एजेन्सी– संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार लेबनानमा इजरायली सैन्य अभियान रोक्न आह्वान गरेका छन्।
दक्षिणी लेबनानमा रहेको संयुक्त राष्ट्र सङ्घको अन्तरिम बल (युनिफिल) को मुख्यालयमा शान्ति सैनिकहरूलाई सम्बोधन गर्दै गुटेर्रेसले भने,“इजरायलको रक्षा बलद्वारा युनिफिल क्षेत्रभित्रको निरन्तर कब्जा र लेबनानी क्षेत्रमा सैन्य कारबाही चलाउनु उल्लङ्घन हो। यो सुरक्षा को लागी एक निरन्तर खतरा हो। उनीहरू रोकिनुपर्छ।”
“हामीले लेबनानी सशस्त्र सेनालाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह जारी राख्नेछौं। अगाडिको बाटो चुनौतिहरूले भरिएको छ,” उनले बताए।
गुटेरेसले हिजबुल्लाह–इजरायल द्वन्द्वको समयमा शान्ति सैनिकहरू विरुद्ध आक्रमणको पनि आलोचना गरे। सबै पक्षहरूले संयुक्त राष्ट्रका कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने आश्वासन दिए।
उनले थपे, “संयुक्त राष्ट्र शान्ति सैनिकहरू विरुद्ध आक्रमणहरू पूर्णतया अस्वीकार्य छन्।”
संयुक्त राष्ट्र प्रमुखले युनिफिलले १०० भन्दा बढी हतियार भण्डार पत्ता लगाएको बताएका छन्। लेबनानी सेनाको पहुँच सुनिश्चित गर्न संयुक्त राष्ट्र सङ्घले सम्बन्धित देशहरूसँग मिलेर काम गरिरहने वाचा गरे।
गुटेरेस औपचारिक भ्रमणमा बिहीबार बेरुत गएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।