काठमाडौं-महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले रातको समयमा सटर फोडेर सुनचाँदीका पसलबाट गरगहना चोरी गर्ने गिरोहका तीन सदस्यलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका २ घर भएका ३७ वर्षीय सुमित भनिने गंगाबहादुर तामाङ, महोत्तरीको बर्दिबास नगरपालिका ४ घर भएका ४५ वर्षीय बुद्धबहादुर माझी, उदयपुरको रामपुर गाउँपालिका ३ घर भएका ४९ वर्षीय विक्रम भनिने जंगबहादुर माझी छन्। 
केही समयदेखि रातको समयमा काठमाडौं उपत्यकाभित्र विभिन्न सुनचाँदीका पसलहरुमा सटर फोडेर उनीहरुले चोरी गर्ने गरेको पाइएको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए। पछिल्लो समय उनीहरुले लाजिम्पाटस्थित एक सुनचाँदी पसल चोरेर फरार भएका थिए।
कागज–बोतल उठाउने व्यक्तिको हुलिया बनाएर सुनचाँदीका पसलहरुको हप्ता दिनसम्म रेकी गरेर उनीहरुले चोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। यही शैलीमा उनीहरुले गत फागुन १८ गते राति साढे १ बजेदेखि साढे २ बजेको समयमा लाजिम्पाटस्थित दिलीपकुमार श्रेष्ठले सञ्चालन गरेको पबि ज्वेलर्सबाट सुनचाँदीका गरगहना चोरी गरेका थिए। 
उनीहरुले उक्त ज्वेलर्सबाट १ किलो १ सय ५० ग्राम बराबरका सुनका गहना र ८ किलो ५ सय ६० ग्राम बराबरका चाँदीका गहना गरी जम्मा ८५ लाख ८५ हजार ६ सय ४२ रुपैयाँ बराबरको सामान चोरी गरी फरार भएका थिए। चोरेर फरार भएका उनीहरुलाई महाशाखाले मोरङबाट पक्राउ गरेको हो।
यस घटनामा संलग्न अभियुक्तमध्ये एक जना गत चैत ९ गतेबाट केन्द्रीय कारागार सुन्धारामा सजाय भुक्तान गरिरहेको र अर्का दुई भारतीय नागरिक भने फरार रहेको पाइएको छ।
चोरी गर्ने बेला आफ्नो पहिचान खुल्न सक्ने भन्दै उनीहरुले घटनास्थल वरपरको सिसीटिभीसमेत झिकेर लगेको अनुसन्धानबाट खुलेको छ। चोरीमा संलग्नमध्ये दुई वटा समूहबीच जेलमा बस्दा चिनजान भएको र चोरी गर्ने योजना जेलमै बनाएको पाइएको छ। उनीहरु जेलबाट छुटेको एक महिना पनि नबित्दै फेरि चोरी गर्न थालेको पाइएको छ।
‘अब अन्तिम पटक’ भन्दै उनीहरुले चोरी गरेको अनुसन्धानबाट खुलेको महाशाखाका एसपी इश्वर कार्कीले बताए। चोरी कार्य छाडेर डण्डी फर्मा लेबर काममा लागेका, सुध्रिसकेका आफ्ना पुराना साथीहरुलाई अन्तिम पटक भन्दै चोरी कार्यमा लगाएर कम पैसा दिने गरेको अनुसन्धानबाट खुलेको छ। 
५०/५५ वर्षका चोरको समूहले २०/२१ वर्षका केटाहरु प्रयोग गरेर चोरी गर्ने गरेको देखिएको महाशाखाले जनाएको छ। चोरी भएका सामानहरु मुख्य नाइके भारतीय नागरिकले बेच्ने गरेका थिए। उनी भने अझै पक्राउ पर्न सकेका छैनन्।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।