काठमाडौं- हरेक साँझ पाटन दरबार क्षेत्र चलायमान बन्छ। मन्दिरअघिका डबलीमा निस्कनेहरु निकै हुन्छन्। कोरोनाका कारण लामो समय घरमा थुनिएकाहरु केही फुक्काफाल हुन पाएपछि त अझ स्वच्छन्द घुमिरहेका छन्। सधैँ उस्तै हुने पाटन बुधबार भने केही फरक देखियो।
मेडिकल शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी १९औँ सत्याग्रहमा छन्। बुधबार सत्याग्रहको १७ दिन भइसक्यो। तर उनी छन् भन्नेमा सरकारलाई वास्ता छैन। आफैले गर्छु भनेका र गर्नुपर्ने कामकै लागि डा केसी आफ्नै जीवनको वेवास्ता गरिरहेका छन् भन्ने सरकारलाई बुझ्न मन छैन। यसैले सरकारको शैलीको विरोध गर्दै डा. केसीको समर्थनमा कलाकारहरुले पाटन दरबार क्षेत्रमा नाटकसँगै चित्रकला प्रदर्शन गरे।
डा. केसीले आम मानिसको स्वास्थ्य सुरक्षाको सहज अवसरका लागि लामो समयदेखि मौन रहँदै जुन आवाज उठाइरहेका छन् त्यसलाई कलाकारहरुले मानवीय सम्भावना फराकिलो बनाउने विशालतासँग तुलना गरेका छन्। यसैले आफूले सक्ने रुपमा सहि र गलत छुट्याउन सक्ने र सहिलाई साथ दिनसक्ने आँट हरेक नागरिकमा देखिनुपर्छ।
धेरैले बाँच्न नसकेको जीवन डा. केसीले निस्वार्थ रुपमा देखाइरहेका छन्। तर हरेक सत्तामा केसी कुदृष्टिमा परिरहेका छन्। सत्ताले सधैँ उनलाई आफ्नो विरोधि देखिरहेको छ। त्यसलाई कलाकारहरु उज्यालोसँग शासक डराएको रुपमा बुझ्छन्। यसैले त सत्ता उज्यालो निभाउने प्रयत्नमा छ।
मानिसका दुःख र असहायतामा कान थुनिरहेका शासक सत्याग्रहीको शक्तिसँग डगमगाइरहेको छ। आफैले गरेका सम्झौता पनि बिर्सिएर धोका दिइरहेको छ। त्यो डा. केसीमाथिको धोका मात्र होइन नागरिक स्वास्थ्यमाथिको धोका र वेवास्ता हो। यसैले नागरिकको वेवास्तामा मस्त रहेको सरकारलाई झकझक्याउन कलाकारहरु आफ्ना कलामार्फत अगाडि आए।
डा. गोविन्द केसीको सत्याग्रहमा ऐक्यबद्धता जनाउन सोलिडारिटी फर डा केसी अलायन्सको आयोजनामा शिल्पी थिएटरका कलाकारले नाटक प्रदर्शन गरे। नाटकमार्फत उनीहरु भनिरहेका थिए– हरेक समय नाकामीमा रमाइरहेको सत्ता अहिले अश्लिल देखिएको छ। कवितात्मक शैलीमा वाचन गरिएको आवाजसँगै कलाकार घिमिरे युवराजले पाटन डबलीमा नाटक देखाए।
घिमिरेको नाटक डा. केसीप्रतिको सम्मान र साथ मात्रै होइन कालो–सेतोको परिधिभन्दा बाहिर निस्किएर सत्य आवाजको उठान हो। आवाज उठाउनुपर्छ, हरेकले आफ्नो शैलीमा बोल्नुपर्छ भन्ने आग्रह हो। यसैले घिमिरेले प्रस्तुत गरेको अमूर्त लाग्ने कला मूर्त बनिरहेको थियो।
आफ्नो प्रस्तुति सकिएपछि राम्रो कामका लागि कलामार्फत केही बोल्न सकेकोमा कलाकार घिमिरे सन्तुष्ट देखिए। ‘सबैको सरोकारको विषयमा आम मानिस पनि जाग्नुपर्छ। अहिले ठूलो भिड गर्न नहुने समयमा शान्तिपूर्ण रुपले सानो समयमा हामीले आफ्नो शैलीमा आवाज उठायौँ, यो डा. केसीप्रति हाम्रो ऐक्यबद्धता हो।
उनी भन्छन्– ‘आज जो सत्तामा छन् कुनै समय उनीहरु आन्दोलनमा हुँदा पनि कलाकारले साथ दिएकै हौँ, यसैले जे भनेर परिवर्तनका लागि आवाज उठे पनि केही परिवर्तन भएन। उहाँहरु बिलासी जीवनमा हुनुहुन्छ र दायित्व बिर्सनुभएको छ।’
शिल्पीका कलाकारले नाटक प्रदर्शन गरेसँगै राखिएको थियो औंठा छापका दुई चित्र। जसमा नाटक चलिरहँदा कलाकारले थपिदिए– महात्मा केसी। डा. केसी आफूले केही गरिरहेको छु भन्ने जश कहिल्यै चाहँदैनन्। आफ्नो पछि कोही लागुन् भन्ने पनि चाहँदैनन्। उनका मागहरु सर्वाहारा कम्युनिष्ट भनिने सत्ताले स्वयम अनुभूत गरेर पूरा गर्नुपर्ने कामहरु हुन्। तर पनि उनी बारम्बार हार्छन् र पुनः उहि सत्याग्रहको चरण दोहो¥याउन बाध्य भइरहन्छन्।
यसैले अब डा. केसीले जे माग गरिरहेका छन् त्यसमा नागरिकले विचार गर्नैपर्छ। उनले भनेका कुरा ठीक हुन् या अनावश्यक हुन् ती माग पढ्ने जो कसैले बुझ्न सक्ने विषय हो। सत्ताका चाकडीमा लाभको आश गरिरहेकाले उनलाई जति नै दुत्कार्य पनि निस्वार्थी सत्याग्रहीको जित नागरिकको जित हो। आखिर उनले आफ्ना लागि के मागेका छन् र? मृत बनिरहेको सहरमा स्वास फेरिरहेकाहरुले मानिस बनेको प्रमाण कहिले देलान्!
तस्बिरमा हेर्नुहोस्-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।