काठमाडौं–नेकपा नेता वामदेव गौतमविरुद्धको मुद्दा संवैधानिक इजलासमा पेशी तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीशको इजलाशमा गौतमको मुद्दा पहिलो नम्वरमा रहेको छ। संवैधानिक इजलाशमा प्रधानन्यायाधीश राणा, दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलास गठन भएको छ।
यसअघि एकल इजलाशले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्दै संवैधानिक इजलासमा पठाएको थियो। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले गौतमलाई अन्य संवैधानिक जिम्मेवारी नदिन भनेको थियो । सर्वोच्चको उक्त आदेशपछि गौतम मन्त्री बन्न नपाउने अवस्था आएको थियो।

गौतमलाई सरकारको निर्णयमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेकी थिइन्। बर्दियाबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका गौतम प्रधानमन्त्री हुन नसक्ने भएपछि मन्त्री हुनसक्ने सम्भावना कायम राख्दै राष्ट्रिय सभा जान तयार भएका थिए । गौतमको सिफारिस संवैधानिक भए/नभएको र उनले अन्य संवैधानिक जिम्मेवारी लिन पाउने वा नपाउनेबारे आज हुने सुनुवाइले निर्धारण गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।