काठमाडौं- वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६/७६ मा ६ खर्ब ९ अर्ब रुपैयाँले निक्षेप बढाएका छन्। त्यस्तै कर्जा विस्तार भने ४ खर्ब ५ अर्ब रुपैयाँ मात्रै बढाएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष कर्जा विस्तारमा ब्रेक लागेको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष निक्षेप संकलन ४ खर्ब ८ अर्ब रुपैयाँले विस्तार हुँदा कर्जा विस्तार पनि ३ खर्ब ८७ अर्ब रुपैयाँले वृद्धि गरेका थिए। गत वर्ष बैंकहरु कर्जा विस्तारमा आक्रमक देखिएका थिए। जसले गर्दा बैंकमा तरलता अभावले चरम सीमा नाघ्यो।
बैंकहरुबीच निक्षेप तानातान तथा बजारमा बैंक व्याजदर आकाशिदा लगानीकर्ताले विरोध गरे। तर, यस वर्ष लकडाउनले गर्दा कर्जा विस्तारमा ब्रेक लाग्यो। लकडाउन अगाडिदेखि नै नयाँ कर्जाको खासै माग थिएन। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गर्दा उद्योग कलकारखाना तथा व्यवसाय ठप्प भयो। अत्यावश्यक सामग्री बाहेक अन्य सामानको निर्यात हुन सकेन। जसले गर्दा कर्जाको माग हुन नसकेको हो।
५/६ वटा स्थानीय निकाय बाहेक सबैमा वाणिज्य बैंकको उपस्थिति रहेको छ। यसले केहिहदसम्म निक्षेप सुधार गर्न मद्दत गरेको छ। गत वर्षको असार मसान्तसम्ममा वाणिज्य बैंकहरुले ३४ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। गत वर्षको अन्तिम महिनामा मात्रै वाणिज्य बैंकहरुले एक खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।
त्यस्तै गत वर्षमा वाणिज्य बैंकहरुले २९ खर्ब ३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन्। असार महिनामा मात्रै ८६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। आर्थिक वर्षको अन्तिम महिनामा कतिपय व्यवसायीको हिसाब मिलान तथा बैंक आफैंले कर्जा नबिगार्न ऋणीलाई बोलाएर थप ऋण उपलब्ध गराएर सावा र व्याज भुक्तानी गराएका छन्।
व्याज भुक्तानीका लागि दिएको पैसा नै ऋणको रुपमा दिएपछि अन्तिम महिनामा बैंकहरुको कर्जा विस्तार ८६ अर्ब रुपैयाँ देखिएको हो। अर्कोतर्फ गत वर्ष धेरै वटा विकास बैंक वाणिज्य बैंकमा विलय भए। यसले वाणिज्य बैंकको कर्जा विस्तार र निक्षेप संकलन दुवैमा सुधार देखिएको हो।
गत वर्षमात्रै मेगा बैंकले गण्डकी विकास बैंक, सिटिजन्स बैंकले सहयोगी विकास बैंक, प्राइमले कैलाश विकास बैंक र कन्काई विकास बैंक, एनएमबीले ओम डेभलपमेन्ट बैंक, ग्लोबल आइएमईले हाथवे फाइनान्स र कुमारी बैंकले देवः विकास बैंक प्राप्ती गरेका थिए। अन्य संस्थाहरु विलय गराउन पनि वाणिज्य बैंकहरुको कर्जा विस्तार र निक्षेपको सुधारमा यस वर्ष उल्लेख्य मद्दत पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।