काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुले अब बस्ने स्थायी कमिटी बैठकमा प्रतिवेदन पेश गर्ने तयारी गरेका छन्।
यसअघि असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा पेश गर्ने एजेण्डामा अध्यक्ष केपी ओली र प्रचण्ड सहमत हुन नसक्दा प्रतिवेदन पेश हुन सकेको थिएन।
पार्टीमा विवाद कायमै भएपछि प्रचण्ड–नेपालपक्षले साउन १३ मा बस्ने स्थायी कमिटीमा प्रतिवेदन पेश गर्ने गरी गृहकार्य थालेको एक स्थायी कमिटी सदस्यले बताए। ‘हामीले अब बस्ने स्थायी कमिटीमा आफ्नोतर्फबाट प्रतिवेदन पेश गर्ने तयारी गरेका छौं,’ ती सदस्यले भने, ‘यसअघि स्थायी कमिटीमा पेश भएका सात एजेण्डासहित अरु विषयमा छलफल गरेर एजेण्डा टुंगो लगाउँछौं।’
तर, प्रतिवेदनमा कुन–कुन एजेण्डा समावेश गर्ने भन्ने विषयमा निश्चित भइनसकेको ती नेताले बताए।
यसअघि स्थायी कमिटी बैठकमा प्रतिवेदन आउन नसकेपछि हलमै बसेर नेताहरुले सात एजेण्डा तय गरेका थिए। जसमा वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकमा दुई अध्यक्षको सम्बोधन, कोभिड-१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताका बाँकी काम,एमसिसी र विविध थिए।
प्रतिवेदनमा नयाँ एजेण्डासमेत समेटेर स्थायी कमिटी बैठकबाट पारित गराउने उनीहरुको रणनीति छ।
अब बस्ने स्थायी कमिटी बैठकमा ‘एक व्यक्ति एक पद’ को एजेण्डासमेत सशक्त रुपमा उठाइने स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए। उनले ओलीलाई पार्र्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा गराउने प्रमुख एजेण्डा भएको बताए।
‘हामीले ओली कमरेडलाई रोज्न लगाएका छौं, पार्टी अध्यक्ष रोज्नुहुन्छ कि प्रधानमन्त्री,’ नेपाल लाईभसँग कुरा गर्दै पन्तले भने, ‘यदि उहाँ(केपी ओली)ले राजीनामा दिनु भएन भने अल्पमत र बहुमतका आधारमा पार्टी कमिटीले निर्णय गरेर अघि बढ्छ ।’
उता प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार आफ्नै निवास हात्तिवनमा प्रचण्ड र नेपाल समूहका विद्यार्थी नेताहरुलाई बोलाएर पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा ब्रिफिङ गरेका थिए। पार्टी एकता गम्भीर संकटमा परेको भन्दै एकताको पक्षमा माहोल बनाउन उनले नेताहरुलाई आग्रंह गरेका थिए। नेतृत्वले लिने लाईनमा स्पष्ट भई तल्लो तहमा माहोल बनाउन श्रेष्ठले आग्रह गरेका थिए।
ओलीको लाईनबाट प्रचण्ड असन्तुष्ट
यसैबीच, नीति र नेतृत्वको तादाम्यता नमिलेको हो कि भन्ने आशंका उत्पन्न हुन थालेको भन्दै अर्का अध्यक्ष केपी ओलीप्रति संकेत गरेका छन्। ४२ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै प्रचण्डले नेकपामा नीति र नेतृत्वको एकरुपता नभएको जस्तो आफूलाई भान भएको बताए।
‘कम्युनिस्ट पार्टीमा नीति र नेतृत्वको एकदम तादाम्यता मिलाईन्छ। नीति र नेतृत्वको लाईनले नै पार्टीले समग्र सरकार चलाउँछ,’ प्रचण्डले भने, ‘नेकपामा नीति एउटा पारित हुने, नेतृत्व अर्को हुने भएको हो कि, आजको समस्याको चुरो हेर्न जरुरी छ ।’
२०१४ सालमा पुष्पलाल र केशरजंग रायमाझीको उदाहरण दिँदै प्रचण्डले नीति र नेतृत्वको तादात्म्यता नमिल्दा त्यो बेला पार्टी दुर्घटनामा परेको बताए। ‘कमरेड पुष्पलालको जनवादी क्रान्तिको नीति भएर पनि राजापरस्त रायमाझी प्रवृत्ति नेतृत्वमा आएको थियो, त्यो अनुभवबाट शिक्षा लिने गल्ती भविष्यमा कहिल्यै गर्नुहुदैन । नीति र नेतृत्वकोवीचको सामञ्जस्यता तादात्म्य होस् यदि त्यस्तो भएन भने २०१४ सालपछिको जस्तै हुन सक्छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।