काठमाडौं- चालु आर्थिक वर्षको मौद्रिक नीतिले सेयर बजारलाई उच्च प्राथमिकतामा राखेको छ। सेयर बजारमैत्री गभर्नर महाप्रसाद अधिकारीले लगानीकर्ताको माग सम्बाेधन गर्दै मार्जिन प्रकृतिको कर्जाको सीमा बढाइदिएका छन्।
सेयर धितो राखी प्रदान हुने मार्जिन प्रकृतिको कर्जाको लागि कर्जा सुरक्षण मूल्य अनुपात विद्यमान ६५ प्रतिशतबाट बढाई सम्बन्धित वित्तीय संस्थाले मूल्याङ्कन गरी ७० प्रतिशतसम्म प्रदान गर्न सक्ने व्यवस्था मिलाइएको छ। त्यस्तै सेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयरको मूल्याङ्कन गर्दा विद्यमान १८० दिनको अन्तिम मूल्यको औषत मूल्य वा सेयरको प्रचिलित बजार मूल्यमध्ये जुन कम छ त्यसैको आधारमा गर्नुपर्ने व्यवस्थालाई परिवर्तन गरी १२० दिन कायम गरिएको छ। यस्तो व्यवस्थाले सेयर धितोमा राखेर पाउने कर्जा बढ्नेछ।
गणना विधिमै ५ प्रतिशत सेयर धितोको सीमा बढ्दा लगानीकर्ताले आफूसँग भएको सेयरबाट यसभन्दा अगाडिको भन्दा धेरै पैसा प्राप्त गर्न सक्ने छन्। अर्कोतर्फ गणना विधिमा १८० दिनको औषत मूल्याङ्कनलाई घटाएर १२० दिन बनाइएको छ। यसले तत्कालिन अवस्थामा दोस्रो बजारको मूल्यलाई बढी सम्बाेधन गर्छ। यो व्यवस्थाले बढ्दो क्रममा रहेको बजारबाट बढी लाभ लिन सकिन्छ। तर लगातार घटिरहेको अवस्थामा यस्तो नियमले मूल्याङ्कन कम हुन आउँछ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको व्यवस्थालाई भने कुनै परिवर्तन गरेको छैन। गत वर्षको मौद्रिक नीतिले प्राथमिक पुँजीको २५ प्रतिशतसम्म मार्जिन कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको थियो। साविक ४० प्रतिशतसम्म पाउने व्यवस्थालाई घटाएर २५ प्रतिशतमा झार्दा चर्को विरोध भएको थियो। तर बैंकहरुले तोकिएको सीमाभन्दा धेरै कर्जा प्रवाह गरेको पाइन्छ।
गत वर्षको व्यवस्थाअनुसार पनि बैंक तथा वित्तीय संस्थाहरुले तीन खर्ब २८ अर्ब रुपैयाँ प्राथमिक पुँजी छ। यसको २५ प्रतिशत अर्थात ८२ अर्ब २० करोड रुपैयाँसम्म सेयर बजारमा लगानी गर्ने सक्ने छन्। अहिलेको अवस्थामा सेयर धितो कर्जा जम्मा ४७ अर्ब ६६ करोड रुपैयाँ प्रवाह भएको छ। बैंकहरुले अझै ३४ अर्ब ५४ करोड रुपैयाँ लगानी गर्न सक्ने छन्।
अहिलेको व्यवस्थाले समग्र कर्जा प्रवाह गर्न सक्ने ढुकुटी यथावत गरीएको छ भने लगानीकर्ताले प्राप्त गर्ने सक्ने आकारलाई भने ठुलो बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।