काठमाडौं–यसवर्षको शैक्षिक सत्र खेर नजाने गरी ‘पाठ्यवस्तु समायोजन ढाँचा’ ल्याइएको छ। पाठ्यक्रम विकास केन्द्रले असार १ गतेदेखि शैक्षिक सत्र सुरु भएको मानेर साविकको झैं चैतमा नै शैक्षिक सत्र पूरा गर्ने गरि पाठ्यवस्तु समायोजन ढाँचा ल्याएको जनाएको छ।
पाठ्यक्रम विकास केन्द्रका प्रमुख केशव दाहालले पाठ्यवस्तु समायोजन ढाँचाले यो वर्ष शैक्षिक सत्र खेर जाने हो कि भन्ने शंका हटाएको बताए। ‘समायोजन ढाँचाले यो वर्षको शैक्षिक सत्र कस्तो हुने र कसरी चैतमा नै सक्ने भन्ने प्रश्न अन्त्य गरेको छ,’ दाहालले भने, ‘यो ढाँचा अनुसार पढाउँदा चैतमा नै शैक्षिक सत्र सकिन्छ।’
‘पाठ्यक्रम घटेको होइन समायोजन भएको हो’
साविककै पाठ्यक्रमका आधारमा समायोजन ढाँचा ल्याइएको हो। यसअघि शिक्षकले सम्पूर्ण पाठ्यपुस्तक पढाउने गर्थे। नयाँ ढाँचा अनुसार भने एउटा पाठ्यपुस्तकलाई दुई भागमा विभाजन गरिएको छ, जहाँ शिक्षकको सहयोग चाहिने र शिक्षकको सहयोग विना पनि स्वअध्ययनबाटै अथवा अन्य विधिको प्रयोग गरेर सिक्न सक्ने गरि छुट्याइएको केन्द्र प्रमुख दाहालले बताए।
‘पाठ्यक्रम जस्ताको तस्तै राखेर ग्रुपिङ गरेका हौं,’ दाहालले भने, ‘यसो गर्दा दुई ग्रुप बनाएका छौँ जसमा शिक्षकले सिकाउन पर्ने र विद्यार्थीले स्वंयले सिक्न सक्ने गरि यो ढाँचा आएको छ।’
पहुँच अनुसार सिकाइ हुने
पाठ्यक्रम विकास केन्द्रले पाठ्यवस्तु समायोजन ढाँचा प्रत्येक विद्यालयमा पठाउनेछ। स्रोत र साधन भएका विद्यालयले यो ढाँचा आफै लागू गर्न सक्ने र स्रोत साधन कम भएका विद्यालयलाई स्थानीय सरकारले सहयोग गर्नुपर्ने दाहालले बताए।
उनका अनुसार हरेक स्थानीय तह अनुसार र अझ विद्यालय र विद्यार्थी अनुसार घरमै सिक्ने स्रोत र साधनको पहुँच फरक भएकाले स्थानीय तहले नै सहजीकरण गर्दा सिकाइ प्रभावकारी हुने भएकाले स्थानीय तहको भूमिका बढी हुने बताए। ‘अनलाइन, रेडियो, टिभिलगायतका पहुँच भएकालाई सोही अनुसार र पहुँच नभएकालाई शिक्षक स्वयंले ४/५ जना विद्यार्थी राखेर पढाउनुहुन्छ,’ दाहालले भने, ‘यसपालिको शैक्षिक सत्रमा अभिभावक र विद्यार्थीले धेरै मिहिनेत गर्नु पर्छ।’
त्यस्तै सिकाइ सहजीकरणका लागि केन्द्रले एउटा समितिको पनि परिकल्पना गरेको छ। जसमा प्रधानाध्यापकको नेतृत्वमा विषय शिक्षक र स्थानीय तहमा नै रहेका एक विज्ञले विषय अनुसार सिकाइ कसरी प्रभावकारी बनाउने यो ढाँचा कसरी लागू गर्ने भन्ने बारे काम गर्ने छन्।
मुल्याङ्कनविधि सुविधा अनुसार फरक
साविकको शैक्षिक सत्रमा त्रैमासिक परीक्षा लिएर मूल्याङ्कन गरिन्थ्यो। यो वर्ष भने त्रैमासिक परीक्षा लिन सम्भव छैन। वार्षिक परीक्षा अवस्था हेरेर लिने बताएको पाठ्यक्रम विकास केन्द्रले यो पाठ्यक्रमको ढाँचा अनुसार भने मूल्याङ्कनको ढाँचा पनि केही बदलेको छ। दाहालले अनलाइन पढ्नेले अनलाइनबाट रेडियो टिभिबाट पढ्नेले असाइनमेन्ट र मौखिक आधारमा परीक्षा लिएर मूल्यांकन गरिने बताए।
‘विद्यार्थीको पहुँचअनुसार परीक्षा हुन्छ,’ दाहालले भने, ‘परीक्षा लिँदा घरमा सिकेका कुरा पाठ्यपुस्तकका असाइनमेन्टका आधारमा पनि मूल्यांकन गरिने छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।