फाइल तस्बिर
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा रिक्त रहेको सदस्य पदमा नियुक्त गरेकी छन्। बिहीबार राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका हुन्।
'बिहीबार राष्ट्रपतिले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरिसक्नु भएको छ। औपचारिक जानकारी भने केही बेरमा दिइने तयारी छ,' प्रमुख स्वकीय सचिव अधिकारीले भने।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
राष्ट्रियसभामा कम्तीमा एक जना महिलासहित तीन जना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ।
यद्यपि, सोमबारका मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले आयोजना गरेको पत्रकार सम्मेलनमा गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे समय आएपछि जानकारी हुने बताएका थिए।
प्रतिनिधिसभा सदस्य चुनावमा बर्दियाबाट हारेका गौतम पटकपटकको प्रयासपछि राष्ट्रियसभा सदस्य बनेका हुन्। सचिवालय सदस्यको निर्णयपछि प्रधानमन्त्री ओलीले आफ्नै इच्छाविपरीत वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।