काठमाडौं-ठेकेदार कम्पनीले तोकिएको समयमा रासायनिक मल नल्याएर ठेक्का अलपत्र पारेपछि सरकारले जिटुजी प्रकृयामार्फत् बंगलादेशसँग ५० हजार मेट्रिक टन मल सापटी लिने तयारी गरेको छ। पर्याप्त मल नपाएर वर्षे बाली लगाएका किसानका लागि हिउँदे बालीका लागि समेत मल नपाउने अवस्था आएपछि मन्त्रालयले मल सापटी लिन छलफल थालेको हो।
मल अभावको समस्या भने सरकारकै मिलेमतोमा तय गरेर दिइएका ठेक्काका कारण उब्जिएको हो। दुई ठेकेदार कम्पनी शैलुङ इन्टरप्राइजेज लिमिटेड र होनिको मल्टिपल प्राइभेट लिमिटेडले यसै हप्ताभित्र नेपाल ल्याईसक्नुपर्ने मल अहिलेसम्म खरिदसमेत गरेका छैनन्।
यी दुई कम्पनीले कृषि सामग्री कम्पनी लिमिटेडमार्फत् २५-२५ हजार मेट्रिक टन युरिया मल आयातका लागि ठेक्का पाएका थिए। विकास पूर्वाधारका आयोजना अलपत्र पारेर कुख्यात बनेको शैलुङ नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटीको कम्पनी हो भने होनिको मल्टिपल अर्का ठेकेदार हुमनाथ कोइरालाको कम्पनी हो।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार यी कम्पनीले अहिले मल खरिदको प्रकृया कहाँ पुर्याइएकाे छ भनेर कम्पनीलाई स्पष्ट जानकारीसमेत दिएका छैनन्।
‘मल खरिद प्रकृया कहाँ पुग्यो भनेर हामीलाई जानकारी गराएका छैनन्। हामीले बारम्बार सोध्दा पनि ल्याउँदैछौं, प्रकृयामै छ भन्छन्। तर कहाँ आईपुग्यो त्यसबारे केही बोल्दैनन्,’ प्रवक्ता पोखरेलले भने।
तोकिएको समयभित्र युरिया मल ल्याउन ढिलाइ गरेपछि यी दुई कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले गत हप्ता स्पष्टीकरणसमेत सोधेको थियो। तर स्पष्टीकरणबाट चित्तबुझ्दो जवाफ नआएको पोखरेलले बताए।
‘उनीहरुले मल ल्याउँदैछौं, बाटोमै छ भन्छन्। तर त्यसमा विस्वस्त हुने आधारहरु हामीले भेटेका छैनौं,’उनले भने।
टेण्डर सम्झौताअनुसार समयमा मल नआईपुगेपछि ठेकेदार कम्पनीलाई कारबाही प्रकृया अगाडि बढाउने वा समय थप्ने भन्ने विषयमा टुंगो लागिनसकेको पनि पोखरेलको भनाइ छ। ‘यो हप्ता बाँकी छ। उनीहरुले के गर्छन् हेरौं। कारबाही गर्ने वा समय थप्ने भन्ने कुरा त्यसपछि हामी छलफल गर्छौं,’उनले भने।
कृषि सामग्री कम्पनीले अघिल्लो हप्ता स्पष्टीकरणसहित शैलुङ इन्टरप्राईजेज र होलिको मल्टिपललाई ठेक्का सम्झौताअनुसार तोकिएको समयमा मल नल्याए कारबाही गर्ने चेतावनीसहितको पत्र पठाएको थियो। टेण्डर सम्झौता अनुसार ठेकेदार कम्पनीले ४२ दिनमा पहिलो सिपमेन्ट, ७७ दिनमा दोस्रो सिपमेन्ट र ११७ दिनमा (भदौ २० गतेसम्म) मल सम्बन्धित ठाउँमा पुर्याइसक्नुपर्ने हो। तर यी कम्पनीले अहिलेसम्म मल खरिदसमेत गर्न सकेका छैनन्।
सम्बन्धित समाचार
ठेकेदारको योग्यता नै नतोकी अर्बौंको मल खरिद
प्रचण्डका घरबेटीलाई ८० हजार टन मल आयातको ठेक्का, अबका सबै टेन्डर दिन 'ग्रान्ड डिजाइन'
मलको ठेक्का अलपत्र पार्ने शैलुङ इन्टरप्राइजेज र होलिको मल्टिपललाई स्पष्टीकरण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।