काठमाडौं- एक मन्त्रीले केही समयअघि अनौपचारिक कुराकानीमा भनेका थिए- राजनीतिक नियुक्ति फ्याट्ट कसलाई दिएर पठाइन्छ, आफ्नै मन्त्रालयको समेत थाहा हुँदैन। सबै बालुवाटारबाटै सेटिङ मिलाएर गरिन्छ। मन्त्री हुदाँसम्म मन्त्री भएको फिलै भएन, पूरै बुख्याँचा जस्तै भयो।’
ती मन्त्रीले अरु मन्त्रीले के कस्तो अनुभव गरिरहेका छन्, थाहा नभएको तर आफूलाई पूरै कर्मचारी जस्तो अनुभुति गरेको बताएका थिए।
त्यसो त, सबै मन्त्रालयको काम सचिवमार्फत् गराउने र मन्त्रीलाई बेवास्ता गर्ने गरेको आरोप पनि प्रधानमन्त्रीलाई छ।
अहिले हरेक राजनीतिक नियुक्तिमा प्रायःजसो मन्त्रीले यस्तै हैरानी खेपेका छन्। आफ्नो मन्त्रालयको क्षेत्राधिकार भित्रको नियुक्तिमा समेत प्रधानमन्त्रीले आफ्नो रुचीका व्यक्तिलाई नियुक्ति दिलाउन दबाब दिने अन्य मन्त्रीको पनि अनुभव छ। प्रधानमन्त्री ओलीले राजदूतदेखि संवैधानिक निकायको नियुक्ति र सरुवा बढुवाका विषयमा पार्टीमा पनि सल्लाह नगरेको गुनासो हुँदै आएको छ। अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीमा तेस्रो शक्तिको रुपमा रहेका वरिष्ठ माधव नेपालसँग समेत समेत सल्लाह गर्ने गरेका छैनन्।
यसरी प्रधानमन्त्रीबाट हुने एक्लौटी नियुक्ति भने विवादमा पर्ने गरेको छ। त्यस्ता नियुक्तिहरु प्रायः आफ्ना कोटरी नेताका नातागोता, विवादित र बिचौलिया हुने गरेको छ। जसको पार्टीभित्र र जनस्तरबाटै विरोध हुन थालेको छ। तर विवादित व्यक्तिको पक्षमा प्रधानमन्त्री र मन्त्रीहरु भने कुनै हिचकिचाहट बिनै बचाउमा उत्रिने गरेका छन्।
सरकारले राजनीतिक नियुक्ति गरेका एक दर्जनभन्दा धेरै व्यक्ति विवादास्पद छविका छन्। कतिपयको विरोध खेप्न नसकेर फिर्ता भएका छन् भने कतिपयको हकमा सरकार चुपचाप कानमा तेल हालेर बसेको छ। पछिल्लो समयमा लगानी बोर्डको सिइओ सुशील भट्ट र राष्ट्रिय बाणिज्य बैंकका अध्यक्ष हुन थालेका प्राडा उपेन्द्र कोइराला विवादित बनेका छन्।
भट्टको नियुक्तिलाई लिएर नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनालले भेटेरै खारेज गर्न अनुरोध गरे। प्रचण्ड र खनालसँगको छलफलमा ओलीले भने भट्ट राम्रै मान्छे भएको भन्दै तारिफ गरेका थिए। वरिष्ठ नेता नेपालले देशैभरका १३ भन्दा धेरै विकास आयोजना अलपत्र पार्ने बिचौलिया भट्टलाई नियुक्त नगर्न आग्रह गरे। उल्टै नेपालले एक कार्यक्रममा ओलीले आफूलाई राजनीतिक विचौलियाको आरोप लगाएको गुनासो गरेका थिए।
भट्टको नियुक्तिलाई लिएर प्रचण्ड, खनाल र नेपालको विरोधलाई ओलीले सुनेको नसुन्यै गरेर विरोधलाई पचाएरै छाडे। अहिले फेरि रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी कोराइलालाई राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष नियुक्ति गर्ने तयारी गरिरहेकै बखत व्यापक विरोध भएको छ। तर त्यसमा पुनर्विचार हुनेमा शंका छ। पोखरेलले बुधबारै एक विज्ञप्तिमार्फत बचाउ गरिसकेका छन्।
पटकपटक राजनीतिक नियुक्ति पाएका कोइराला विवादित नभएको ठाउँ नै छैन। उनै कोइरालाको नियुक्तिलाई लिएर जनस्तबाटै व्यापक विरोध भएको छ। तर विवादमा परेका एक्ला नियुक्ति होइनन्।
यसअघि पनि मुस्लिम आयोग अध्यक्ष समिम मियाँ अन्सारी, राखेप उपाध्यक्ष शिव कोइराला, वैदेशिक रोजगार बोर्डका सदस्य कैलाश खड्का, नेपाल ट्रस्टका सदस्य सीताराम सापकोटा, दूरसञ्चार प्राधिकरण अध्यक्ष दिगम्बर झा र स्पेनका लागि राजदूत दावाफुटी शेपाको नियुक्ति पनि विवादमा परेका छन्।
चर्को विरोध भएपछि वैदेशिक रोजगार बोर्डका सदस्य खड्का र दुरसञ्चार प्राधिकरणका अध्यक्ष झाले राजीनामा दिइसकेका छन्। कैयौं भने पदमै छन्।
सरकारले गर्ने नियुक्तिमा सत्ता पक्ष पार्टी मात्रै होइन, प्रतिपक्ष दलका नेताहरु समेत चुपचाप छन्। पछिल्लो समय सरकारले गर्ने नियुक्तिहरुमा सत्ता पक्ष र प्रतिपक्षका नेताहरु बोल्न छोडेपछि जनस्तरबाट विरोध हुन थालेको छ।
सत्तारुढ नेकपाका केन्द्रीय सदस्य राम कार्कीले आफूले बोकेको विचार जब अपाङ्ग हुन्छ, त्यसपछि नातावाद, ठेकेदार र बिचौलियाहरु राजनीतिक नियुक्तिमा प्राथमिकता पर्ने बताउँछन्। ‘कुनै समय यिनै नेताहरु कुनै नातागोता, आफन्त, घर, परिवार केही नभनेर आफ्नो विचारमा प्रतिवद्ध भई लागे। त्यो बेला उनीहरुलाई विचार र आदर्शले डोर्यारहेको थियो’, कार्कीले भने, ‘अहिले आफूले बोकेको विचार अपांग भएपछि कम्युनिस्ट पार्टी यो हालतमा आयो।’
आफूले बोकेको विचारमा विश्वास हुन छोडेपछि नातावाद, कृपावाद, दलाल, तस्कर र बिचौलियाले प्राथमिकता पाउने कार्कीको विश्लेषण छ। पार्टीको सही विचार र दृष्टिकोणले मात्रै उदेश्यमा पुर्याउने उनले बताए। बितेको १०/१५ वर्षमा विचारको बहस नै हुन छोडेकाले कम्युनिस्ट पार्टी उम्किनै नसक्नेगरी अन्योलको भुमरीमा फसेको उनको भनाइ छ।
कार्कीकै विचारमा सहमत जनाउँदै राजनीतिक विश्लेषक श्याम श्रेष्ठ राजनीतिक नेतृत्वमा सांस्कृतिक मूल्य मान्यता र नैतिकता जब होचो र फुच्चे हुन थाल्छ, त्यहाँ धेरै गडबढ सुरु हुने बताउँछन्। ‘जब सरकारमा बस्नेहरुको दिमागमा योग्य सक्षम मान्छे मात्रै मेरो हो, यसलाई नै प्राथमिकतामा राख्नुपर्छ भन्ने हुन्छ, त्यहाँ सबै ठीकठाक हुन्छ’, श्रेष्ठले भने, ‘तर, सत्तामा बसेहरुलाई चाकरी गर्ने सत्ताकै वरिपरि घुम्नेलाई यो मेरो मान्छे हो भन्ने हुन्छ, त्यहाँ अनेकथरी मान्छेको प्रवेश हुन्छ।’
सरकार वा व्यक्ति जुनसुकै क्षेत्रमा सांस्कृतिक मूल्य मान्यता कमजोर हुँदै गएमा नियुक्तिमा आफन्त र विचौलियाको प्रवेश हुन श्रेष्ठको विश्लेषण छ।
नेपाली कांगेसका केन्द्रीय सदस्य रमेश लेखकले सरकारी नियुक्ति मात्रै नभई सरकार हरेक गलत क्रियाकलापको विरोध गर्दै आएको दाबी गरे। ‘हामीले आफ्नो प्रतिपक्षको भूमिका सशक्त रुपमा निर्वाह गरेका छौं, अहिले कोरोना महामारी छ, त्यो बेला धेरै विरोध गर्नु भएन’, लेखकले भने, ‘अब कोरोना महामारी कम हुने बित्तिकै कांग्रेसले आफ्नो सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ।’
सरकारले एकपछि अर्को गर्दै राजनीतिक नियुक्तिमा विवादास्पद व्यक्तिलाई ल्याउँदा लोकतन्त्र नै बदनाम भएको लेखकले तर्क गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।