काठमाडौं- कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटन तथा नागरिक उड्डयन क्षेत्र हो। यो क्षेत्रमा अनुमानित १६ खर्बभन्दा बढी लगानी रहेको सरकारी आँकलन छ। १६ खर्ब भन्दा बढी लगानी पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले मासिक १० अर्ब रुपैयाँ भन्दा बढी नोक्सानी बेहोर्दै आएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन ७ गतेसम्म यो क्षेत्रमा ४१ अर्बको नोक्सानी हुने आँकलन गरिसकेको छ। साथै यो क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिएका ५० प्रतिशत श्रमिक बेरोजगार भइसेका छन् भने ५० प्रतिशत श्रमिकले केही प्रतिशत तलबमा काम गरिरहेका छन्।
कोभिड–१९ का कारण हवाई र पर्यटन क्षेत्रसँग जोडिने सबै गतिविधि पूर्ण रुपमा बन्द छन्। तारे होटलेदेखि स–साना पर्यटकीय होटल, पत्रयात्रा, जलयात्रा र हिमाल आरोहण सबै बन्द छन्। नागरिक उड्डनय क्षेत्र पनि ठप्प जस्तै भएको छ। फाटफुट केही चार्टर उडान तथा उद्धार उडान मात्रै भएका छन्। यो अवस्था भदौ १ सम्म अझै रहने छ। त्यसपछि भने सरकारले हवाइ उडान आन्तरकि तथा बाह्य खुल्ला गर्ने निर्णय गरेको छ।
उड्डयन क्षेत्रतर्फ पनि सबैभन्दा ठूलो मारमा हेलिकोप्टर कम्पनी परेका छन्। हेलिकोप्टर व्यवसायीका लागि सबैभन्दा राम्रो सिजन यसपटक कोरोनाका कारण बन्द भएको छ।तर उद्धार तथा अत्यावश्यक सामान आयातका केही कार्गो उडान भने भइरहेका छन्। यसरी भएको उडानबाट एयरलाइन्स कम्पनीले आफ्नो लागतसमेत उठाउन सक्ने अवस्था रहेको छैन।
नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको उल्लेखनीय योगदान रहेको छ। आर्थिक वर्ष २०७४/७५ मा नेपालमा पर्यटन क्षेत्रबाट ६७ अर्ब ९ करोड बराबरको विदेशी मुद्रा आर्जन भएको थियो। यस क्षेत्रको आय नेपालबाट हुने कूल वस्तु निर्यातबाट प्राप्त हुने विदेशी मुद्राको अनुपातमा करिब ७२ प्रतिशत रहेको छ भने नेपालको वार्षिक कूल गार्हस्थ उत्पादनमा यस क्षेत्रले करिब ३ प्रतिशतको योगदान छ।
उद्योग विभागको तथ्याङ्क अनुसार नेपालको पर्यटन क्षेत्रमा आर्थिक वर्ष २०७६/०७७ सम्म १५ खर्ब ९५ अर्ब लगानी भएको छ। पर्यटन क्षेत्रबाट करिब ७ लाख २० हजार रोजगारी सिर्जना भएको अनुमान छ। जसमध्ये होटलमा करिब २ लाख, पदयात्रातर्फ करिब १ लाख ५० हजार र बाँकी पर्यटन सम्बद्ध अन्य क्षेत्रमा कार्यरत रहेको अनुमान छ।
हालै पर्यटन क्षेत्रसँग सम्बन्धित ट्रेड युनियनसँग भएको सम्झौता अनुसार श्रमिकले सेवा अवधिको अन्त्यसम्ममा सञ्चित गर्न पाउने ९० दिनबाट कट्टा हुने गरी १ महिनासम्मको तलबी छुट्टी आलोपालो मिलाइदिने निर्णय भइसकेको छ। साथै होटल संघ नेपालले त सबै होटल ६ महिना बन्द गर्ने र कर्मचारीलाई १२ दशमलब ५ प्रतिशत मात्रै तलब दिने निर्णय गरेका थियो। उक्त निर्णयमा कर्मचारीको विवरोध भएपछि व्यवसायीले अप्रिले १३ देखि डिसेम्बर ३१ सम्म न्यूनतम ४३ सय देखि १० हजार रूपैयाँ होटलमा काम गर्ने मजदुरले पाउने गरी कर्मचारी र व्यवसायी बीच सहमति भएको छ।
यसैगरी हवाई सेवा प्रदायक कम्पनीहरुले कर्मचारी कटौतीदेखि बेतलबी बिदामा राख्ने कामसमेत गरेका छन्। देशकै सबैभन्दा बढी बजार हिसा ओगट्न सफल बुद्ध एयरले पनि कर्मचारको तलब १० देखि ४० प्रतिशतसम्म्म कटौती गरेको छ।
बुद्ध एयरले तल्लो तहमा रहेर काम गर्ने तथा कम तलब खानेको १० प्रतिशितदेखि माथिल्लो तहमा रहेर काम गर्नेको तलब ४० प्रतिशत काटेको एयरका मालिक विरेन्द्र बहादुर बस्नेत स्वीकार गर्दै आएका छन्।
कोभिड १९ कै कारण निर्माणका चरणमा रहेको तारे होटल तथा भर्खरै मात्रै सञ्चालनमा आएको होटल तथा रेष्टुरामा पनि प्रत्यक्ष प्रभाव परेको छ। कोभिडकै कारण सरकारले पर्यटक भिसा बन्द गरेको छ। पर्यटन आगमन तत्काल सुरु हुने अवस्था पनि छैन। पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमार्फत आर्जन हुने विदेशी मुद्रा विदेशी नागरिकबाट नै प्राप्त हुने हो। अहिले यो क्षेत्रबाट विदेशी मुद्रा आर्जन शून्य भएको छ।
पर्यटकीय भिसा दिने कार्यबन्द भएसँगै नेपाल आउने पर्यटकको संख्या शून्य नै भएको छ। पर्यटकीय भिसा अगस्ट १ तारेख अगाडि खुल्ने अवस्था छैन भने अन्तर्राष्ट्रिय उडान पनि दसैँ अगाडि खुल्ने अवस्था छैन। जसका कारण यो क्षेत्रमा अझै ठूलो प्रभाव पर्ने आँकलन गरिएको छ।
पर्यटन आगमनको अवस्था
सन् २०१९ मा करिब १२ लाख पर्यटक नेपाल आएका थिए। सन् २०१९ को जनवरी, फेब्रुअरी र मार्चमा क्रमशः ८१ हजार २ सय ७३, ९८ हजार २ सय ७ र १ लाख २७ हजार पर्यटक नेपाल आएका थिए। तर, कोरोनाको सन्त्राससँगै सन् २०२० को जनवरी, फेब्रुअरी र मार्च महिनाको १४ तारिकसम्मम क्रमशः ७९ हजार ३ सय ५५, ९८ हजार २ सय ०७ र २४ हजार १ सय ५० पर्यटकको नेपाल आगमन भएको छ।
कोरोनाको प्रभावका कारण २२ मार्च २०२० पछि अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाइएकोले त्यसपछि विदेशी पर्यटक आगमनको संख्या शून्यमा झरेको छ। उक्त प्रतिबन्ध कहिलेबाट खुल्ने निश्चित छैन। आन्तरिक तथा बाह्य उडानमा प्रतिबन्ध लागेको अवस्था कायमै छ।
नेपालको अर्थतन्त्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा महत्वपूर्ण योगदान रहेको पर्यटन क्षेत्रको दीर्घकालीन विकासको लागि कम्तीमा २० लाख पर्यटक वार्षिक रूपमा भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्ष २०२० को अभियान प्राथमिकताका साथ सुरुवात भएको थियो। जुन अहिले स्थगित भइसकेको छ।
पर्यटन क्षेत्रमा परेको नकारात्मक असर र त्यसको न्यूनीकरणका लागि वायुसेवा संघ, पर्यटन व्यवसायी र सम्बद्ध छाता संगठनहरूले विभिन्न समयमा राहत र पुनर्स्थापनाका मागहरू सरकारसमक्ष राख्दै आएका छन्। तर, व्यवसायीको विषयमा खासै सम्बोधन भएको छैन। त्यसमा पनि तारे होटलको हकमा केही छुट तथा राहतका कार्यक्रम आएको छैन।
सरकारले अहिलेसम्म यो क्षेत्रको पुनरुत्थानका लागि भन्दै आगामी आवको बजेट मार्फत यो क्षेत्रका मजदुरका लागि सहुलियत दरको ऋण उपलब्ध गराउने भन्दै ५० अर्बको कोष खडा गरेको छ। यसबाहेक नागरिक उड्डनका क्षेत्रमा पनि केही छुटको कार्यक्रम ल्याएको छ।
होटलको अवस्था
नेपालको पर्यटन क्षेत्रमा होटल व्यवसायको एक प्रमुख स्थान रहेको छ। हालसम्म नेपालमा तारेस्तरका १ सय ३८ र पर्यटकस्तरका १ हजार १५१ गरी जम्मा १ हजार २ सय ८९ होटल रहेका छन्। उक्त होटलहरुमा रहेको बेड संख्या ४४ हजारभन्दा बढी छ।
नेपाल होटल संघबाट प्राप्त तथ्यांकअनुसार नेपालमा यस व्यवसायमा करिब १४ खर्ब ३० अर्ब लगानी रहेका छ। होटल व्यवसायमा विभिन्न वाणिज्य बैंकहरुको ऋण लगानी १३ अर्ब ८७ करोड, होटलले तिर्ने मासिक ब्याज ५४ करोड ४४ लाख रहेको छ।
यस व्यवसायमा कार्यरत मजदूरको मासिक रुपमा तलब सुविधा वापत ८५ करोड २२ लाख रुपैयाँ खर्च हुने गरेको तथ्यांक छ। नेपालमा घरबहालमा लिएर सञ्चालन भएका होटलहरूले मासिक रूपमा १९ करोड ५७ लाख घरभाडा तिर्ने गरेका छन्।
नेपालका होटलहरूको सन् २०१९ मा अकुपेन्सी ७५ प्रतिशत (पहिलो ८ महिनामा ७२ प्रतिशत, पछिल्लो ४ महिनामा ८० प्रतिशत) रहेको थियो। यस्तो अकुपेन्सी सन् २०१९ को जनवरीमा ५८ प्रतिशत, फेब्रुअरीमा २० प्रतिशत र मार्चमा ८२ प्रतिशत थियो। सन् २०२० को अवस्था हेर्दा जनवरीमा ५० प्रतिशत, फेब्रुअरीमा २० प्रतिशत र मार्च १५ सम्म २० प्रतिशत मात्र रहेको थियो। होटल क्षेत्रअहिले पूर्ण रुपमा बन्द छ।
पर्वतारोहण तथा पदयात्राको अवस्था
पर्वतारोण तथा पदयात्रा पूर्ण रुपमा बन्द छ। पदयात्रा तथा पर्वतारोहणका लागि सबैभन्दा राम्रो मानिने बसन्त सिजन अप्रिल, मे तथा जुन नै हो। कोरोनाका कारण यो सिजनका लागि पर्वतारोहण तथा पदयात्राको अनुमति पूर्ण रुपमा खारेज भएको छ। जसका कारण यो क्षेत्र सुनसान हुन पुगको हो। जसले व्यवसायीको आम्दानी शून्य छ। यो क्षेत्रमा संलग्न मजदूरको रोजगारी गुमेको छ भने सरकारले पनि राजस्व गुमाएको छ।
आर्थिक ०७५/०७६ मा पर्यटन विभागबाट पर्वतारोहणबाट ५५ करोड ५५ लाख राजस्व संकलन भएको थियो। यसमा पहिलो ८ महिनामा १० करोड ७५ लाख र पछिल्लो ४ महिनामा ४४ करोड ८० लाख रहेको थियो। चालू आर्थिक वर्षको पहिलो ८ महिनामा ७ करोड १६ लाख राजस्व असुली भएको छ भने कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको फागुन २९ को निर्णयबाट यस अवधिको पर्वतारोहण अनुमति जारी नगर्ने निर्णय भएको थियो। यो निर्णय आजको दिनसम्म पनि यथावत नै रहेको छ।
आर्थिक वर्ष ०७५/७६ मा नेपाल पर्यटन बोर्डमार्फत टिम्स कार्डबाट पदयात्रा वापत १९ करोड ७१ लाख संकलन भएको थियो। यसमा पहिलो ८ महिनामा १० करोड ६० लाख र पछिल्लो ४ महिनामा ७ करोड ११ लाख रहेको थियो। चालू आर्थिक वर्ष २०७६/०७७ को पहिलो ८ महिनामा ९ करोड ६६ लाख असुली भएको छ भने फागुन ७ देखि पदयात्रा अनुमतिसमेत जारी गरिएको छैन।
नेपाल पर्यटन बोर्डबाट संकलन गरिएको तथ्यांक अनुसार नेपालको पर्वतारोहण तथा पदयात्रामा करिब ९० हजार मजदूर कार्यरत छन्।
पर्यटक यातायातको अवस्था
कोभिड–१९ का कारण पर्यटक यातायातको क्षेत्र पनि ठप्प छ। पर्यटक यातायाततर्फ करिब १ अर्ब ५७ करोड लगानी रहेको आँकलन सरकारको छ। बैंक ऋण ७१ करोड रहेको तथा करिब २ करोड ४ लाख मासिक किस्ता छ। यसैगरी र्याफ्टिङतर्फ करिब १० करोड ९६ लाख लगानी रहेको, बैंक ऋण ३ करोड २६ लाख रहेको र करिब ४ लाख २९ हजार मासिक किस्ता रहेको छ।
नेपाल पर्यटन बोर्डबाट संकलन गरिएको तथ्यांक अनुसार ट्राभल र टुर व्यवसायमा करिब पचास करोड लगानी रहेको छ। यस क्षेत्रमा करिब ४८ करोड ५० लाख रुपैयाँ बैंकहरुको लगानी रहेको छ भने मासिक करिब १ करोड ऋण भुक्तानीको मासिक किस्ता रहेको छ। यसका क्षेत्रसँग जोडिएको एक लाख भन्दा बढी मजदूरले अहिले रोजगारी गुमाएका छन्।
नागरिक उड्डयन क्षेत्रको अवस्था
कोभिड– १९ का कारण नेपालको नागरिक उड्डयन क्षेत्र पनि बढी प्रभावित मध्ये एउटा क्षेत्र हो। विश्वव्यापी महामारीको रुपमा देखिएको कोभिड–१९ को कारणबाट नेपाललगायत विश्वका नागरिक उड्डयन क्षेत्र सबैभन्दा प्रभावित भएको छ। नेपालको नागरिक उड्डयन क्षेत्रमा निजी क्षेत्रको मात्र करिब १ खर्ब लगानी रहेको छ। नेपालको आन्तरिक उड्डयन क्षेत्रमा मात्र मासिक करिब ४ अर्ब घाटा यस अवधिमा भइरहेको पूर्वानुमान रहेको छ। आन्तरिक उड्डयन गर्ने ९ वटा हवाई सेवा कम्पनी र ९ वटा हेलिकोप्टर सेवा कम्पनी रहेको एवं अन्तर्राष्ट्रिय उडानतर्फ ३ वटा हवाई सेवा कम्पनी रहेका छन्।
त्यस्तै नेपालका हवाई कम्पनीहरूका अन्तर्राष्ट्रिय उडानका लागि २ वटा वाइडबडी (ए३३० स्तरका) र ६ वटा न्यारोबडी (ए३२० स्तरका) रहेका छन्। त्यसैगरी आन्तरिक उडानका लागि ५३ वटा फिक्स विङ ट्रंक रुटमा ३४ वटा टर्वो तथा जेट जहाज रहेका छन्। यसैगरी १९ वटा स्टोल र ३३ वटा हेलिकोप्टर रहेका छन्। कूल सिट क्षमता अन्तर्राष्ट्रियतर्फ १ हजार ४ सय ९६ र आन्तरिकतर्फ ७ सय ९७ रहेको अवस्था छ।
नेपालको नागरिक उड्डयन क्षेत्रको आन्तरिकतर्फ करिब १६ प्रतिशत र अन्तर्राष्ट्रियतर्फ ५ प्रतिशत औसत यात्रु वृद्धिदर भइरहेको थियो ।सन् २०१९ मा अन्तर्राष्ट्रिय उडानतर्फ करिब ४१ लाख ३८ हजार ४ सय ८२ संख्याले आवतजावत गरेका थिए।
साथै आन्तरिकतर्फ सन् २०१९ मा ३१ लाख ८८ हजार ४ सय ८९ संख्यामा आवतजावत भएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणको चालू आर्थिक वर्षमा करिब १२ अर्ब ६५ करोड आम्दानी गर्ने अनुमान गरेकोमा हालसम्मको अवस्थामा ६अर्ब न्यून हुने भएको छ। प्रतिबन्धको अवधि बढ्दै गएमा प्राधिकरणको आयमा थप कमी आउने देखिन्छ।
नेपाल एयरलाइन्स
राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)मा कोभिड–१९ कै कारण आर्थिक संकट उत्पन्न भइसकेको छ। मासिक साढे एक अर्ब भन्दा बढी आम्दानी गर्ने नेपाल वायुसेवा निगमको आम्दानी कोभिड– १९ कै कारण ९५ प्रतिशत भन्दा कम भएको छ। यद्यपी सरकारले विदेशी रहेको नेपालीको उद्धार सुरु गरेसँगै केही आम्दानी भने गरेको छ। तर, यसरी गरेको आम्दानीबाट कर्मचारीलाई तलब खुवाउनसमेत नसक्ने अवस्थामा निगम पुगेको छ।
नेपाल एयरलाइन्समा १४ सय भन्दा बढी कर्मचारी रहेका छन्। आर्थिक संकटमा फस्दै गएपछि निगमले पनि करारमा रहेका कर्मचारीहरुलाई आलोपालो प्रणालीमा जागिर दिएको छ।
अघिल्लो आर्थिक वर्ष कुनै समस्या नहुँदासमेत नेपाल एयरलाइन्सले २ अर्ब घाटा सहन परको थियो। चालू आवमा एयरलाइन्सको घाटा ४ अर्ब पुग्ने अनुमान गरिएको छ। त्यति मात्रै हैन निगमले जहाज खरिदमा विभिन्न समयमा लिएको ऋणको किस्ता र ऋणको व्याजसमेत तिर्न सकेको छैन। निगमको ऋण मात्रै ४२ अर्ब पुगिसकेको छ।
कोभिड– १९ कै कारण निगमको आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएको छ। प्रभावकारी आन्तरिक उडान गर्न नसकेको निगमलाई झनै कोभिड– १९ ले थलो पार्ने अवस्थामा पुर्याएको छ। नेपाल एयरलाइन्ससँग अहिले २ वटा ए३३० वाइडबडी २ सय ७४ सिट क्षमताको दुई वटा, ए३२० न्यारोबडी १ सय ५८ सिट क्षमताको दुई वटा जहाज छन्। यी ४ वटा जहाज अन्तर्राष्ट्रिय उडानमा प्रयोग भएका छन्। यसैगरी आन्तरिक उडानमा भने ९ वटा जहाज छन्। तर, ४ वटा जहाज मात्रै उडान योग्य छन्। निगमसँग रहेको ४ वटा वाई–१२ जहाज मध्ये एउटा काम नै नलाग्ने अवस्थामा छ भने २ वटा ग्राउन्डेड र एउटा उडानमा रहेका छ। यसैगरी २ वटा एमए ६० जहाज मध्ये एउटा मात्रै उडानमा छ भने ३ वटा ट्विनअटर जहाज मध्ये २ वटा मात्रै उडानमा छन्।
निगमको सबैभन्दा राम्रो आम्दानी मानिएको ग्राउन्डह्यान्डलिङ सेवा पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सेवा बन्दभएसँगै प्रभावित भएको छ। ग्राउन्डह्यान्डलिङबाट मात्रै निगमले वार्षिक ५ अर्ब भन्दा बढी आम्दानी गर्दै आएको थियो।
पुनरुत्थानमा सरकारले के गर्यो?
कोभिड–१९ का कारण सबै भन्दा बढी प्रभावित भएको क्षेत्रको पुनरुत्थानका लागि सरकारले खासै ठूलो राहत कार्यक्रम ल्याउन सकेको छैन। सरकारले यो क्षेत्रको पुनरुत्थानका लागि पर्यटन तथा नागरिक उड्डन क्षेत्रमा रहेको मजदूरका लागि सहुलियत दरको ऋण उपलब्ध गराउने ५० अर्बको कोष खडा गर्ने निर्णय गरेको छ। तर, व्यवसायीका लागि भने कुनै राहत कार्यक्रम ल्याउन सकेको छैन। तर, उड्डयनको क्षेत्रमा भने केही छुटका कार्यक्रम अगाडि सारेको छ।
पर्यटन तथा हवाइ क्षेत्रमा भएको नोक्सानीको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको थियो। सोही आधारमा अहिले सरकारले नोक्सान अध्ययन गर्न राष्ट्रिय योजना आयोगमा गठित समितिलाई विवरण उपलव्ध गराएको छ।
यसैगरी नेपाल सरकारको बजेट तथा कार्यक्रममार्फत पर्यटन क्षेत्रका कर्मचारी तथा पुनर्कर्जाका लागि पाँच प्रतिशत व्याज दरमा ५० अर्बको कोषबाट ऋण दिने व्यवस्था गरिएको छ। होटलको लागि भ्याट दाखिला गर्ने समयावधि २ महिनाबाट बढाएर चार महिना बनाएको छ।
यसैगरी सरकारले हवाइजहाज पार्किंग शुल्कमा ७५ प्रतिशत बहाल आयमा छुट र इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन नेपाल सरकारसमक्ष सिफारिश गरेको छ। प्राधिकरण तथा नेपाल पर्यटन बोर्डलाई तिर्ने रकमको अवधि बढाइएको र सो अवधिमा रकम नबुझाएमा लाग्ने थप दस्तुर वा जरिवाना मिन्हा गरेको गरको छ।
साथै लकडाउन अवधिमा लाग्ने डिमरेज चार्ज छुटसमेत दिने सरकारी निर्णय छ।
यसैगरी, बजेटबाट पुनरुत्थानको कार्यक्रम र दिगो पर्यटन विकासका अवधारणामा काम गर्न २० करोडको बजेट व्यवस्था गरिएको छ । होटल रेष्टुरेण्ट तथा पर्यटन क्षेत्रका विभिन्न निकायमा व्यावसाय पुन सुरू गर्दा अपनाउने स्वास्थ्य सुरक्षा प्रोटोकल जारी पनि सरकारले गरेको छ। वायुसेवा कम्पनीले लकडाउनका कारण उडान हुन नसकी रद्द गरेका टिकटको रकम फिर्ता गरिदिन नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत सहजीकरण गर्ने काम भइरहेको छ।
के भन्छन् विज्ञ?
साना वायुसेवा कम्पनीको अस्तित्व समाप्त हुनसक्छ : सन्जीव गौतम
पूर्व महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको प्रकोप विश्वका सबै महादेशमा फैलिएपछि यसलाई महामारीको रुपमा घोषणा गर्यो। कोरोना भाइरसको जोखिम न्यूनिकरण र संक्रमण नियन्त्रणका लागि विभिन्न राष्ट्रहरुले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान अधिकांशले बन्द गरे कतिपयले उडानव्यापक कटौती गरे।
अहिले कतिपय देश उडान सुरु गरिसेका छन् त कतिपय उडान तयारीमा रहेका छन्।
नेपालमा पनि अहिले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान बन्द रहेको छ। विस्तार उडान खुलाउने तयारी थालिएको छ। तर, साउन ७ गतेसम्मका लागि भने पूर्ण रुपमा नै बन्द छ।
हवाई सेवाको विकास र विस्तारले विश्वलाई अत्यन्तै नजिक बनाएको छ। विश्वको एउटा कुनाबाट अर्को कुनामा एक दिनभित्र पुग्न सक्ने हालको अवस्थाले मानिस–मानिस बीचको सम्पर्कलाई अत्यन्तै सहज बनाएको छ। सन् २०१८ को अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले प्रकाशित गरेको तथ्यांकअनुसार उक्त वर्ष नियमित उडानबाट हवाई यात्रा गर्ने यात्रुहरुको संख्या ४ अर्ब ३० करोड पुगेको उल्लेख छ।
मानिसहरुको सम्पर्कका कारण सर्ने यस्ता रोगहरु तीव्रगतिमा फैलिने गर्छ। ठूलो संख्यामा मानिसहरुको जमघट र आवतजावतले यसलाई विश्वव्यापी बनाउन मद्दत पुग्ने भएकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले हवाई यात्राको माध्यमबाट यस्तो रोग फैलिन नदिन र सर्न नदिन विभिन्न मापदण्ड तथा सिफारिस बनाएर लागू गरेका थिए।
यसै सन्दर्भमा अन्तर्राष्ट्रिय हवाई यातायात संगठनले कोरोना भाइरसको महामारीको कारण हवाई यातायातमा पर्न सक्ने असरबारेमा प्रारम्भिक विश्लेषण प्रकाशित गरेको थियो। मार्च २ मा अन्तर्राष्ट्रिय हवाई यातायात संगठनले गरेको विश्लेषणअनुसार कोरोनाको प्रकोप बढेको समयको अवस्थामा नियन्त्रण भएमा त्यसबाट वायुयान कम्पनीहरुको ६३ अर्ब अमेरिकी डलर बराबरको राजस्व नोक्सानी हुन सक्ने प्रक्षेपण गरेको थियो। महामारी नियन्त्रण हुनै नसक्ने गरी फैलदै गएमा वायुयान कम्पनीहरुले करिब २ अर्ब अमेरिकी डलर बराबरको राजस्व नोक्सानी हुन सक्ने विश्लेषण भइसकेको छ। नेपालको उड्डयन क्षेत्रमा पनि अहिलेसम्म २५ अर्ब भन्दा बढी नोक्सानी भइसकेको छ भने यो अझै बढने छ।
संकटको पर्यटन लयमा फर्काउन चार ‘स’मूल मन्त्र : दीपकराज जोशी
निवर्तमान सिइओ, नेपाल पर्यटन बोर्ड
दुई सयभन्दा बढी देशमा फैलिएको कोरोना भाइरस महामारीले संसारलाई नै त्रसित बनाएको छ। यो अवस्था कहिलेसम्म कायम रहन्छ, कुनै निश्चित छैन। संसारभरि नै हरेक मानिसको जीवन र जनजीविकाका लागि त्रासमय वातावरण बनेको छ र थुप्रै चुनौती दिनानुदिन थपिँदै गएको आभास हुँदैछ। हप्तौंको लकडाउनले घरभित्रै खुम्चिएको छ जीवन। सामाजिक दुरीको अभ्यासमा कैद छन् सामाजिक, आर्थिक गतिविधिहरु। रआशंका, अनुमान, अपेक्षा र आशाका बीच गुज्रिरहेको छ आजको समय।
हाम्रा लागि स्वास्थ्यको पाटो जति महत्वपूर्ण छ त्यत्तिकै महत्वपूर्ण सामाजिक र आर्थिक पक्ष पनि हो। आशा र प्रार्थना गरौं कोरोनाविरुद्धको भ्याक्सिन वा एन्टीव्याक्टेरियल औषधि छिट्टै बजारमा आओस्। किनभने यो अवस्था नआएसम्म मानिसहरुको मनोबल बढ्ने छैन, सामाजिक आर्थिक गतिविधिमा सक्रिय हुनका लागि। तथापि विश्वास गर्न सकिन्छ कि केही हप्तामा लकडाउन खुकुलो हुँदै जानेछ। केही महिनामा आन्तरिक र क्षेत्रीयरुपमा आवतजावत सुरु हुने छ। सबैभन्दा बढी र प्रत्यक्ष असर यसले पर्यटन उद्योगमा पारेको छ।
जुन एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा र त्यतिखेर गरिने गतिविधिहरुले सृजित हुने अर्थतन्त्र हो। पर्यटनमा सेवा दिंदै व्यवसाय गर्ने होटल, रिसोर्ट, ट्राभल, ट्रेकिङ, र्याफ्टिङ, एयरलाइन्स, रेस्टुरेन्टमा हेर्दा करिब १ खर्ब ६० अर्ब जतिको आय पर्यटन क्षेत्रले गुमाउने अनुमान गरिएको छ।यिनै क्षेत्रमा सेवा दिइरहेका १० लाखभन्दा बढी जनशक्तिको रोजगारमा पनि संकट आएको छ।
खर्बौँको लगानी रहेको पर्यटन उद्योगमा स्थिर सरकार, देशमा बढ्दो विकासवादी मानसिकता, २० लाख पर्यटन भित्र्याउने लक्ष्यसहित अघि बढाइएको भ्रमण वर्ष २०२० अभियान, बढ्दो पूर्वाधारको अवस्थाले यस क्षेत्रलाई निकै उत्साहित बनाएको थियो र ठूलो मात्रामा उत्साहपूर्ण रुपमा लगानी पनि बढिरहेको थियो।
यसैबीच अनपेक्षित रुपले कोरोना भाइरसको महामारी आयो। हरेक संकटको एउटा आयू हुन्छ। कोरोनाभाइरस महाप्रकोपको पनि छ। त्यसैले आउने सिजनबाट पर्यटन पुनरुत्थान गराउन सकिनेमा आशावादी हुँदै केही काम अहिले नै सुरु गर्न सकिन्छ। सुरुवात यस क्षेत्रमा सक्रिय मुख्यतः सरोकारवाला निकायहरुबाट हुनुपर्छ। संकटबाट छिट्टै पुनरुत्थान हुने मन्त्र चार ‘स’को प्रभावकारितामा आधारित छ। त्यो भनेको प्रभावकारी समन्वय, प्रभावकारी सहकार्य, प्रभावकारी सक्रियता र प्रभावकारी सञ्चार नै हो।
यसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मुख्य समन्वयमा सरकारी क्षेत्र, निजी क्षेत्र, प्रादेशिक तथा स्थानीय सरकार, कूटनीतिक नियोगहरु तथा अन्य मुख्य सरोकारवालाबीच सहकार्य तत्काल सुरु हुन आवश्यक छ।
नेपालको पर्यटन उद्योगमा निजी क्षेत्र जेष्ठता, अनुभव, विज्ञता, नेटवर्क, र स्रोतका हिसाबले सरकारी क्षेत्रभन्दा निकै बलियो र व्यापक छ। त्यसैगरी करीब २० वर्षदेखि कार्य सञ्चालनमा ल्याइएको नेपाल पर्यटन बोर्डको विशेषज्ञता र टिम पनि आज ज्ञान र स्रोतका हिसाबले सबल छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र यसअन्तर्गतका नागरिक उड्डयन प्राधिकरण र नेपाल वायूसेवा निगम, पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान लगायतका संस्थाहरु को भूमिका पनि महत्वपूर्ण रहन्छ। पर्यटन उद्योगलाई थप ऊर्जा दिँदै छिटो पुनरुत्थान गर्नका लागि यसमा सरोकार राख्ने सबै निकायसँग सबैको सहकार्य र समन्वय आवश्यक हुन्छ।
यसका साथै अन्य निकायहरु जस्तै राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग, अध्यागमन विभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रकृति संरक्षण कोषजस्ता निकायसंग पनि समन्वय अति आवश्यक हुन्छ। यसै सन्दर्भमा निम्न बमोजिमका मुख्य निकायहरुबाट तत्कालका लागि केही कार्यहरु अघि बढाउन सकियो भने पर्यटन क्षेत्रको पुनरुत्थान छिट्टै गर्न सकिने छ।
(नेपाल आर्थिक पत्रकार समाज सेजनकाे सहयाेगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।