काठमाडौं– सन्दर्भ थियो- कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्ति। नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सोही अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। असार १९ मा भएको कार्यक्रमका प्रमुख अतिथि थिए, पार्टी सभापति शेरबहादुर देउवा। लकडाउनको अवधिमा सार्वजनिक कार्यक्रममा ननिस्केका देउवा पहिलो पटक भ्रातृ संस्थाले गरेको कार्यक्रममा निस्केका थिए।
जसले प्रमुख अतिथि बनाएर देउवालाई बोलाए, उनैप्रति खनिए। प्रमुख भ्रातृ संस्थाको बेथितिमाथि प्रहार गरे। संघले आफ्नो दायित्व पूरा नगरेकोमा उनी कड्किए।
देउवाको प्रस्तुतिमा प्रश्न उठे। सञ्जालमा व्यंग्य गरियो। तर, देउवाले प्रस्तुत गरेका प्रश्नको जवाफको खोजी भने भएन। बरु संघको कार्यक्षमतामाथि प्रश्न उठाएका देउवा नै नै हास्यपात्र बने। ‘गतिहीन’ संगठनकै कारणले देउवाको अभिव्यक्तिको हद त्यो अवस्थामा पुगेको भनी कहीँकतै टिप्पणी भएन। देउवाको शैलीमा प्रश्न उठे पनि संघ निष्प्रभावी भएकोप्रति संस्थापक सभापति विपिन कोइराला समर्थन जनाउँछन्।
नेपाली कांग्रेसको मेरुदण्ड संगठनका रुपमा नेविसंघ परिचित छ। नेविसंघले उत्पादन गरेका नेता पार्टीको जिम्मेवार पदमा पुगेका छन्। पार्टी सभापति देउवा संघको दोश्रो सभापति हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सह महामन्त्री डा प्रकाशशरण महत विद्यार्थी राजनीतिबाट पार्टीमा आएका हुन्। नेताहरु डा रामशरण महत, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, दिलबहादुर घर्ती, बालकृष्ण खाँण, एनपी साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, गगन थापा, किशोरसिंह राठौर, गुरुराज घिमिरे, कल्याण गुरुङ, प्रदीप पौडेल लगायतका नेताहरु पनि नेविसंघकै उत्पादन हुन्।
व्यवस्था परिवर्तनका लागि पहिलो पंक्तिमा खटिएको संघको कन्तविजोग देख्दा देउवालाई चित्त दुख्नु स्वभाविक पनि हो। संगठन भए पनि उर्जा हराउँदै गएको कोइरालाले गुनासो गरे। पदीय जिम्मेवारीका लागि सभापतिको ढोका चहारेर भूमिका पाएकाहरुले आफ्नो दायित्व पूरा नगरेकोमा देउवाको प्रश्न थियो। क्षमता विकास गर्न तत्पर नभएको यो पुस्ताले ‘गरी खान्न’ भन्नेमा देउवा ढुक्क देखिए। संघको दोस्रो सभापति समेत रहेका देउवाले भने, ‘नेविसंघकै राजनीति गरेर म चारपटक प्रधानमन्त्री बनें। तपाईंहरु कोही सक्नुहुन्छ?’
पदका लागि काठमाडौं बस्ने तर संगठन निर्माणमा परिचालिन नहुने प्रवृत्तिप्रति देउवा असन्तुष्ट देखिए। संगठन निर्माणमा गाउँमा परिचालित हुनका लागि दिएको निर्देशनलाई संघका नेता कार्यकर्ताले विगतदेखि पालना गरेका छैनन्। संस्थापक सभापति कोइराला भन्छन्, ‘पहिलेको नेविसंघ र अहिलेको नेविसंघमा आकाश/जमिनको फरक छ।’
राजनीतिक दल प्रतिबन्धको बेलामा स्थापना भएको संघले नै पार्टीको अस्तित्व राखेको कोइराला स्मरण गर्छन्। विगतमा संघका नेता कार्यकर्तामा आदर्शको राजनीति गरे पनि वर्तमानमा आदर्श हराएको उनले टिप्पणी गरे।
व्यवस्था परिवर्तनमा पार्टीको मुख्य शक्तिका नेता कार्यकर्ता नै एकआपसमा भिडेकोप्रति देउवा आक्रोशित देखिन्छन्। देउवाको बोली कतिपय सन्दर्भमा वास्तविक देखिन्छ। गुटको पछि लागेर पद हत्याउन लाग्ने क्रममा संघका कार्यकर्ता आफूआफू नै भिड्दै आएका छन्। केन्द्रीय कार्यालयमै भिडेका उदाहरण प्रशस्त छन्। दायित्वबाट विमुख भएको प्रमुख भ्रातृ संस्था संगठनप्रति असन्तुष्टि राख्दै उनले भने, ‘लाज पनि छैन यार। आज नेविसंघ कहाँ छ?’
संघमा आबद्ध संगठित सदस्य संख्या नेविसंघले एकिन गर्न सकेको छैन। अनलाइन प्रणाली मार्फत सदस्यता वितरण र अद्यावधिक गर्ने क्रममा रहेको महामन्त्री बलदेव तिमल्सेनाले जानकारी गराए। उनले भने, ‘पुरानो सदस्यता संख्याको संख्या करिब साढे सात लाख हो। हालको संख्या अद्यावधिक गर्दैछौं।’
केन्द्रीय तहसम्म गरी १२ तहको संघको कार्यसमिति हुने व्यवस्था छ। ती तहका कार्यसमिति बनिसकेको छैन। स्थानीय तहमा संघको संरचना गठनको जिम्मेवारी जिल्ला कार्यसमितिको दायित्वमा हुन्छ। संगठन निर्माण उच्च माध्यमिक तहमा गठन गर्ने संघको पूर्व घोषित नीति थियो। विद्यालय तहको पछिल्लो वर्गिकरण अनुसारको आधारभूत तहमा संगठन निर्माण गर्ने संघले जनाएको छ। माध्यमिक तहमा विद्यार्थी एजेण्डा सहित संगठन निर्माण गरिने तिमल्सेनाले बताए।
कम्युनिस्टका संगठनले जित्ने परिस्थिति संघकै निष्क्रियताले भएको देउवाको बुझाई छ। विगतका अध्यक्षहरुलाई संगठन निर्माणमा जान दिएको निर्देशन पालना नभएको उनले बताएका थिए। त्यही कार्यशैली वर्तमान कार्यसमितिले पनि दोहोर्याएको प्रति देउवाको चिन्ता थियो। अघिल्लो कार्यसमितिमा रहेका नैनसिंह महरको नेतृत्वलाई संगठन निर्माण गर्न गाउँ जान निर्देशन दिए पनि भूमिका निर्वाह नगरेको उनले सुनाए। अहिलेको कार्यसमितिले पनि संगठन निर्माणमा ध्यान नदिएको उनको गुनासो थियो। संघका महामन्त्री तिमल्सेना कोरोना संकटको बेला संगठन निर्माणमा सक्रिय हुन नसकेको बताए। उनी भन्छन्, ‘रोग संक्रमणबाट बच्नका लागि विद्यालय/क्याम्पस बन्द भएको समयमा संगठन निर्माणमा गर्न सकिने विषय होइन।’
समयमा महाधिवेशन नहुने संघको पुरानै रोग हो। संघको इतिहासमा दुई वर्षे कार्यकाल सकाएर समयमै पद छोड्ने एक्ला उदाहरण हालका प्रवक्ता विश्वप्रकाश शर्मा मात्रै हुन्। पूर्व अध्यक्ष महर रहेको कार्यसमितिलाई पटकपटक समयावधि बढाइए पनि महाविधेशन गर्न सकेको थिएन। अवस्था बनेन। महर नेतृत्वको कार्यसमितिले १८ जिल्लामा अधिवेशन गराएको थियो।
महरलाई ‘अक्षम’ भन्दै हटाएर गठन भएको नयाँ तदर्थ समितिले पनि समयमा महाधिवेशन गर्न सक्ने परिस्थिति छैन। राजीव ढुंगानको नेतृत्वमा गत माघमा गठन भएको तदर्थ समितिले पूर्णता पाउन समेत सकेको छैन। पार्टीका तीन समूहले भागवण्डा गर्ने गरी तदर्थ समिति बनाउने सहमति गरिए पनि संगठनले पूर्णता पाउन भने सकेको छैन। साउन १६ मा ढुंगानाको कार्यसमितिको कार्यावधि सकिदैछ। ‘हाम्रो कार्यकाल थप्ने/नथप्ने विषय त हामीले भन्ने कुरा भएन। विशेष परिस्थितिको मूल्यांकन पार्टीले गर्ला’, तिमल्सेनाले भने, ‘छ महिनाको समयावधि दिइएको थियो। संगठनको पूर्णता पार्टीले गरिदिएन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।