काठमाडौं-बैंकहरुको खराब कर्जा बढ्दा लाभांस बाँड्न सक्ने क्षमता १७ अर्ब ४६ करोड रुपैयाँले घटेको छ।
कोभिड-१९ का कारण गत आर्थिक वर्षमा बैंकहरुको खराब कर्जा ०.३० प्रतिशत विन्दुले बढेको छ। समग्र वाणिज्य बैंकहरुको खराब कर्जा गत आर्थिक वर्षमा १.७४ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकहरुको खराब कर्जा १.४४ प्रतिशत थियो। नेपाल सरकारले गत चैत ११ गतेदेखि असार एक गतेसम्म पूर्ण रुपमा लकडाउन गर्दा बैंकहरुको ऋण बिग्रिएको छ।
यस वर्ष २२ वटा वाणिज्य बैंकहरुको खराब कर्जा बढेको छ। बैंकहरुले राष्ट्र बैंकले दिएको सुविधाबाट ५४ अर्ब रुपैयाँ नाफा गरे पनि उनीहरुको खराब कर्जा ह्वात्तै बढेको छ। कोभिड-१९ का कारण बैंकहरुले व्याज र साँवा असुल गर्न नसक्दा खराब कर्जा बढेको हो।
यस वर्ष सबैभन्दा धेरै खराब कर्जा एभरेष्ट बैंकको ०.२२ प्रतिशत रहेको छ। गत वर्ष एभरेष्टको ०.१६ प्रतिशत थियो। त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा धेरै ४.०८ प्रतिशत खराब कर्जा रहेको छ।
खराब कर्जा बढेसँगै सम्भावित जोखिम व्यवस्थापनका लागि मात्रै बैंकहरुले नाफाबाट १७ अर्ब ४६ करोड रुपैयाँ छुट्ट्याउनु परेको छ। यसरी सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ८८ करोड रुपैयाँ छुट्ट्याएको छ। त्यस्तै ग्लोबल आइएमई बैंकले एक खर्ब ७४ करोड रुपैयाँ छुट्ट्याएको छ। त्यस्तै एनएमबी बैंकले एक अर्ब ६१ करोड रुपैयाँ, एनआईसी एशियाले एक अर्ब १२ करोड रुपैयाँ, मेगा बैंकले ८८ करोड रुपैयाँ छुट्ट्याएका छन्।
सबैभन्दा धेरे खराब कर्जा हुने सानिमा बैंकको यस वर्ष ०.०८ प्रतिशतबाट ०.४८ प्रतिशत पुगेको छ। खराब कर्जा बढेसँगै बैंकले जोखिम व्यवस्थापना लगि नाफाबाट ८८ करोड ३५ लाख रुपैयाँ छुट्ट्याएको छ। यसले बैंकहरुको वित्तीय अवस्था राम्रो नभएको संकेत गर्छ। नेपाल राष्ट्र बैंकले कोभिड-१९ बाट प्रभावितहरुका लागि स्टिमुलस प्याकेज ल्याए पनि बैंकहरु सबैभन्दा धेरै प्रभावित छन्।
सरकारले स्टिमुलस प्याकेजअन्तर्गत ऋणीहरुलाई सहुलियत दिने क्रममा व्याज किस्ता तिर्ने अवधि लम्बाएको छ। खराब कर्जाका प्रावधानहलाई खुकुलो बनाइदिएको छ। यसले राहात दिए पनि दीर्घकालीन रुपमा बैंकहरुको वित्तीय अवस्थालाई भने कमजोर बनाउछ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिले खराब कर्जाको गणना विधि तथा मूल्याङ्कनलाई नै खुकुलो बनाएको छ। तत्कालका लागि बैंकहरुको नाफा सुधार देखिए पनि भोलि गएर बैंकहरुको व्यवसायमा ठूलो असर पर्ने बैंकरहरु बताउछन्।
नीतिगत व्यवस्थाले गर्दा बैंकहरुको खराब कर्जा तथा नाफामा केहीमात्रै संकुचन आए पनि आउँदा दिनमा धेरै नै नराम्रो अवस्था आउने विज्ञहरु बताउछन्।
कोभिडका कारण समग्र व्यवसाय नै खराब अवस्थामा छन्। सधै यस्तै अवस्था रहिरने हो भने कुनै पनि क्षेत्र सबल हुँदैन। सरकारले सुरक्षाका विधिहरु अपनाएर व्यवसाय सहज रुपमा सञ्चालन गर्न सक्ने वातावरण बनाउनु पर्ने मौद्रिक नीतिका विज्ञ नरबहादुर थापा बताउछन्। यसबाट बँच्न हामीसँग कुनै पनि औजार छैनन्। तर कोभिडसँग लड्नका लागि सरकारले सुरक्षाका उपायहरु अपनाएर सुचारु गर्न सक्नु पर्ने उनको राय छ।
यो समस्याबाट नेपालमात्रै नभइ विश्व नै गुज्रिएको अवस्थामा सरकारले उच्च मनोबलका साथ धेरैभन्दा धेरै र छिटोभन्दा छिटो परीक्षण गरेर अगाडि बढ्नु पर्ने उनले बताए। होइन भने बैंकिङ क्षेत्रमात्रै नभइ समग्र व्यवसाय नै कमजोर हुने अवस्था आउछ।
बैंकहरुको खराब कर्जा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।