काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका सुनील थापालाई वृहत सभामार्फत् पार्टी भित्र्याउने कांग्रेसको इच्छा अधुरै रहेको छ। लकडाउनअघि नै कांग्रेस प्रवेश गर्न चाहेका उनलाई सुम्पिने पदीय जिम्मेवारीको सहमति नहुँदा पर सर्दै आएको थियो।
कोरोना संक्रमणले बृहत सभा गर्न असम्भव भएपछि छिटो छरितो ढंगले थापालाई कांग्रेस प्रवेश गराइएको छ। केन्द्रीय कार्यालयमा आयोजित प्रवेश कार्यक्रममा प्रत्यक्ष हेर्न पुगेका कार्यकर्ता हलमा प्रवेश गर्न पाएनन्। कोरोना संक्रमणले गर्दा सामाजिक दूरी कायम गर्नका लागि सिमित व्यक्तिलाई हलमा प्रवेश गराइएको थियो। पदाधिकारी,केन्द्रीय सदस्य र पत्रकार बाहेकका अन्यलाई प्रवेश कार्यक्रममा प्रवेश दिइएन।
राप्रपा परित्याग गरेर कांग्रेसमा प्रवेश गर्नेलाई बृहत कार्यक्रममार्फत् भित्र्याउन असम्भव भएको कार्यक्रमको सुरुवात गर्दै मूख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए। सीमित व्यक्तिलाई केन्द्रीय कार्यालयमा प्रवेश गराएर अन्यलाई जिल्लामै हुने कार्यक्रमबाट भित्र्याउने बताए। उनको दाबीअनुसार थापा निकटका हजारौं कांग्रेसमा प्रवेश गर्नेछन्। मंगलबार १३ जनालाई कांग्रेसमा प्रवेश गराइएको छ। थापासहितका १३ जनालाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी सदस्यता मंगलबार वितरण गरे।
टिका लगाई मंगलबार भित्र्याइएका पूर्व राप्रपाका उच्च तहका नेता भएको जानकारी गराइएको थियो। केन्द्रीय कार्यालयमा अनुपस्थित अन्य केही व्यक्तिको नाम पनि वाचन गरेर पौडेलले सुनाए। वाचित नामहरु पूर्व राप्रपाका केन्द्रीय र जिल्ला तहका व्यक्ति भएको उनले बताए। थापासँगै कांग्रेसमा प्रवेश गर्नेमा अधिकांश झापा र मोरङका रहेको बताइएको छ।
प्रवेश गर्ने समूहका नाइके थापालाई सहमहामन्त्री दिने सहमति बनिसकेको बताइएको छ। तर, प्रवेश गर्ने क्रममा पदीय भूमिका भने खुलाइएको थिएन।
उनका समूहका अन्य पाँच नेताले केन्द्रीय सदस्य पाउने भएका छन्। आगामी केन्द्रीय समिति बैठकमा देउवाले नवप्रवेशीलाई प्रदान गरिने जिम्मेवारीको प्रस्ताव लैजाने भएका छन्। केन्द्रीय समिति बैठकले सभापति देउवाको प्रस्ताव अनुमोदन गर्ने उपसभापति विमलेन्द्र निधिले जानकारी दिए।
थापाको समूहलाई प्रवेश गराउने कार्यक्रममा अधिकांश पदाधिकारी र केन्द्रीय सदस्य उपस्थित थिए। कोषाध्यक्ष सीतादेवी यादव, प्रवक्ता विश्वप्रकाश शर्मा कार्यक्रममा देखिएनन्। साथै पूर्वपदाधिकारीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह पनि कार्यक्रममा उपस्थित थिएनन्। तेश्रो धारको नेतृत्व गरेका सिटौला पक्षका केन्द्रीय नेताहरु थापालाई स्वागत गर्ने कार्यक्रममा देखिएनन्।
थापा पक्षबाट कार्यक्रममा १६ जना प्रवेश कार्यक्रममा उपस्थित थिए। तीमध्ये १३ जना टिका र माला लगाएर कांग्रेसको स्वागत पाए। देउवाबाट कांग्रेसको सदस्यता प्राप्त गरेपछि दर्शक दिर्घाबाट थापा कांग्रेस पदाधिकारी भएकै ‘रो’मा स्थान जमाए।
सार्वजनिक कार्यक्रममा थोरै समय बोल्ने गरेका देउवाले नवप्रवेशीलाई स्वागत गर्दा पनि छिटो नै आफ्नो बोली टुंग्याए। कांग्रेसमा प्रवेश गरेकालाई स्वागत गर्दै उनले लोकतान्त्रिक शक्ति बलियो हुनुपर्ने धारणा राखे।
नवप्रवेशी कांग्रेस नेता थापाले आफ्ना बुबा सूर्यबहादुर थापाको अधुरो सपना पुरा गर्न कांग्रेस प्रवेश गरेको सुनाए। बृहत् लोकतान्त्रिक शक्तिको नेतृत्व कांग्रेसले गर्नुपर्ने बुबाको अधुरो सपना पुरा गर्न कांग्रेस प्रवेश गरेको सुनाए। विसं. २०१० अघि आफ्ना बुबा थापा कांग्रेसमै आवद्ध रहेको उनले स्मरण गराए। राप्रपाका संस्थापक नेता थापाले आफ्नो राजनीतिक सुरुवात कांग्रेसबाटै भएको उनले सुनाए। आफ्ना बुबाले धनकुटा र मोरङमा कांग्रेसको राजनीति गरेको उनले राजनीतिक इतिहास सुनाए।
थापाको बोलीमा उपसभापति निधिले सहमति जनाए। राप्रपाका संस्थापक नेता थापा उदारवादी नेता भएको निधिले सुनाए। पूर्व पञ्चहरुको दलले राजावादी धार अंगालेसँगै थापा त्यसप्रति असन्तुष्ट रहेको निधिले बताए। लोकतान्त्रिक शक्तिमा ऊर्जा थप्न थापाको कांग्रेस प्रवेशको विषय धेरै अघिदेखि नै भएको उनले बताए।
नवप्रवेशीबाट बोलेका वृजलाल यादवले उनको प्रवेशसँग कांग्रेस प्रदेश- २ मा पहिलो पार्टी हुने दाबी गरे। जनजाति, मधेसी, अल्पसंख्यकको आवाजकर्ता कांग्रेस नै भएको भन्दै पार्टीको गुणगान गरे।
पार्टीभित्र संस्थापन पक्षबाट पेलिएको अनुभव गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नवप्रवेशीले पार्टीमा सहज महशुस गर्ने अपेक्षा गरे। प्रतिगमनकारी बाटोलाई अस्वीकार गरी कांग्रेस प्रवेश गरेकोप्रति भने उनी खुसी देखिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।