काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले गत मंगलबार एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गरे। ओलीलाई ‘काउन्टर’ दिन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायत पक्षीय नेताहरुले स्थायी कमिटी बैठक चलाए। बालुवाटार बैठक सुरु गर्नुअघि अन्तिम पटक अनुरोध गर्न प्रचण्ड र खनाल ओली भएकै भवन पुगे। आफूले स्थगित गरेको बैठकमा सहभागी हुन ओलीले मानेनन्।
ओली र प्रचण्डबीच भएको अन्तिम भेटघाट त्यही हो। त्यसै दिन बिहान महासचिव विष्णु पौडेल प्रचण्ड भेट्न खुमलटार पुगेका थिए। ‘भेटमा प्रचण्डले उहाँ (केपी ओली)ले आफ्नो अडान छोड्नु हुन्न। मिल्ने कुरै गर्नुहुन्न, वान टु वान संवाद गर्दिन। अब गर्नै परे सामूहिक छलफल गर्छु भन्ने जवाफ फर्काए,’ प्रचण्डनिकट एक नेताले भने।
लगत्तै पौडेल प्रचण्डको सन्देश लिएर बालुवाटार पुगेपछि ओलीले पौने ११ बजे स्थायी कमिटी बैठक नै स्थगित गरे। बैठक स्थगित भएको प्रचण्डले बालुवाटार आईपुग्दा नपुग्दै बाटोमा अरु नेताले फोन गरेपछि मात्रै चाल पाए। ‘ओलीको पेलान पार्टीमा कति छ भन्ने त्यो बैठक स्थगितबाट समेत बुझ्न सकिन्छ’ माधव नेपाल निकट एक नेताले भने, ‘अहिले ओलीसँग अरु नेताहरु बिच्केका छन्।’
स्थायी कमिटी बैठक यता अध्यक्षद्वय ओली र प्रचण्डवीच भेटघाट त परको कुरा फोन संवादसमेत नभएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा‘जुगल’ले बताए। ‘दुवै अध्यक्षवीच स्थायी कमिटी बैठकयता फोन संवादसमेत भएको मलाई थाहा छैन,’ सापकोटाले भने, ‘आशा गरौं, छिटै वार्ता होला।’
दुई अध्यक्षवीच संवादहीनताको अवस्था भएपछि शुक्रबार बिहान सात बजे प्रचण्डलाई भेट्न महासचिव पौडेल खुमलटार पुगेका थिए। भेटमा प्रचण्डले ‘प्रधानमन्त्री ओली अब ठोस परिणाम निस्कने गरी छलफलका लागि तयार रहनुपर्ने’ बताएका थिए।
खुमलटार स्रोतका अनुसार प्रचण्डले महासचिव पौडेलमार्फत् ‘अब वान टु वान छलफल गरेर केही नहुने र पार्टीमा थप विवाद चर्काएर पनि केही नहुने तर ठोस परिणाम दिने वार्ता तय गरिनुपर्ने’ सन्देश प्रधानमन्त्री ओलीलाई पठाएका छन्।
शुक्रबारसम्म सहमतिको प्रस्ताव लिएर पौडेल खुमलटार पुग्न सक्ने बताइएको छ। पछिल्ला दिनमा महासचिव पौडेलले ओली–प्रचण्डबीच विश्वासको वातावरण बनाउनमात्र होइन विवाद हुँदा पुलको काम गर्दै आएका छन्।
प्रचण्डले आफूनिकट नेताहरुसँग ओलीले सके दुई पद, नभए एक पदबाट राजीनामा दिनुपर्ने बताउने गरेका छन्। पार्टीभित्रको मौजुदा विवादमा कसरी सहमति गर्ने भन्नेबारे केपी ओली नै गम्भीर बन्नुपर्ने धारणा प्रचण्डको छ। सहमति कायम गर्न ओलीले कस्तो प्रस्ताव दिन्छन् भन्ने प्रतीक्षामा छन्, प्रचण्ड।
तर विवाद र अपेक्षाको आयाम ओली र प्रचण्डसँग मात्र जोडिएको छैन। यसमा माधव नेपाल पनि त्यत्तिकै प्रभावशाली छन्। ओलीले ल्याउने कुनै पनि प्रस्तावमा प्रचण्ड–नेपालपक्षीय नेताहरु एक मत नहुँदासम्म निकास निस्कने सम्भावना भने कम छ। बल ओलीकै कोर्टमा भएकाले सहमतिका लागि उनैले ढोका खोल्नु पर्र्ने प्रचण्ड–नेपाल पक्षको तर्क छ।
पार्टीमा दोस्रो र तेस्रो तहका नेताहरुले सहमति गराउन प्रयास नगरेसम्म ओली र प्रचण्डबीच भेटेरै संवाद गर्ने स्थिति कम देखिएको छ। ‘नयाँ अवधारणा या एउटा निकासको रुपरेखा नबनेसम्म दुई अध्यक्षबीच भेटवार्ता होला भन्ने लाग्दैन,’ ओलीपक्षीय एक नेताले नेपाललाइभसँग भने, ‘यसमा महासचिव पौडेलको मात्र नभएर तीनै पक्षका दोस्रो तहका नेताहरुले अध्यक्षहरुलाई छलफलका लागि दबाबको अवस्था सृजना गर्न सक्छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।