काठमाडौं- सरकारले विगतका संरचना अनुसार संघमा रहेका विभिन्न मन्त्रालय अन्तर्गतका ४० विभागमध्ये ६ वटा विभाग खारेज गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले १२ वटा मन्त्रालय मातहातका ४० विभागलाई घटाएर ३४ कायम गर्ने निर्णय गरेको हो।
विभागको खारेजीसँगै ती विभागमा रहेका कर्मचारी समेत कटौतीमा परेका छन्। मन्त्रिपरिषद् विभागको खारेजीसँगै २६ दशमलव ७६ प्रतिशत अर्थात् ९ सय ४६ कर्मचारीको दरबन्दी समेत कटौती गरेको छ। मन्त्रिपरिषद् ३५ सय २९ कर्मचारी रहेका यी विभागबाट कर्मचारी घटाउँदै २५ सय ९२ मा झारेको छ।
संघीयता कार्यान्वयनका क्रममा अन्य २१ वटा विभागको विषयमा भने अझै निर्णय भइसकेको छैन। अन्य विभागका संरचनाका विषयमा छलफल चलिरहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।
प्रधानमन्त्री कार्यालयले नेपाला लाइभलाई दिएको जानकारी अनुसार मन्त्रालय गाभिएसँगै विगतमा ठूला संरचनामा रहेका विभागलाई अन्य विभागमा लगेर गाभिएको हो।
खरेज भएका विभागमा घरेलु तथा साना उद्योग, भूसंरक्षण, यान्त्रिक तालिम, जल उत्पन्न प्रकोप नियन्त्रण, वाणिज्य, भू–तथा अभिलेख विभाग रहेका छन्।
मन्त्रिपरिषद्ले घरेलु तथा साना उद्योगलाई उद्योग विभागको एउटा सानो शाखाका रुपमा राखेको छ। यस्तै भू–संरक्षण विभागलाई वन विभागमा लगेर गाभेको छ। वनमा गाभिएसँगै उक्त विभागको नाम वन तथा भूसंरक्षण विभाग भनेर नयाँ नाम दिइएको छ।
विभागकै संरचनामा रहेको यान्त्रिक तालिम केन्द्रलाई हटाएर सडक विभागकै एउटा शाखाका रुपमा राखिएको छ।
यसैगरी, जल उत्पन्न प्रकोप नियन्त्रणलाई सिँचाइ विभागमा गाभेर जलस्रोत तथा सिँचाइ विभाग नामाकरण गरिएको छ।
वाणिज्य विभागलाई आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षणमा गाभेर वाणिज्य, आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभाग बनाइएको छ।
यसैगरी, भू तथा अभिलेख विभागलाई भूमिसुधार विभागमा लगेर जोडिएको छ। अब उक्त विभागको नाम भूमि व्यवस्थापन तथा अभिलेख विभाग रहने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।