काठमाडौं- अर्थतन्त्रका सम्पुर्ण सूचक नकारात्मक देखिदा शेयर बजार भने बढ्दो ट्रेण्डमा देखिन थालेको छ। लकडाउनपछि खुलेको शेयर बजार केही दिन रातो देखिए पनि बजार लगातार बढिरहेको छ। मंगलबार शेयर बजार ३७.९३ अंकले सुधार भएर १३३६.६६ अंकमका रोकिएको छ। सूचकमा राम्रो सुधार देखिए पनि कारोबार रकममा भने खासै सुधार आउन सकेको छैन।
मंगलबार दोस्रो बजारमा १७८ वटा कम्पनीको एक अर्ब २१ करोड रुपैयाँको खरिद बिक्री भएको छ। ५ वटा कम्पनीको बढ्ने क्रममा सर्किट लागेको छ। सम्पुर्ण सूचक तथा उपसूचक हरियो देखिँदा सबैभन्दा धेरै होटलको सूचक ८.८८ प्रतिशतले बढेको छ।
पछिल्लो तीन कारोबार दिनमा नेप्से सूचक ८० अंकले बढेको छ। लकडाउनका कारण बैंक तथा वित्तीय संस्थाले नयाँ कर्जा प्रवाह गर्न सकेका छैनन्। कर्जा प्रवाह नहुँदा बैंकहरुले शेयर बजारमा कर्जा प्रवाह गर्न सक्ने आँकलन गरिएको छ। बैंक ब्याजदर पनि घटिरहेको सन्दर्भमा लगानीकर्ताको ध्यान मुद्दति निक्षेपमा भन्दा शेयरमा लगानी गर्नेतर्फ केन्द्रित छ।
लकडाउन अगाडिदेखि नै शेयर बजार बुलिस ट्रेण्डमा अगाडि बढेको विश्लेषण गरिएको थियो। तर कोभिड १९ ले विश्वव्यापी रुपमा असर पुर्याउँदा यसको प्रत्यक्ष असर अर्थतन्त्रमा परेको छ। अर्थत्नत्र कमजोर हुँदै गर्दा शेयर बजार पनि लगातार घट्न पुगेको थियो।
तीन महिनाभन्दा लामो समय बन्द गरिएको नेपालको शेयर बजारमा लगानीकर्ताहरु बजार घट्ने डर बजार बन्द गराउन लविङ गरिरहेका थिए। केही दिन बजार ओरालो झरे पनि पछिल्लो समयको सुधारले लगानीकर्ताको सहभागिता समेत बढ्न थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।