काठमाडौं- सामाजिक सञ्जालको प्रयोग गरेर एक करोडभन्दा बढी ठगी गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। 
झापाको भद्रपुर नगरपालिका घर भई काठमाडौं-२१ बस्ने २४ वर्षीय पुकार बर्मा, काभ्रेको सिम्थली घर भई काठमाडौं टेकु बस्ने २२ वर्षीय नवीन भण्डारी, रौतहटको गौर नगरपालिका-१ घर भई काठमाडौं छाउनी बस्ने १९ वर्षीय आकाश अग्रवाल र एस अग्रवाल पक्राउ परेका छन्। 
त्यसैगरी भारतको पश्चिम चम्पारण बिहार सेनवरिया घर भई काठमाडौं टंकेश्वर बस्ने २२ वर्षीय एमडी सर्फराज, पर्साको वीरगञ्ज-२९ का ३० वर्षीय कृष्णप्रसाद साह र वीरगञ्ज-३२ का २० वर्षीय सुनील साह पक्राउ परेका छन्। उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। 
उनीहरुले सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, ह्वाट्स एप, इमो, भाइबरमार्फत् चिट्ठा परेको भन्दै प्रलोभन देखाएर ठगी गरेको पाइएको छ। महँगो चिट्ठा परेको र उक्त पुरस्कार लिन करवापतको रकम तिर्नु भन्दै विभिन्न खातामा रकम जम्मा गर्न लगाएर ठगी गरेको पाइएको अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।
यसरी उनीहरुले सर्वसाधारणदेखि नेपाल सरकारका उच्चपदस्थ सरकारी कर्मचारीसम्मलाई ठगी गरेको पाइएको छ। यो समूहले अहिलेसम्म एक करोड रुपैयाँभन्दा बढी ठगी गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरुले भारतीय गिरोहसँग मिलेर काम गर्ने गरेको प्रहरीसमक्ष बयान दिएका छन्।
पक्राउ परेका सातै जनालाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।