्रतिशतसम्मले कमी आएको छ। बिस्तारै अहिले हेलिकोप्टरको उडान केही मात्रामा भएको छ। तर, ‘फूल फेज’मा सञ्चालन भने हुन सकेको छैन।
कोभिडकै कारण एक पर्यटकीय सिजनभर त हेलिकोप्टर पूर्ण रुपमा नै ग्राउन्डेड भए। हेलिकोप्टरको व्यापारमा कोरोनाकै कारण अर्ब रुपैयाँ नोक्सानी भएको व्यवसायीहरुको भनाइ छ।
अहिले ११ वटा हेलिकोप्टर कम्पनीका ३३ वटा हेलिकोप्टर रहेका छन्। नेपालमा ६ प्रकारको हेलिकोप्टर छन्। तर, यसमा नेपाली सेनाले प्रयोग गर्दै आएको हेलिकोप्टर भने समावेश छैन।
नेपालमा सबैभन्दा बढी एएस३५० बीथ्री एण्ड बीथ्रीई (एच१२५) प्रकृतिका हेलिकोप्टर रहेका छन्। यसैगरी एमआइ–८/१७ प्रकृतिका हेलिकोप्टर भने नेपालमा ५ वटा रहेको छ। यसैगरी आर ४४ हेलिकोप्टर १, आर ६६ हेलिकोप्टर ६६, बेल २०६ हेलिकोप्टर १ र बेल ४०७ हेलिकोप्टर १ वटा रहेको छ।
सम्रगमा नेपाली आकाशमा उड्ने हेलिकोप्टरमध्ये एएस ३५० बीथ्री एण्ड बीथ्रीई (एच१२५) प्रकृतिका मात्रै ६३.६४ प्रतिशत रहेका छन्।
यसैगरी एमआइ–८/१७ प्रकृतिका १५.१५ प्रतिशत, आर ४४ प्रकृतिका ३.०३ प्रतिशत, आर ६६ प्रकृतिका १२.१२, बेल २०६ प्रकृतिका ३.०३ र बेल २०७ प्रकृतिका पनि ३.०३ प्रतिशत नै रहेका छन्।
कुन कम्पनीका कति हेलिकोप्टर?
नेपाली आकाशमा उड्ने हेलिकोप्टरमध्ये सबैभन्दा बढी हेलिकोप्टर भएको कम्पनी श्री एयर हो। श्रीसँग ७ वटा हेलिकोप्टर छन्। जसमा ५ वटा एमआइ–८/१७ र २ वटा एएस ३५० बीथ्री एण्ड बीथ्रीई (एच१२५) छन्।
यसैगरी दोस्रो बढी हेलिकोप्टर रहेको कम्पनी प्रभु हेलिकोप्टर हो। प्रभुसँग ६ वटा हेलिकोप्टर छन्। प्रभुसँग ४ वटा आर–६६, १ वटा आर ४४ र एक वटा एएस ३५० बीथ्री एण्ड बीथ्रीई (एच१२५) हेलिकोप्टर रहेका छन्।
यसैगरी, सिम्रिक एयरसँग ४ वटा एएस ३५० बीथ्री एण्ड बीथ्रीई (एच१२५) र बेल २०६ प्रकृतिका १ वटा हेलिकोप्टर रहेका छन्।
यसबाहेक एयर डाइनेष्टीसँग ४ वटा एएस ३५० बीथ्री एण्ड बीथ्रीई (एच१२५), अल्टिच्युडसँग एएस३५० बीथ्री एण्ड बीथ्रीई (एच१२५) का २ वटा, हेलिएभरेष्टसँग एएस ३५० बीथ्री एण्ड बीथ्रीई (एच१२५)का २ वटा र कैलाशसँग पनि एएस ३५० बीथ्री एण्ड बीथ्रीई (एच१२५) का २ वटा हेलिकोप्टर रहेका छन्।
यसैगरी, एएस ३५० बीथ्री एण्ड बीथ्रीई (एच१२५) का मनाङसँग र माउन्टेनसँग पनि २/२ वटा हेलिकोप्टर रहेका छन्।
साथै समिटसँग एएस ३५० बीथ्री एण्ड बीथ्रीई (एच१२५) का २ र बेल २०६ प्रकृतिका १ वटा गरी ३ वटा र मुस्ताङसँग बेल २०६ प्रकृतिका १ वटा हेलिकोप्टर रहेका छन्।
नेपाली आकाशमा ३२ हेलिकोप्टर दुर्घटना
नेपालमा पहिलो पटक सन् १९७९ मा लाङटाङमा भीआइपी हेलिकोप्टर दुर्घटना भएको थियो। यो दुर्घटनामा ६ जनाले ज्यान गुमाए। त्यसयता नेपाली आकाशमा ३२ वटा हेलिकोप्टर दुर्घटना भएका छन्। यसका नेपाली सेनाका दुर्घटना भएका हेलिकोप्टर जोडिएको छैन।
हेलिकोप्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६५ छ। दुर्घटनामा २३ जना घाइते भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएकाे छ।
सन् २०१६ को मार्च महिनामा फिस्टेल एयरको हेलिकोप्टर लाङटाङ क्षेत्रमा दुर्घटनामा परेको भए पनि कुनै मानवीय क्षति भएको थिएन। नेपाली आकाशमा सबैभन्दा ठूलो हेलिकोप्टर दुर्घटना भने ताप्लेजुङमा भएको थियो। सन् २००६ को सेप्टेम्बर महिनामा भएको श्री एयरको एमआइ–१७ हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राईसहित २४ जनाको ज्यान गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।