काठमाडौं-साउन महिनामा वाणिज्य बैंकहरुबाट २५ अर्ब रुपैयाँ बाहिरिएको छ। बैंकहरुले निक्षेप तथा मुद्दती निक्षेपको व्याजदर घटाउँदा प्रणालीबाटै पैसा बाहिरिन थालेको हो। गएका वर्षमा महंगो व्याजदरमा निक्षेप लिएका बैंकले केही महिनादेखि व्याजदर घटाइरहेका छन्। व्याजदर घट्न थालेपछि निक्षेपकर्ताले अन्य वित्तीय संस्था सहकारी लघुवित्तमा पैसा जम्मा गर्न थालेका हुन्।
लकडाउन हुने सन्त्रासमा रहेका केही निक्षेपकर्ताले पैसा झिकेर घरमा नै राख्न थालेका हुन्। अर्कोतर्फ निक्षेपको स्रोत विस्तारै सक्दै जाँदा प्रणालीमा पैसा आउन छाडेको छ। नयाँ स्रोत सिर्जना नहुने र साथै भएको पैसा पनि अन्यत्र क्षेत्रमा जाँदा प्रणालीबाटै पैसा घटिरहेको हो।
साउन अन्तिम सातामा बैंकहरु सँग ३४ अर्ब ७९ करोड रुपैयाँ निक्षेप छ। गत वर्षको साउनमा ३३ अर्ब ६७ करोड रुपैयाँ निक्षेप थियो। एक वर्षको अवधिमा एक खर्ब १२ अर्बले निक्षेप बढेको हो। तर लकडाउन खुलेपछि भने बैंकिङ प्रणालीबाट पैसा बाहिरिन थालेको हो।
साउनमा निक्षेप घटे पनि बैंकहरुमा कर्जाको माग भने बढ्न थालेको छ। बैंकहरुले साउन अन्तिम दुई सातामा १२ अर्बले कर्जा विस्तार गरेका छन्। यस अवधिमा बैंकहरुमा शेयर कर्जाका लागि माग आउन थालेको बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए।
अन्य क्षेत्रमा नयाँ कर्जा प्रवाह हुने अवस्था छैन तर शेयर बजारमा लगानी गर्ने गरि ऋणीहरुले कर्जाकाे माग बढाएका हुन्। साउन मसान्तसम्ममा बैंकहरुले २८ अर्ब ७८ करोड रुपैयाँको कर्जा लगानी गरेका छन्। असारको तुलनामा बैंकहरुको निक्षेप २५ अर्ब रुपैयाँले घटेको छ।
निक्षेप तथा कर्जा लगानी (रु. अर्बमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।