सिओल- कोरियामा प्रवासी मजदुरले स्वेच्छाले कार्यस्थल परिवर्तन गर्न पाउनुपर्ने माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ।
प्रवासी मजदुरका पक्षमा वकालत गर्दै आएको संस्था प्रवासी श्रमिक युनियन (एमटियु) र कोरियाको प्रजातान्त्रिक मजदुर संगठन (केसिटियु)को सक्रियतामा मंगलबारबाट उक्त अभियान सुरु गरिएको एमटियुका अध्यक्ष उदय राईले जानकारी दिए।
उनले कोरियाको संविधानको धारा १५ मा मजदुरले स्वेच्छाले आफ्ना लागि काम छनौट गर्न पाउनेगरी स्पष्ट व्यवस्था गरिएपनि यहाँको सरकारले आफ्नै संविधानको पालना नगरी प्रवासी मजुरलाई असमान व्यवहार गरिरहेको बताए।
उनी भन्छन्, ‘कोरियाको संविधानमा समेत मजदुरले आफ्नै इच्छाले काम छनौट गर्न सक्ने व्यवस्था छ। योबाहेक कोरियाको समानतासम्बन्धी कानुनमा पनि मजदुरलाई भेदभाव गर्न नपाउने उल्लेख छ।’
यसअघि एमटियुलगायत मजदुर अधिकारवादी संस्थाले प्रवासी मजदुरले स्वेच्छाले कार्यस्थल परिवर्तन गर्न पाउनुपर्ने माग गर्दै यहाँको संवैधानिक अदालतमा मुद्दा दायर गरिसकेका छन्।
सरकारले आफ्नै मजदुर कानुनको पूर्ण पालना गर्नुपर्नेमा त्यसो नगरिएकाले संविधानको पूर्ण पालना गर्नुपर्ने फैसला गर्न माग गर्दै उक्त मुद्दा दर्ता गरिएको राईको भनाइ छ।
कोरियामा ईपियसमार्फत् रोजगारीका लागि आउने विदेशी श्रमिकले कार्यस्थल परिवर्तन गर्न चाहेमा राजगारदाताको स्वीकृति लिनुपर्ने सरकारी व्यवस्था छ। जसका कारण प्रवासी मजदुर शोषणमा पर्ने गरेको भन्दै प्रवासी मजदुर युनियनले निरन्तर आवाज उठाउँदै आएको छ।
यो नियम लागू भएमा कोरियामा कार्यरत करीब ४० हजार ईपियस श्रमिक लाभान्वित हुनेछन्। संकलित हस्ताक्षर कोरियाको संवैधानिक अदालतमा बुझाइने युनियनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।