फाइल तस्बिर
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले अछामको रामारोशन गाउँपालिकाको किनिमिनी तालबाट निस्केको बाढीका कारण ठूलो जनधनको क्षति भएकाले राहत र भौतिक संरचनासहित पुनर्निर्माणमा केन्द्रित हुन सरकारसँग आग्रह गरेका छन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै रावलले बाढीले ठूलो जनधनको क्षति पुर्याएकाले त्यस घटनाले आफू मर्माहित भएको बताएका छन्।
बाढीले रामारोशन गाउँपालिका- ५ स्थित सैनीबजारमा घरमा सुतिरहेका १७ जनालाई बगाएको थियो। अहिलेसम्म ६ जनाको मृत्यु पुष्टि भएको छ। घटनामा प्रधानमन्त्री, गृहमन्त्री गृह सचिव, केन्द्रीय विपद् व्यवस्थापन कार्यालय, अछाम लिल्ला प्रमुख अधिकारी, स्थानीय सुरक्षा अधिकारीसँग समन्वय गरेको रावलले बताएका छन्।
उनले बाढी पहिरोका कारण भएको जनधनको क्षतिको यथार्थ विवरण संकलन गरी पीडित परिवारलाई तत्काल राहत प्रदान गर्न र विस्थापितलाई बसोबासको व्यवस्था गर्न आग्रह गरेका छन्। बाढीले सडक र भौतिक संरचनामा क्षति पुर्याएकाले पुनर्निर्माणका लागि अध्ययन र योजना आरम्भ गर्न रावलले संघीय सरकार र स्थानीय सरकारलाई आग्रह गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।