काठमाडौं-लगातार तीन कारोबार दिनमा ८० अंकले सुधार भएको सेयर बजार बुधबार १०.१३ अंकले करेक्सन भएको छ। नेप्से सूचक ०.७९ प्रतिशतले घटेर १३२६.७३ अंकमा झरेको छ। जम्मा १७९ कम्पनीको एक अर्ब ७ करोड रुपैयाँको कारोबार भएको छ। व्यापार र म्युचुअल फण्डको सूचकबाहेक सम्पूर्ण सूचक ओरालो लागेका छन्।
सबैभन्दा धेरै सूर्योदय लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ९.८८ प्रतिशतले कमाएका छन्। नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै २५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ। कम्पनीको सेयर मूल्यमा उछाल आइरहेको छ। अन्य जीवन तथा निर्जीवन बिमा कम्पनीको मूल्यसँग दाँजेर कारोबार हुँदा पुनर्बिमाको सेयरमा बढी आकर्षण देखिएको हो।
हायात होटलका सेयरधनीले सबैभन्दा धेरै ६.९८ प्रतिशतले गुमाएका छन्। कोरोनाको कारणले समग्र अर्थतन्त्र शिथिल हुँदा सेयर बजारमा पनि केही प्रभाव पर्ने आँकलन गरिएको थियो। तर यो क्षेत्र केही समयदेखि लगातार बढिरहेको छ। सेयर बजारको बढ्दो क्रमलाई कोभिड-१९ ले भने रोकेको थियो।
कोभिड–१९ प्रभावकै कारण बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सकेका छैनन्। यसले गर्दा बैंक व्याज घट्ने र केही पैसा सेयर बजारमा आउने विश्लेषणले बजार सुधार भइरहेको छ। तर विगतका दिनमा जस्तो सम्पूर्ण लगानीकर्ता सेयर खरिद बिक्री गर्न सक्ने अवस्थामा छैनन्। यसले गर्दा सूचकमा उतारचढाव आए पनि कारोबार रकममा खासै सुधार आउन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।