काठमाडौं- कोरोना भाइरसको सङ्क्रमणको कारण विद्यालय खुल्न नसकेपछि सरकारले वैकल्पिक शिक्षण विधिमा अनलाइन शिक्षालाई प्रमुख मानेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यालयशिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ मा अनलाइन शिक्षण विधिलाई नै आधारका रूपमा लिएको देखिन्छ।
धेरैजसो निजी विद्यालय र सामुदायिक विद्यालयले पनि अनलाइनबाटै पढाउने माध्यमको अधिकतम उपयोग गरिरहेका पनि छन्। वैकल्पिक शिक्षण सिकाइका अन्य विधिका तुलनामा अनलाइन विधिको प्रयोग बढी छ।
तर सरकारले अनलाइन शिक्षण विधिलाई व्यापक प्रश्रय दिएपनि अनलाइन कक्षा संचालनको प्रोटोकल थना नीतिनियम भने बनाएको छैन। वैकल्पिक शिक्षण विधि अनलाइन विधि व्यवस्थित गर्न, बालबालिकाले कसरी कतिसम्म चलाउन पाउने भन्ने समेटिएको छुट्टै प्रोटोकल बनाउनुपर्नेमा सरकारले यता तर्फ चासो नदिएको विज्ञहरूको भनाइ छ। विद्यालयले पनि बालबालिकाको स्वास्थ्यमा हानी नपुर्याउने गरी कुनै नीति लिएका छैनन्।
अनलाइनमा धेरै समय पढाए पढाइप्रति नै वितृष्णा हुनसक्ने, टाउको दुख्नेदेखि डिप्रेसनसम्मका समस्या देखिन सक्ने उनको भनाइ छ।
एन प्याबसनका अध्यक्ष ऋतुराज सापकोटा अनलाइन शिक्षालाई प्रमुख वेकल्पिक विधि मानेको सरकारले किन अहिलेसम्म अनलाइन प्रोटोकल नबनाएको विषय आफूहरूले बुझ्न नसकेको बताए। ‘सरकारले अनलाइन प्रोटोकल किन बनाएन? यो विधि फरक अभ्यास हो,’ सापकोटाले भने, ‘आआफ्नो किसिमले अनलाईन शिक्षण विधि उपयोग गर्दा बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने तर्फ सरकारले सोचेको छैन। कुन उमेर समूहका विद्यार्थीले कति समय स्क्रिनमा हेर्न हुने भनी स्पष्ट व्यवस्था हुनुपर्ने होइन र?’
‘गुगल फर एजुकेसन सर्टिफाइड ट्रेनर’ सुशील उप्रेती प्रविधिको उपयोग गर्न नजाने जोखिमपूर्ण हुने बताउँछन्। ‘साना-साना बालबालिका बढी जिज्ञासु हुन्छन्,’ उप्रेती भन्छन्, ‘उनीहरुलाई के चलाउन हुन्छ के चलाउन हुँदैन थाहा हुँदैन। ढुक्कैले उनीहरुलाई अनलाइनमा छोडदिँदा लत त लाग्छ नै। आँखा र ढाडको समस्यासँगै यौन र्दुव्यवहारको शिकार पनि हुन सक्छन्,’ उप्रेती विद्यालय अथवा सरकारले नै यसबारे के गर्न हुन्छ के गर्न हुँदैन भनी व्यवस्था गर्नुपर्ने सुझाउँछन्।
केही विद्यालयहरुले दिनहुँ ४/५ घण्टा स्क्रिन पढाउने गरेको गुनासो बढ्न थालेको छ। नाम उल्लेख गर्न नचाहने काठमाडाैँका एक अभिभावकका अनुसार ज्ञानेश्वरको एक विद्यालयले ६ घण्टासम्म अनलाइनमा पढाइरहेको छ। उनले बीचबीचमा ब्रेकको पनि खासै व्यवस्था नभएको बताए।
१५ वर्षमुनिका बालबालिकालाई दैनिक ३ देखि ४ घण्टाभन्दा बढी सयम अनलाइन पढाउन नहुने बताउँछिन्, त्रिवि शिक्षण अस्पताल विपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रकी ऐसिस्टेन्ट प्रोफोसर डा रञ्जु खरेल। ‘बालबालिकालाई लगातार लामो समय स्क्रिनमा पढाउन हुँदैन,’ खरेल भन्छिन्, ‘यसले बालबालिकामा आँखा लगायतको मानसिक समस्या पनि देखिन सक्छ।’
शिक्षा मन्त्रालयका सहप्रवत्ता दीव्या पहाडी भने अनलाइन शिक्षाको छुट्टै प्रोटोकल नबनाएपनि कसरी पढाउने भन्नेबारे उल्लेख गरेको बताउँछिन्। उनका अनुसार मन्त्रालयले अनुगमन भने गरेको छैन। ‘हामीले छुट्टै प्रोटोकल त बनाएका छैनौँ तर सिकाइ सहजीकरण निर्देशिकाले नै यसलाई सम्बोधन गर्छ,’ उनले भनिन्।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले अहिलेसम्म छुट्टै अनलाइन शिक्षाको प्रोटोकल आवश्यक नदेखिएको बताउँछन्। ‘छुट्टै प्रोटोकल चाहिन्छ कि चाहिँदैन बहसको विषय हुन सक्छ,’ प्रवक्ता शर्माले भने, ‘तत्कालको लागि भने हामीले अनलाइन शिक्षाको छुट्टै प्रोटोकलको आवश्यकता महसुस गरेका छैनौँ।’
के छ निर्देशिकामा?
मन्त्रालयले बनाएको वेकल्पिक प्रणालीबाट शिक्षण सिकाइ निर्देशिकाको ६ नम्बर बुँदाको उपबुँदा (ङ)को (५) मा शिक्षा मानव स्रोत तथा विकास केन्द्रले अनलाइनमा प्रसारण गरिएका श्रव्यदृश्य सामग्रीहरु ई-लर्निङ पोर्टल र युट्युबमा अप्लोड गर्ने उल्लेख छ।
यस्तै ६ नम्बर बुँदाकै (ङ) को (६) मा पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत तयार गरिएका र स्वीकृत प्रदान गरिएका विद्यालय तहका सबै पाठ्यक्रम पाठ्यपुस्तक तथा अन्य पाठ्यसामाग्री लगायत अन्य सामाग्रीहरु साइबर सुरक्षा निर्देशिकाको अधिनमा रही मोबाइल एप्लिकेसन विकास गरी डाउनलोड गर्न सकिने उल्लेख छ।
अधिकांश विद्यालयले निःशुल्क रूपमा जुम प्रयोग गरिरहेका छन्। जुममा अनाआवश्यक भिडियो अप्लोड हुने खतरा हुन्छ। योतर्फ भने मन्त्रालयको कुनै ध्यान गएको देखिएको छैन।
प्रविधिमा एक्लै छाडिदिँदा बच्चाहरू जोखिममा पुग्न सक्छन्
‘गुगल फर एजुकेसन सर्टिफाइड ट्रेनर’ सुशील उप्रेती प्रविधिमा बच्चाहरुलाई के गर्न हुन्छ के गर्न हुँदैन भन्न नसिकाए जोखिमपूर्ण अवस्थामा पुग्न सक्ने बताउँछन्। ‘हाम्रो देशमा दुर्घटना हुनुभन्दा अघि नै सोच्ने चलन छैन,’ उप्रेती भन्छन्, ‘सरकार र विद्यालयले इन्टरनेट प्रयोग गर्दा के गर्न हुने के गर्न नहुने कसरी प्रयोग गर्ने भन्नेबारे नियम नै बनाएर जानु पर्ने हुन्छ।’
उप्रेतीका अनुसार अमेरिकाले १९९८ मा अनलाइन एक्ट बनाएको थियो। जसमा ‘चिल्ड्रेन अनलाइन प्राइभेसी प्रोटोकल रुल’ समावेश थियो। संसारभरका देशहरुले यही नियम प्रयोग गरेका हुन्छन्। यो नियमअनुसार १३ वर्ष मुनीका बालबालिकाले इमेल प्रयोग गर्न पाइँदैन। भिडियो देखाउ भन्न पाइदैन। कसैले स्क्रिनसट गरेर दुरुपयोग गर्यो भने बालबालिकालाई ठूलो हानी गर्ने हुँदा प्रविधिको प्रयोगमा संवेदनशील हुनुपर्ने उनको भनाइ छ।
उप्रेती अनलाइनका सामग्रीहरु चलाउँदा कसरी प्रयोग गर्ने, रिफ्ररेन्स कसरी प्रयोग गर्ने, साइटेसन कसरी राख्ने, भन्ने कुरा उनीहरुलाई सिकाउनु पर्ने र कपी राइटका कुराहरु पनि सिकाउनु पर्ने उनको भनाइ छ।
‘हामीले उपलब्ध सामग्रीहरु कसरी प्रयोग गर्ने भनी ‘फेयर युजेज पोलीसी’बारे पनि जानकारी राख्नु पर्छ,’ उप्रेती भन्छन्, ‘कपीराइट’लगायतबारे पहिले जानकारी दिँदा सम्भावित समस्याबाट बच्न सकिन्छ।’
लगातार स्क्रिन हेर्दा आँखा मात्र हैन स्वभाव पनि बिग्रन सक्छ
साइबर सुरक्षामा नै ध्यान नदिएको मन्त्रालयले अधिकतम कति घण्टा पढाउने कसरी पढाउने र उमेर अनुसार कसरी पढाउने भन्नेमा चासो दिने कुरै आएन। शिक्षा मन्त्रालयले बनाएको वैकल्पिक प्रणालीबाट शिक्षण सिकाइ निर्देशिकामा योबारे केही उल्लेख छैन।
त्रिवि शिक्षण अस्पताल ‘विपि काइराला लायन्स नेत्र अध्ययन केन्द्रको ऐसीटेन्ट प्रोफोसर डाक्टर रञ्जु खरेल लगातार स्क्रिनमा हेर्नाले आँखा मात्रै नभई धेरै रिसाउने, इरिटेड महसुस गर्ने बताउँछिन्।
१३ वर्ष मुनीका बालबालिकाले इमेल प्रयोग गर्न पाइँदैन। भिडियो देखाउ भन्न पाइदैन। कसैले स्क्रिनसट गरेर दुरुपयोग गर्यो भने बालबालिकालाई ठूलो हानी गर्ने हुँदा प्रविधिको प्रयोगमा संवेदनशील हुनुपर्ने विज्ञको भनाइ छ।
खरेलका अनुसार ५ वर्षभन्दा कमकालाई २ घण्टासम्म ५ देखि १५ वर्ष मुनिका बालबालिकालाई ३ देखि ४ घण्टा सम्म मात्रै स्क्रिनमा हेर्नु उपयुक्त हुने बताउँछिन्। एउटा कक्षा ४० मिनेटको भए २० मिनेट रेस्ट गर्ने समय दिएर अर्काे कक्षा सुरु गर्नुपर्ने खरेलको भनाइ छ। ‘४० मिनेटको एउटा कक्षा हुन्छ त्यो लगत्तै अर्काे कक्षा सुरु गरिहाल्न हुँदैन,’ खरेल भन्छिन्, ‘२० मिनेट रेस्ट गर्दै आँखाको एक्सरसाइज गर्नुपर्छ।’
खरेलका अनुसार विद्युतीय ग्याजेटको उज्यालो, राख्ने स्थान, बस्ने पोस्चर र आँखाको रेटिना जोगाउने चस्माको प्रयोग गर्ने गर्नुपर्छ। पावर भएको चस्मा लगाउनेको पावर चेक गर्नुपर्ने र एक हात भन्दा नजिक ग्याजेट राख्न नहुने खरेलको सुझाव छ।
धेरै स्क्रिनमा हेर्दा मेलिटोनिन हर्माेनमा असर पर्ने हुँदा झर्कने रिसाउने निद्रा नपर्ने हुन्छ त्यसकारण बिहान उठेको दुई घण्टासम्म र सुत्नुभन्दा २ घण्टा अघि सम्म ग्याजेट चलाउन नहुने खरेलको भनाइ छ।
मनोविद् गोपाल ढकाल लगातार स्क्रिनमा पढाउँदा दिर्घकालीन मनोवैज्ञानिक असर पर्ने हुँदा कम समय पढाउनु पर्ने बताउँछन्। ‘धेरै स्क्रिनमा हेर्दा बच्चाहरुलाई इरिटेड हुन्छन्,’ ढकाल भन्छन्, ‘अनलाइनबाट पढाएपछि अनलाइनमार्फत गर्ने होमवर्क नदिई कागजी होमवर्क दिनुपर्छ। यसो गर्दा उनीहरु कम समय अनलाइनमा बस्न सहयोग पुग्छ।’
अनलाइनमा धेरै समय पढाए पढाइप्रति नै वितृष्णा हुनसक्ने, टाउको दुख्नेदेखि डिप्रेसनसम्मका समस्या देखिन सक्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।