काठमाडौं- चार महिना लामो लकडाउन खुलेसँगै पर्यटन क्षेत्रलाई गति दिन नेपाली सेफहरूले सुरक्षाका मापदण्ड अपनाएर नेपाली मौलिक खानाको प्रदर्शनी गरेका छन्।
लकडाउनका कारण होटल तथा रेस्टुरेन्ट व्यवसाय पूर्ण रूपमा बन्द रहेपछि सेफहरुले मौलिक खानाका नयाँ स्वाद पस्कँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएरे खाना प्रदर्शनी गरिएको हो।
ललितपुरको सातदोबाटोस्थित आइएचएम कलेजमा नेपाली मौलिक खानाको प्रवर्द्धन गर्न करिब ३० जना सेफहरुले विभिन्न जातजातिका १३ प्रकारका रैथाने खाना प्रदर्शनीमा राखेका थिए।
सेफहरुले प्रदेश एकबाट राजवंशी समुदायको भक्का, शेर्पा समुदायको फाल्गी, राई समुदायको किनामा, प्रदेश २ बाट मधेशी समुदायको रैथाने खाना कटिया, प्रदेश ३ बाट नेवार समुदायको चटामरी, आलुतामा र बोडी प्रदर्शनीमा राखिएका थिए। त्यस्तै, प्रदेश ४ बाट आलंखु र काटुङ्ग, प्रदेश ५ बाट ढकनी र कागुनोको खिर तथा ६ नम्बर प्रदेशबाट मार्सी चामलको भात र कोडोको ढिँडो, ७ नम्बर प्रदेशको प्रतिनिधित्व रहने गरी रोटा र चटनीलाई प्लेटिङ्ग गरी प्रदर्शनी गरिएको थियो।
लकडाउनका कारण ग्रामीण पर्यटनमा परेको प्रत्यक्ष असर र त्यसमा पनि होमस्टे व्यवसाय अझै केही समय बन्दै रहने अवस्थाका बीच सेफहरुले मौलिक खानाको स्वादबाट उपभोक्तालाई आकर्षित गर्ने र यसले मौलिक खानाको पनि प्रवर्द्धन हुने सरोकारवालाहरूले विश्वास लिएका छन्।
आइएचएम कलेजसँगको सहकार्यमा ग्लोबल नेप्लिज सेफ फेडेरेसनको आयोजना र हस्पिटालिटी गाइड्सले व्यवस्थापन गरेको कार्यक्रममा नेपाल सरकार, तारागाउँ विकास समितिका होमस्टे प्रशिक्षक रामप्रसाद उपाध्यायले सहभागी सेफ प्रशिक्षकहरूलाई बदलिँदो अवस्थामा होमस्टेको व्यवस्थापन र सेफहरुले व्यवसाय प्रवर्द्धनमा खेल्नुपर्ने भूमिकाबारेमा प्रशिक्षण दिएका थिए।
प्राविधिक शिक्षा तथा व्यवसाहिक तालिम परिषद (सिटिमइभिटी)का पाठ्यक्रम विकास महाशाखाका निर्देशक मिस्टरकान्त मैनालीले नेपाली सेफ प्रशिक्षक र प्रशिक्षार्थी केन्द्रित रहँदै नेपाली मौलीक खानाको बिषयमा छुट्टै पाठ्यक्रम निर्माण गरिरहेको बताए।
त्यस्तै होमस्टे एसोसिएसन अफ नेपालका अध्यक्ष केशव बडालले मौलिक खानाको प्रवर्द्धनले मात्रै होमस्टेलाई अहिलेको अवस्थामा उठाउन मद्दत पुग्ने उल्लेख गरे।
आइएचएम कलेजका संस्थापक सुराच प्रसाईंले नेपाली खानाको प्रवर्द्धन राष्ट्रियतासँग पनि जोडिएकाले यसतर्फ राज्यको ध्यान जान सके ग्रामीण पर्यटनको विकास र विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमै नेपाली खाना संस्कृति र पहिचानलाई स्थापित गर्न सकिने तर्क गरे।
ग्लोबल नेप्लिज सेफ फेडेरेसनका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले कोभिड-१९ ले सबैपक्षको हातेपालो र सहकार्यले मात्रै धर्मराएको ग्रामीण पर्यटन माथि उठ्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।