राजविराज– यतिबेला देशैभरि विद्यार्थी भर्ना अभियान चलिरहेको छ। भर्ना अभियान किन पनि चर्चामा छ भने, प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री, मुख्यमन्त्री, नेताहरुले आफ्नो जिम्मा लिएर विद्यार्थीलाई भर्ना गराइरहेका छन्। भर्ना अभियान जारी रहँदा सप्तरीका विपन्न दलित बस्तीहरुमा भने विद्यालय जाने उमेरका धेरै बालबालिका विद्यालयबाहिरै छन्।
सप्तरी सदरमुकाम समेत रहेको राजविराज नगरपालिका ९, मलेठ–गढियाकी १० वर्षीया टिंकु मरिक (पिंकी) वुधबारदेखि विद्यालय जान थालिन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले अभिभाकत्व ग्रहण गर्दै स्थानीय जनता आधारभूत विद्यालयमा उनलाई भर्ना गराए।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेल लगायतले बुधबार भर्ना गराएका बालबालिका विद्यालयमा (बाँया छेउमा टिंकु मरिक)
जगदीश र मिठु मरिककी माइली छोरी टिंकु बिहीबार विद्यालयमै भेटिइन्। साथीहरुसँगै विद्यालयमा पढ्न र खेल्न पाउँदाको खुसी उनको अनुहारमा स्पष्ट देखिन्थ्यो। यसअघि नै विद्यालय जान थालेका भाइहरु रविन (९ वर्ष) र अजय (७ वर्ष) उनका साथै थिए। तर, उनीहरुकी जेठी दिदी १२ वर्षीया रिंकु भने अहिले पनि विद्यालय जान सकेकी छैनन्।‘सबैलाई पढाउन सके त राम्रै हुन्थ्यो,’ मिठु भन्छिन्, ‘तर, सबै पढ्न गए घर–आँगनको काम कसले गर्ने?’
आफू काममा लागेका बेला घरको काम गर्नका लागि रिंकुलाई विद्यालय जानबाट रोक्नुपरेको उनले बताइन्। सबैको पढाइका लागि कापी–कलम र लुगाफाटो पुर्याउने क्षमता पनि नभएकाले जेठी छोरीलाई स्कुल नपठाएको उनको भनाइ छ। विद्यालय भर्ना भएकाहरुको निरन्तरतामा पनि उनले अनिश्चितता व्यक्त गरिन्। ‘घरमा काम नपरुन्जेल र पुर्याउन सकुन्जेल जान्छन्, त्यसपछि घरै बस्छन्,’ उनी भन्छिन्।

भाइबहिनीलाई खाना खुवाउँदै रिंकु मरिक
ऐलानी जग्गामा झुप्रो बारेर बसेका मरिक दम्पती ढकी, नाङ्लोलगायतका बाँसका सामान बनाउँछन् र बिक्री गरेर आएको पैसाले घर चलाउँछन्। मिठु भन्छिन्, ‘अधियाँमा ६ वटा सुँगुर पालेका छौं, रिंकुले नै चराउँछे।’ रिंकुसहितको मेहनतबाट आउने मासिक १०–११ हजार रुपैयाँ कमाइले सिंगो मरिक परिवारको खानपिन तथा पढाइ धानेको छ।

टिंकु मरिकको घर
मेकी वेचन मरिकको अवस्था पनि उस्तै छ। वेचनले जेठी पत्नी सुकनीको निधन भएपछि रिनासँग विवाह गरे। सुकनीतर्फ सुरेश (२०), दिपेन (१६) र मिना (१०) तथा रिनातर्फ धिरेन (५) र सम्झना (२) गरी जम्मा ५ जना छोराछोरी छन्। परिवारमा एउटा सदस्य थपिनै लागेको छ, रिना गर्भवती छिन्। ऐलानी जग्गाको बसाइ तथा ढाकी र सुँगुर पालेर आउने कमाइले छोराछोरी पढाउन नसकेको उनले बताए। वेचन भन्छन्, ‘सधैंभरि खान र लाउनकै लागि टुमटुम भयो, कुनै पनि छोराछोरी पढाउन सकेनौं।’
मिठु र वेचन मात्र होइन, जम्मा ५ घर मरिक परिवारमा १७ बालबालिका छन्। तर, अहिले पनि मुस्किलले ६ जना बालबालिका मात्रै विद्यालय जाने गरेको उनले जानकारी दिए।

वेचन मरिकको घर
मरिक टोलको छेउमै २२ घर सदा बस्ती छ। पूर्वमन्त्री उमेशकुमार यादव, विश्वनाथप्रसाद साह, प्रदेश सांसद रुवी कर्ण र जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले अभिभावत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएका श्यामसुन्दर सदाय (सुन्दर), राजाकुमार सदा, कृपानन्द सदा र सुरजकुमार सदा यसै बस्तीका हुन्।
सदा बस्तीमा करिब ५० बालबालिका छन्। तर, विद्यालय जाने उमेर भएका १५ बालबालिका अझै विद्यालय जान नसकेको स्थानीय अमिरकादेवी सदा बताउँछिन्। उनले पनि जेठी छोरी पुनी (८ वर्ष) लाई विद्यालय भर्ना गरेकी छैनन्। कान्छी छोरी राधिका (६ वर्ष) चाहिँ यसै वर्षदेखि विद्यालय जान थालेको जानकारी दिँदै उनले भनिन्, ‘खर्च पनि छैन, सबैलाई स्कुल पठाएर घरको काम गर्ने मान्छे पनि हुँदैन।’
कक्षा ३ मा पढ्दै गरेका जितेनकुमार सदाले यसै वर्षदेखि विद्यालय छोडे। बाबु कारी सदा बेपत्ता र ३ वर्षअघि भारतको पञ्चाव पुगेकी आमा अनिता सदाले उतै विवाह गरेपछि उनी एक्लिए। ‘बाबु बेपत्ता भएसँगै २ छोरासहित आमाले छोडेर हिँडेपछि यसको बिचल्ली भयो,’ ठुलोबुबा रुपी सदाले भने, ‘अहिले मैले नै रेखदेख गर्दै आएको छु।’
बौकाई र फेकनी सदाका छोरा सुजितले पनि पढाइलाई निरन्तरता दिन सकेनन्। बौकाईको १० वर्षअघि र फेकनीको ३ वर्षअघि निधन भयो। सुजितले पढाइमा ध्यान दिन सकेनन् र विस्तारै विद्यालय जानै छोडे। अहिले उनी मामा मुनेश्वरसँग बसेका छन्, तर उनको पढाइ छुटेको छ।

सदा बस्तीका बालबालिका
मसेवक/हरोदेवी सदाका राजो (७), साजो (५), सोनियाँ (४), पिन्टु (३) र सिम्रन (२) गरी ४ छोरी र १ छोरा छन्। उमेर पुगेका दुई छोरी पनि विद्यालय जान थालेका छैनन्। ‘कुल्ली र ज्यालादारी गरेको पैसा खान लाउनमै सकिन्छ,’ रामसेवक भन्छन्, ‘छोराछोरी पढाउनेतर्फ ध्यान दिनै सकिएन।’
मरिक र सदा टोलमा अन्य थुप्रै यस्ता बालबालिका छन्, जसले आर्थिक अभाव र पारिवारिक समस्याका कारण पढाइबाट वञ्चित हुनुपरेको छ। कसैले विद्यालय टेकेकै छैनन् भने विद्यालय भर्ना भएर पनि रेखदेख नहुँदा कतिपय बालबालिकाको पढाइ बीचमै छुटेको छ। यो समस्या प्रायः दलित बस्तीमा देखिएको राजविराज ९ का वडाध्यक्ष शम्भुप्रसाद यादव (लाली) बताउँछन्। शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीका संयोजक दोलराज पाण्डेले पनि गढियामा ९० प्रतिशत दलित तथा पिछडीएको समुदायको बसोबास रहेको बताएका छन्।

राजविराज ९ का वडाध्यक्ष शम्भुप्रसाद यादव (लाली)
वडा कार्यालयका अनुसर गढिया मात्र होइन, राजविराज ९, मलेठमा मात्रै विद्यालय जाने उमेर पुगेका करिब २ सय बालबालिका विद्यालय बाहिर छन्। वडाध्यक्ष यादव भन्छन्, ‘वडाभरि करिब ७ सय परिवार दलितको बसोबास छ, तिनै परिवारका धेरै बालबालिका विद्यालय बाहिर छन्।’ उनका अनुसार साविकको मलेठ गाविस १ मा खत्वे, ताँती र राम ७०–७५ घर, वडा २ मा डोम ५ घर, वडा ४ मा डोम २ घर, वडा ६ मा डोम र सदा गरी २ सय घर, वडा ७ मा खत्वे, मुसहर र राम गरी २ सय ५० घर दलित परिवारको बसोबास छ।
दलित परिवारमध्ये विद्यालय जाने उमेरका करिब १ सय ५० बालबालिका विद्यालय बाहिर रहेको हुन सक्ने उनको अनुमान छ। ती बालबालिकालाई लक्षित गरी घरदैलो, माइकिङ, चेतनामूलक कार्यक्रम तथा आर्थिक अभावकै कारण भर्नामा बाधा परेको भए आर्थिक सहयोग समेत गर्ने कार्यक्रम सुरु गरिएको वडा कार्यालयले जनाएको छ।

शिक्षा विकास तथा समन्वय इकाई सप्तरीको तथ्यांक अनुसार जिल्लामा कुल १३ हजार ४ सय ३४ बालबालिका विद्यालय बाहिर छन्। यसैगरी, मुलुकका विद्यालय बाहिर रहेका कुल ३ लाख १३ हजार २ सय ७९ बालबालिकामध्ये प्रदश २ मा मात्रै ४९ प्रतिशत (१ लाख ५३ हजार ८ सय ९) रहेको पाण्डेले बताए।

अमिरकादेवी सदाको घर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।