काठमाडौं–नेपाल राष्ट्र बैंकले कोरोना संक्रमित कर्मचारीको सम्पूर्ण खर्च तथा व्यवस्थापन बैंक तथा वित्तिय संस्था आफैंले गर्नुपर्ने व्यवस्था गरेको छ।
कोरोना संक्रमणको जोखिम दिनानुदिन बढ्दै गईरहेको अवस्थामा बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारी एवंं सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी न्यूनतम बैंकिङ सेवा सुचारु गर्नु पर्ने देखिएकाले यसअघि जारी गरिएका सूचना तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कायमै रहने गरि राष्ट्र बैंकले थप निर्देशन जारी गरेको हो।
राष्ट्र बैंकले कोभिड(१९ का सक्रिय संक्रमित संख्या २०० भन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाहरुले बढीमा ५० प्रतिशतमात्र कर्मचारी कार्यालयमा आलोपालो उपस्थित भई कार्य सम्पादन गर्ने र बाँकी कर्मचारीलाई सुरक्षित रुपमा घरबाटै सम्पादन गर्ने गरी ‘वर्क फ्रम होम’ तथा उपयुक्त मोडल अपनाएर कार्यसम्पादन गराउन निर्देशन दिएको छ।
सम्भव भएसम्म व्यक्तिगत भेटघाट एवं सेवा प्रवाह विद्युतीय माध्यमबाट गर्न थप प्रोत्साहित गर्न र अत्यावश्यक बाहेकका सबै प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट नगर्न राष्ट्र बैंकले सूचित गरेको हो।
बैंकिङ सेवा प्रवाहका क्रममा कर्मचारीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीसहित सुरक्षा प्रबन्धको अनिवार्य व्यवस्था गरी कार्यस्थलको सुरक्षामा कुनै कमी नरहने व्यवस्था गर्न निर्देशन दिइएको छ।
बैंक तथा वित्तीय संस्थाले कोभिड-१९ सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि एक कोभिड-१९ सुरक्षा व्यवस्थापन समूह गठन गर्नुपर्ने भएको छ।
कोभिड-१९ बाट संक्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थित रुपमा घर, अस्पताल वा होटलमा आइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च बैंक तथा वित्तीय संस्थाले व्यहोर्नुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ।
संक्रमितको सम्पर्कमा आएका वा कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई आवश्यकतानुसार घर वा होटलमा क्वारेनटाइनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च बैंक तथा वित्तीय संस्थाले बेहोर्नुपर्नेछ।
आइसोलेसन तथा क्वारेन्टाइनमा बसेका संक्रमित/कर्मचारीको पिसीआर परीक्षणको नतिजा नेगेटिभ आएपश्चात् मात्र कार्यालय आउने व्यवस्था गर्नु पर्नेछ।
बैंक तथा वित्तीय संस्थाले अत्यावश्यक परी इलाका बाहिर खटाएका कर्मचारी संस्थामा फर्कदा पिसीआर टेष्ट गराउने र नतिजा नेगेटिभ आएपश्चात् मात्र कार्यालय आउने व्यवस्था गर्नु पर्नेछ। कर्मचारीको पिसीआर परिक्षण गराउन लाग्ने सम्पूर्ण खर्च बैंक तथा वित्तीय संस्थाले व्यहोर्नु पर्नेछ।
आइसोलेसनमा बसेका कर्मचारीलाई आइसोलेसनमा रहने समयावधिमा तलबसहितको अतिरिक्त बिदाको व्यवस्था गर्ने तथा क्वारेन्टाइनमा बसेका कर्मचारीलाई क्वारेन्टाइनमा रहने समयावधिमा वर्क फ्रम होमको व्यवस्था गर्नु पर्नेछ।
कर्मचारीको हाजिरीमा अतिरिक्त बिदा र वर्क फ्रम होमको उल्लेख गर्ने व्यवस्था मिलाउनु पर्नेछ। समुदायस्तरमा कोभिड–१९ संक्रमण फैलिई महामारीको विशेष अवस्था आइपर्न सक्ने परिस्थिति समेतलाई आँकलन गरी बैंक तथा वित्तीय संस्थाका अत्यावश्यकीय कार्यको निरन्तरताका लागि विस्तृत कार्ययोजनासहितको कन्टिजेन्जी योजना तयार गर्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।