संखुवासभा – जिल्लाको सभापोखरी गाउँपालिका–६ बाह्रबिसे बजारमा बुधबार दिउँसो भएको आगलागीबाट पाँच घरमा बस्दै आएका १० परिवार विस्थापित भएका छन्।
आगलागी पीडित आफन्तको शरणमा बसिरहेको सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले बताइन्।
आगलागी पीडितलाई गाउँपालिकाले खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, दाल चामल, नुनतेल वितरण गरेको उपाध्यक्ष चापागाईंले जानकारी दिइन्। आगलागीबाट स्थानीय रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बू र सुशील तामाङका २ वटा घर गरी पाँचवटा घर जलेर नष्ट भएका थिए।
त्यसैगरी आगलागी पीडितलाई आज जिल्ला दैवीप्रकोप उद्धार समितिले राहत सहयोग उपलब्ध गराएको छ। पाँचजनाभन्दा बढी परिवार हुने परिवारलाई २० हजार रुपैयाँ, ५ जनाभन्दा कम सदस्य हुने परिवारलाई १५ हजार रुपैयाँका दरले राहत वितरण गरिएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए।
आगलागीबाट डेढ करोड रुपैयाँभन्दा बढीको क्षति भएको मूल्यांकन भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। विस्थापितलाई सामुदायिक भवनमा सारिने तयारी भइरहेको उपाध्यक्ष चापागाईंले बताइन्।
त्यसैगरी नेपाल रेडक्रस सोसाइटी संखुवासभाले लत्ताकपडा, भाँडाकुडा र त्रिपाल लगायतका सामान वितरण गरेको थियो। अलैंची व्यवसायी महासंघ संखुवासभाले नगद १५ हजार रुपैयाँ, संखुवासभा वितरण संघले नगद १२ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन्।
आगलागीबाट मानवीय क्षति भएको छैन। आगो नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा नियन्त्रणमा लिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।