काठमाडौं- कोरोना भाइरसको संक्रमण भए\नभएको थाहा पाउनका लागि नेपालमा अहिले पिसिआर प्रविधिको उपयोग गरिन्छ। विश्वले अरुभन्दा भरपर्दो ठानेको यो प्रविधिबाट जाँच गराउन आर्थिक रुपमा महँगो छ भने नतिजा प्राप्त गर्न समय लाग्ने खोट पनि छ।
कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा जाँचको संख्या बढाउनुपर्छ। चाँडो नतिजा दिन सक्नुपर्छ। यस्तो अवस्थामा कम मूल्य पर्ने र नतिजा चाँडो आउने प्रविधिको खोजी विश्वले नै गरिरहेको छ। तीमध्ये आरडिटी र एन्टिजिन कम खर्चिलो प्रविधि हो। यी प्रविधिले चाँडै नतिजा दिन पनि सक्छन्। तर, यी प्रविधिहरुको नतिजामाथि प्रश्नहरु उठिरहन्छन्। आरडिटीको प्रयोग नेपालमा सुरु भएर पनि बन्द गर्नुपर्यो। किनकि यसको नतिजा भरपर्दो भएन। यतिबेला अर्को द्रुत जाँच प्रविधि एन्टिजिनको विषय उठान हुन थालेको छ।
यही क्रममा दुई दिनअघि जनस्वास्थ्य विज्ञ डा समीरमणि दीक्षितले एन्टिजिनका विषयमा एउटा ट्विट गरे। 'भारतले नोबल कोरोना भाइरसको टेस्टिङ पर्याप्त मात्रामा बढायो। अहिले उपलब्ध उच्च सेन्सिटिभिटीसहित नयाँ एन्टिजिनमा आधारित र्यापिड टेस्टलाई धन्यवाद। पिसिआरको आवश्यकता बिना हामी सस्तो र छोटो समयमा धेरै जनाको जाँच गर्न सक्छौं। यो विषयमा सरकारलाई थाहा होला, इच्छुक होला?,' उनको ट्विटमा लेखिएको छ।
एन्टिजिन टेस्टिङ भनेको बिना पिसिआर गरिने द्रुत परीक्षण भएको भन्दै उनले खुलाए, 'यसमा भाइरसको खोलमा रहेको प्रोटिन पहिचान गरिन्छ, जसको उपस्थितिले भाइरस सक्रिय रहेको जनाउँछ। स्वाब लिए पुग्छ। ठूलो प्रयोगशाला पनि चाहिन्न। नतिजा घण्टौं होइन, मिनेटमा पाइन्छ। सस्तो पनि हुन्छ, धेरै लागे ५ सय रुपैयाँ।'
त्यसपछि उनको यो विचारको पक्ष र विपक्षमा केही विज्ञहरु देखिए। केही जानकारहरूले पनि आफ्ना भनाइ बाँडे। डा दीक्षितको यो पोस्टलाई गम्भीर रुपमा लिएर दुई जना भने लामो बहसमा उत्रिएका छन्। उनीहरू हुन्–मेडिकल ल्याबरेटोरी साइन्टिस्ट द्रोण पाण्डेय र सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदी। दुवैजनाको मत एन्टिजिन भरपर्दो नरहेको तर्फ इंगित छ।
डा दीक्षितको ट्विटमुनि केही प्रतिक्रियासहित आफ्ना भनाइ राखेपछि पाण्डेयले केही घन्टाअघि आफ्नै टाइमलाइन एन्टिजिन टेस्ट गर्न किन हतारिनु हुँदैन? भन्ने विषयमा आफ्नो सारसंक्षेप भनाइ राखेका छन्। केही रिसर्चका नतिजासहित राखेर उनले लेखेका छन्, 'नोबल कोरोना भाइरसको र्यापिड एन्टिजिनका बारेमा केही तथ्यहरू। हावर्डका अनुसार अधिकतम ५० प्रतिशत फल्स नेगेटिभ आउँछ। निर्माणकर्ताको प्याकेजमा सबै नेगेटिभलाई पिसिआरबाट यकिन गर्न सिफारिस गरिएको छ। युएसएफडिएबाट अनुमतिप्राप्त टेस्ट किटमा पनि प्रशस्त फल्स पोजेटिभ भेटिन्छ। हामी उद्देश्यका लागि प्रयास गरिरहेका छौं?'
बहसकै क्रममा डा दीक्षितले एन्टिजिन सेन्सेटिभिटीलाई लिएर स्रोत नखुलेको एउटा टेबल सार्वजनिक गरेका छन्। जहाँ एन्टिजिनले पोजिटिभ देखाएका ११२ मध्ये पिसिआरले १११ नेगेटिभ र एक पोजेटिभ देखाएको देखिन्छ। यसले नेगेटिभ देखाएका ३१४ मध्ये चार मात्रै पिसिआरले पोजेटिभ देखाएको बाँकी नेगेटिभ नै रहेको उल्लेख छ।
सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदीले डा दीक्षितको यो तथ्यांकसँग सहमत देखिदैनन्। उनले डा दीक्षितको पोस्टलाई कोट ट्विट गर्दै लामो 'लहरो' लेखेका छन्। कोरोना भाइरसको एन्टिजिन टेस्टका बारेमा डरलाग्दो गाइँगुइँ यहाँ मात्र होइन, अन्त पनि सुनेको उनले बताए। जसले फेरि कुन भड्खालोतिर जाक्न लागे भन्ने लागेर लेख्न बाध्य भएको भूमिकासहित उनी लेख्छन्, 'रगतमा विषाणुका 'टुक्रा' छन् कि छैनन् जाँच्ने र छिटो नतिजा दिने यो जाँचका विभिन्न कम्पनीले उत्पादन गरेका किटको सही नतीजा दिने क्षमता फरक–फरक छन्। सेन्सिटिभिटी (संक्रमितहरूमध्ये जाँच गर्दा कतिलाई पोजेटिभ देखाउँछ भन्ने मानक) सरदरमा ५०-५५ प्रतिशत मात्र छ। त्यसैले यो टेस्टले आधाजसो संक्रमितलाई पनि नेगेटिभ देखाउनेछ। त्यसैले यो टेस्ट गर्दा नेगेटिभ देखिएका जतिलाई रोग छैन भन्ने पक्का गर्न फेरि पिसिआर गर्नुपर्नेछ।'


यति लेखेपछि उनले सँगै तथ्य प्रस्तुत गर्दै उल्लेख गरेका छन्, 'अर्कोतिर यसले ३ प्रतिशत जति संक्रमण नभएकालाई पनि पोजेटिभ देखाउनेछ। त्यसैले, २ प्रतिशत व्यक्ति संक्रमित रहेको कुनै समूहको सय जनामा जाँच गरे २ संक्रमितमध्ये १ जनाको मात्र पहिचान हुनेछ। अनि ३ जना असंक्रमित पनि पोजिटिभ देखिनेछन्।'
त्यसकारण यो जाँचले सही नतीजाभन्दा गलत नतिजा बढी दिने निष्कर्षमा उनी पुगेका छन्। जाँचबाट आधा संक्रमित छुट्ने थाहा भएकोले नेगेटिभ आएका ९६ जनालाई फेरि पिसिआर पनि गर्नुपर्ने उनको बताउँछन्। यसले गर्दा दाबी गरिएजस्तो पिसिआरको खर्च र समय नजोगिने दर्शाएका छन्। संक्रमण नभएका पनि पोजिटिभ देखिँदा अरू संक्रमितसँगै आइसोलेसनमा पुगे भने संक्रमण नै हुने डर कायम रहेको उनको बुझाइ छ।
उनी थप्छन्- 'केही रिपोर्टले त धेरै बढी प्रतिशत असंक्रमितलाई पोजिटिभ देखाउने बताएका छन्। जस्तो, अमेरिकाको भर्मोन्टको एक नगरमा एन्टिजेन टेस्टले पोजिटिव भनेका ६५ जनामध्ये १७ जना मात्र पिसिआरबाट वास्तविक पोजिटिभ देखिए। गलत पोजिटिव देखाउने दर ७३ प्रतिशत छ।
यो आँकडा त युएसएको एफडिएसँग संकटको समयमा चलाउँदै गर्न अनुमति मागेर चलाइएका तुलनात्मक रुपमा राम्रा होलान् भनेर अनुमान गरिने किटको रहेको बताउँछन्। नेपालमा अहिले विभिन्न बिचौलियाले भित्र्याइसकेका, तराईका जिल्लामा ठगीमा प्रयोग हुन थालिसकेका भनेर सुनिएका किटको गुणस्तरमाथि उनको सन्देह छ।
नेपालमा पनि यसको प्रयोग गर्नुपर्ने समय आउन सक्ने उनको भनाइ छ। त्यसका लागि उनले ४ शर्त अघि सारेका छन्- पहिलो, हाम्रो दैनिक '१८ हजार पिसिआरको क्षमता'ले नभ्याएमा। दोस्रो, ड्राइ स्वाब, डाइरेक्ट पिसिआर र पुल टेस्टिङ जस्ता पिसिआरलाई सस्तो, छरितो र आवश्यक किटको संख्या धेरै घटाएर फारो बनाउने उपायहरूको पनि अवलम्बन गरेर पनि नपुग्ने भएमा। तेस्रो, देशका ८० ठाउँमा मेसिन भएका, साधारण कोठामा पनि चलाउन सुरक्षित हुने, सामान्य तालिम भएका स्वास्थ्यकर्मीले चलाइरहेका जिनएक्स्पर्ट मेसिनमै पिसिआर जाँच गरेर १-२ घन्टामै रिपोर्ट निकाल्ने विकल्पमा प्रयास गर्दा पनि सकिएन भने। र चौथो, अहिलेका भन्दा धेरै बढी गुणस्तरका एन्टिजिन टेस्ट किट आएछन् भने।
'तर सरकारी विज्ञ, धुपौरेहरूले हामीले नबुझेको के कुरा बुझेर एन्टिजेन टेस्टप्रति यति साह्रो अपेक्षा जगाउँदै छन् त? कतै जुँघा चलेछ कि?' उनी टुंग्याउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।