काठमाडौं- नेपाल स्टक एक्सचेन्जको संचरनात्मक सुधार गर्न रामकुमारी झाँक्रीको नेतृत्वमा गठित मुद्रा बजार तथा पूँजी बजारसम्बन्धी अध्ययन उपसमितिले सुझाव दिएको छ।
नेप्सेको स्वामित्वमा एउटा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त स्टक एक्सचेन्जको सहभागिता हुँदा धितोपत्र बजार सेवा विश्वासिलो तथा भरपर्दो भई स्वदेशी एवं विदेशी पूँजीलाई आकर्षित गर्न प्रविधि हस्तान्तरण भई आधुनीकिकरण गर्न सहज हुने उपसमितिको निष्कर्ष छ।
यस्तो व्यवस्था विश्वका विभिन्न स्टक एक्सचेन्जहरुले अभ्यासमा ल्याएको र सार्क क्षेत्रमा समेत यस्तो अभ्यासले अनुकुल प्रभाव परेको पाइएको उपसमितिले प्रतिवेदनमा उल्लेख गरेको छ।
पछिल्लो समयमा बंगलादेशको ढाका स्टक एक्सचेन्जमा विदेशी रणनीतिक साझेदार भित्र्याउँदा यसको सेवा स्तरीय एवं विश्वसनीय रुपमा विकास भएको तथ्य सार्क क्षेत्र धितोपत्र बजारहरुको अध्ययन भ्रमणबाट देखिएको झाँक्रीले प्रतिवेदनमा उल्लेख गरेकी छन्।
प्राथमिक बजारको विकास भएता पनि दोस्रो बजारको कारोबार तथा राफसाफ प्रणाली हालसम्म पूर्ण रुपमा स्वचालित भई विश्वासिलो तथा भरपर्दो हुन नसकेको उपसमितिले जनाएको छ।
नेप्सेको संरचनात्मक सुधार गरी प्राविधिक भौतिक व्यवस्थापकीय वित्तीय र मानव स्रोतको क्षमता विकास गर्दै नेप्सेलाई अन्तर्राष्ट्रियस्तरको स्टक एक्सचेन्जको रुपमा विकास गर्न यथाशीघ्र नेपाल स्टक एक्सचेन्जमा पूँजी र प्रविधि सहितको विदेशी ख्याती प्राप्त रणनीतिक साझेदार भित्र्याई स्वामित्व पुनर्संचरना गर्न सुझाव दिइएको छ।
नेप्सेले विभिन्न प्यारामिटरहरु बनाई अटो सर्भिलेन्स सिस्टमको माध्यमबाट कारोबारको निगरानी गर्ने सिस्टममा भएका डाटा सुरक्षित गर्ने र डाटा डिलिट भएमा डिलिट भएको पनि सिस्टममा देखिने गराउन सुझाव दिइएको छ।
अनुसन्धानलाई प्रभावकारी बनाउन जनशक्ति अभिवृद्धि गर्ने र यसका लागि नेप्सेमा अटो सर्भिलेन्स सिस्टममा देखिने गराउन समेत प्रतिवेदनमा सुझाव छ। नियामकीय अधिकारभित्र आफ्नो क्षमता अभिवृद्धि गर्ने र यसको लागि नेप्सेमा अटो सर्भिलेन्स सिस्टम जडान गरी लागू गर्न सुझाव दिइएको छ। नेप्से सूचकलाई कारोबार र पुँजी क्षेत्रलगायतका आधारमा परिमार्जन गर्ने सुझाव छ।
भौतिक पुर्वाधार विकास संचरना जनशक्ति र प्राविधिक क्षमताका लागि स्रोत साधनको पर्याप्त व्यवस्थापन गरी सुपरभिजन तथा नियमन प्रणालीको सुदृढीकरण तथा क्षमता विस्तार गर्ने उपसिमितले सुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।