काठमाडौं– जय ट्रफी एलिट कप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। फाइनलमा त्रिभुवन आर्मीलाई २८ रनले हराउँदै पुलिस विजेता बनेको हो।
पुलिसलाई जिताउन स्पिनर जोडी सागर ढकाल र ललित राजवंशीले उत्कृष्ट बलिङ गरे। सागरले ६ र ललितले ४ विकेट लिएका छन्।
आर्मीले जितका लागि १०३ रनको मामुली लक्ष्य पाएको थियो। तर, स्पिनलाई सहयोग गरेको पीचमा यो लक्ष्य आर्मीका लागि पहाड बन्यो। आर्मी २९.२ ओभरमा ७४ रन मात्रै जोडेर अलआउट भयो। चौथो इनिङमा आर्मीका कुनै पनि ब्याटर विकेटमा जम्न सकेनन्। ओपनर इमरान सेखले सर्वाधिक २८ रन बनाए। कप्तान विनोद भण्डारी र सोमपाल कामी समान ११-११ रन बनाएर आउट भए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पुलिसका कप्तान आरिफ शेखले सुरूदेखि अन्तिमसम्म सागर र ललितलाई मात्रै बलिङ गराए। प्रतियोगितामा उत्कृष्ट बलिङ गरिरहेका कुशल भुर्तेलले एक बल पनि फ्याक्न पाएनन्।
लगातार १५ ओभर बलिङ गरेका ललितले ३९ रन खर्चिएर ४ विकेट र सागरले १४.२ ओभरमा ३५ रन खर्चेर ६ विकेट लिए। सागरले पहिलो इनिङमा पनि ५ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।