काठमाडौं–लुम्बिनी विश्वविद्यालयमा एलएलबी प्रथम वर्षमा अध्ययनरत खड्क जैशी उनी लकडाउन हुने भएपछि गत चैतमै रुपन्देहीबाट आफ्नो घर हुम्ला पुगेका थिए। हवाइ र स्थलमार्ग दुबै बन्द भएपछि उनी फर्कन पाएका छैनन्।
तर विश्वविद्यालयले भदौ १ गतेबाट परीक्षा लिने भएपछि उनी तनावमा छन्। परीक्षा छुट्ला भनेर डराइरहेका छन्। ‘प्लेन उडेको छैन, गाडी पनि चलेको छैन परीक्षा हुने भएछ,’ जैशीले भने, ‘परीक्षा दिन कसरी जाने, परीक्षा किन गरिएको हो, बुझेको छैन।’
कपिलवस्तुका दिपेन्द्र कुर्मी बल्लबलाई पनि परीक्षा हुने कुराले पिरोलेको छ। विश्वविद्यालय उनी बसेको स्थानबाट ६० किलोमिटर पर छ। ‘मसँग कुनै साधन छैन छिमेकी नगरपालिकामा निषेधाज्ञा गरिएको छ, केही साथी क्वारेन्टाइनमा बसेका छन्,’ कुर्मीले भने, ‘यस्तो त्रासका बीच विश्वविद्यालयले परीक्षा लिने भनेको छ, कसरी जाने हो?’
सरकारले परीक्षा सञ्चालन कार्यविधि २०७७ ल्याएको छ, जसमा परीक्षा सञ्चालन गर्दा मिति, स्थान र समय एक हप्ताअघि नै भन्नुपर्ने, परीक्षा केन्द्रभित्र प्रवेश गर्नेले मास्क र पञ्जा लगाउनुपर्ने, परीक्षा हललाई नियमित स्यानीटाइज गर्नुपर्ने, भिडभाड हुन नदिने र फोहोरको उचित व्यवस्थापन गर्नेलगायतका कुरा उल्लेख छन्।
सरकारले यस्तो कार्यविधि ल्याएपछि परीक्षा सञ्चालन गर्न सकिने निणर्यमा पुगेको रजिस्ट्रार तिलक आचार्यले बताए। ‘परीक्षा लिने भनेका विद्यार्थी जम्मा सय जना छन्,’ आचार्यले भने, ‘परीक्षाको मापदण्ड पुर्याएर परीक्षा लिने तयारी गरेका छौँ।’
बिटिटिएम प्रथम वर्षमा अध्ययनरत एक छात्रा विश्वविद्यालयले एकतर्फी रुपमा परीक्षा लिने निर्णय गरेर विद्यार्थीमाथि अन्याय गरेको बताउँछिन्।
‘उपकुलपति, रजिस्ट्रारले हाम्रो कुरा सुन्नुभएको छैन,’ ती छात्राले भनिन्, ‘हामीसँग छलफल नै नगरि विद्यार्थीले नपढेर परीक्षा दिन नमानेका हुन् भन्नुभएको छ रे क्याम्पसमा गएर परीक्षा लिनुको सट्टा अनलाइन परीक्षा लिए हुन्न र?’
रजिस्ट्रार आचार्य भने विद्यार्थीले अनलाइन कक्षा लिन नमानेका कारण परीक्षा लिन बाध्य भएको दाबी गर्छन्। ‘हामीले एउटा सेमेस्टारको परीक्षा नलिए अर्को कक्षा पढौंभन्दा विद्यार्थी मानेनन्,’उनले भने, ‘केही विद्यार्थीले विरोध गरेका छन् तर परीक्षा भदौ १ गतेबाटै हुन्छ।’
लुम्बिनी विश्वविद्यालयका उपप्राध्यापक सुजन पन्त भने भौतिक रुपमा उपस्थित भएर परीक्षा लिन नहुने बताउँछन्।
‘यस्तो महामारीको बेला न कुनै यातायात चलेका छन् न कुनै स्थानमा जानु नै सुरक्षित छ,’ पन्तले भने, ‘परीक्षा अनलाइनबाट लिएको भए हुन्थ्यो । तर जसरी पनि भौतिक रुपमा विद्यार्थी उपस्थित भएर लिन्छौं भन्नु गलत हो।’
बिटिटिएम प्रथम वर्षका विद्यार्थीहरु आफूहरु परीक्षा दिन तयार भएको तर अनलाइनबाट लिनुपर्ने बताएका छन्। उनीहरुले विश्वविद्यालयसमक्ष प्रत्येक विद्यार्थी, शिक्षक, निरीक्षकको पिसीआर परीक्षण हुनुपर्ने, विद्यार्थीको आवागमनका लागि उचित यातायातको व्यवस्था र यदि परीक्षा सन्चालन गर्दा कुनै विद्यार्थीको स्वास्थ्यमा कुनै प्रभाव वा कोरोनाको संक्रमण देखिएको खण्डमा उसको पूर्ण जिम्मेवारी विश्वविद्यालयले बहन गर्नुपर्ने लगायतका माग राखेका छन्।
विश्वविद्यालयका रजिस्ट्रार आचार्य भने मापदण्ड अनुसार परीक्षा हुन काठमाडौंका विद्यार्थीलाई काठमाडौँमा नै राखेर परीक्षा लिने, हुम्लाका विद्यार्थी ११ गतेसम्म हिँडेर आइपुग्ने हुनाले बुटवल, रुपन्देही कपिलवस्तुतिरका विद्यार्थी परीक्षा दिन तयार हुनुपर्ने बताउछन्। तर हुम्लाका विद्यार्थी खड्क जैशी भने आफूहरु हिँडेर परीक्षा दिन जाने सम्भावना नरहेको बताउछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।