एजेन्सी- बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भारत र चीनका बीचमा आपसी सीमा विवाद वार्तामार्फत् सुल्झाउन अपील गरेका छन्। जोनसनले पूर्वी लद्दाखको अवस्था निकै गम्भीर र चिन्ताजनकको संज्ञा पनि दिएका छन्।
भारत र चीनसँग जोडिएको विवादमा पहलो पटक बेलायत बोलेको हो। बुधबार बेलायतको तल्लो संसद हाउस अफ कमन्समा साप्ताहिक जवाफ दिने क्रममा प्रधानमन्त्री जोनसनले यस्तो बताएका हुन्। कार्यक्रममा कन्जर्भेटिभ पार्टीका सांसद फ्लिक डुम्मोडले प्रश्न सोधेका थिए।
डुम्मोडले प्रधानमन्त्री जोनसनसँग भारत-चीन विवादले बेलायतमा के असर पर्छ भनी प्रश्न उठाएका थिए। जवाफमा प्रधानमन्त्री जोनसनले सबैभन्दा राम्रो दुवै पक्ष बसेर सीमा विवादमा समाधान निकाल्नुपर्ने बताए। बुधबार भारतीय विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा भारत र चीनका बीचमा झडप भएको सीमाका बारेमा भएको सहमतिको कार्यान्वयन शुरु भएको भनिएको छ।
हाललाई सीमा क्षेत्रमा कायम रहेको अवस्थालाई शान्ति कायम गर्न सहयोग होस् भनी भारतका तर्फबाट सहमति कार्यान्वयन थालिएको उसले जनाएको छ। चीनले भने गलवान क्षेत्र आफ्नो सार्वभौम क्षेत्र भएकाले भारतीय सेना फिर्ता हुनुपर्ने दाबी गर्दै आएको छ। तर भारतले त्यसलाई स्वीकार गरेको छैन। जसका कारण भारतले क्षति पनि व्यहोर्नुपरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।