राजेश पायल राई भन्नलाई ‘म खुला किताब हुँ’ भन्छन् । तर, उनको जिन्दगीको खुला किताबमा उनी आफैं पनि अलमलिने केही अध्याय छन् र उनले यो उमेरसम्म बुझ्नै नसकेका अध्याय पनि रहेछन्।
संगीतका सात सुर बुझेका उनी जिन्दगीका सुरतिर पुग्दा कहिलेकाहीँ बेसुरा ठान्छन् आफूलाई । निजी कार्यालय रहेको नक्सालस्थित पाँचतले घरको छतबाट सहर हेर्दै उनी अनेक थोक सोचिबस्छन्।
तीमध्ये एउटा छ– प्रेम जिन्दगीको महत्वपूर्ण राग हो, तर त्यो आलाप लिने भाँती पुगेन कि?
अर्काे छ– विवाह जिन्दगीको ताल हो, त्यो किन मिलिरहेको छैन?
राजेश पायललाई प्रेम गर्नेहरुको यसै पनि कमी छैन । खोज्दै जाने हो भने घरैपिच्छे उनका प्रशंसक भेटिन सक्छन् । सधैंजसो उनी साथीभाइको घेरामै हुन्छन् । घरपरिवार र आफन्तका पनि धनी नै मान्छे हुन्।
यी सबै भएर पनि कति–कति बेला चाहिँ एक्लो महसुस हुन्छ उनलाई ?
यो प्रश्न अहिलेसम्म झेलेका रहेनछन् । हरेक प्रश्नको उत्तर रमाइलोसँग दिइरहेका उनी एकछिन निःशब्द बने । एकाएक भावुक मुद्रामा आइपुगे ।
सेलिब्रिटीलाई सोधिने हल्काफुल्का प्रश्नहरुको बनावटी उत्तर दिँदै आएका उनी पहिलोपल्ट आफूभित्रका सत्य ओकल्ने ‘मुड’मा आए।
‘ज्यादा नै व्यस्त भएर लखतरान भएर घर आइपुगेका बेला र ठूलै सफलता हासिल गरेर असाध्यै खुसी भएका बेला,’ उनी भन्दै गए, ‘वाह ! तपाईंले यस्तो पनि गर्नुभयो’ भन्ने त धेरै भेटिन्छन् । मैले यस्तो गरेँ नि भनेर आफूले सेयर गर्ने मान्छे भइदिए जस्तो लाग्छ।’
यस्तो बेला आफैंले आफैंलाई प्रश्न गर्छन्, ‘यति सफल मान्छेको पनि त्यस्तो एउटा मान्छे छैन?’
केले मिलेन त अझै घरजमको सुरताल?
यो प्रश्नसँगै उनले आफ्ना जिन्दगीका तीन ‘क्रस’ सम्झिए।
तीमध्ये दुई उनका त्यस्ता एकतर्फी प्रेम भए, असाध्यै मन पराए पनि व्यक्त गर्न सकेनन् । यदि व्यक्त गर्न सक्दा हुन् र उताबाट ‘एस’ आउँदो हो त उहिल्यै मिलिसक्थ्यो होला घरजमको मेसो।
मनको कुरा किन व्यक्त गर्न सकिएन?
‘यो कुरामा म एकदमै डरपोक छु । आजसम्म न कसैलाई फेस टु फेस भएर ‘आइ लभ यू’ भन्न सकेँ । न भनेकालाई नै ‘लभ यू टू’ लेख्न सकेँ।’
आजभन्दा १०–११ वर्षअघि कलाकारिता क्षेत्रकै एक युवती उनको रोजाइमा परेकी थिइन् । उनले भित्रभित्रै उनीसँग जिन्दगीको रथ कुदाउने सपना समेत सजाएका थिए । साथीभाइले ‘जोडी गज्जब जम्छ’ भनिदिएपछि उनी अझ सिरियस भएका थिए । चिनजान, भेटघाट, कफी खाजा हुँदै साथीत्व डिनरसम्म त पुग्यो । तर, त्यसभन्दा अघि आफूलाई बढाउनै सकेनछन् । उनलाई लाग्यो, ‘हुँदैन भनिन् भने त अहिले छँदाखाँदाको दोस्ती पनि टुट्छ । यही क्षेत्रमा बाँच्नु छ, समस्या हुन्छ।’
ती युवतीका निकटस्थलाई मन पराएको सुइँको त दिएका हुन् । तर, उनीहरुले सुनाए–सुनाएनन्, पत्तै भएन । केही वर्षपछि ती युवतीले बिहे गरिन् । राजेशको ‘मनको कुरो मनमै’ रह्यो।
झन्डै चार वर्षअघि फेरि एक जना कलाकार नै उनको आँखामा चढिन् । उनीसँग पनि राजेशले दोस्ती असाध्यै गाढा बनाए । मित्रताका हिसाबले असाध्यै गहिरो पनि भएछ सम्बन्ध । यहाँनेर पनि उही पुरानो समस्या दोहोरियो । आफैंले भन्न सक्ने स्थिति यसपल्ट पनि नदेखेपछि उनका साथी मार्फत कुरो पुर्याए । साथीले उनीसम्म कुरा पुर्याइदिइछन्, ‘राजेश दाइले तिम्लाई मन पराउनुहुँदो रहेछ!’
उताबाट उत्तर आएछ, ‘राजेश दाइले ठट्टा गरेर भने होलान्, तैंले चाहिँ पत्याएको?’
डरले गुजुल्टो पर्ने राजेशलाई आँट आउने कुरै भएन, ‘होइन, मैले साँच्चिकै भनेको भनेर कसरी भन्न जानु?’
त्यसअघि खोटाङमा स्कुल पढ्दा एकजना असाध्यै मन परेकी थिइन् उनलाई । उनी आफ्नै मान्छे जस्ती लाग्न थालेकी थिइन् । राजेश सात कक्षामा पढ्थे भने र उनी पाँचमा । कोही मन पर्यो कि प्रेमपत्र लेखिहाल्ने चलन थियो त्यो बेला । राजेशलाई लाग्यो– ‘प्रेमपत्र लेखेर पठाउँछु।’
उनले लेखे पनि । तर, कसरी दिने ? कहाँ पठाउने ? कसैले थाहा पायो भने?
भर्खर किशोर बेलामा डरले मुटुमा बेस्मारी दमाहा बजायो । मनमा हुर्कंदै गरेको प्रेमको टुसा त्यत्तिकै भाँच्चियो।
कोही मन परेपछि एकैपल्ट उनमा दुई खालका विचार आइहाल्दा रहेछन् । ‘मैले भन्यो भने मानिहाल्छिन् नि जस्तो लाग्छ । अघि बढ्न खोज्छु, तर मानिनन् भने ... भन्ने लाग्छ । अनि चुपचाप बस्छु।’
यी त उनले मन पराएकाहरुको कुरा भयो । उनलाई मन पराएँ भनेर आउनेहरुको झन् लस्कर नै छ।
धेरैले उनलाई मन पराएको कुरा फेसबुक मार्फत व्यक्त गर्छन् । त्यस्तो भन्नेको प्रोफाइल खोलेर हेर्छन्, तस्बिरहरु हेर्छन् । उनलाई ‘ठीकै छे’ जस्तो लाग्छ । आफ्ना तर्फबाट ‘संकेत गरौं’ जस्तो लाग्छ पनि।
मनमा रोमान्टिक भावहरु जागिरहँदा एक्कासि आशंकाले रोक्छ, कतै फेक एकाउन्ट पो हो कि ? ‘राजेशले मलाई मन परायो नि’, ‘भेटौं भन्यो नि’ भनेर स्क्रिन सट सार्वजनिक गरिदेलान् कि भन्ने पीर लाग्छ।
यस्तै शंका–आशंकाले यतातिरको ढोका पनि घड्याप्प बन्द हुन्छ।
राजेश नाम गरेका सेलिब्रिटीहरुको बिहे ५० पारि नै हो त ? हामीले उनको उकालो लागिरहेको उमेर र बिहेमा ढिलाइ हुँदै गएको कुरातिर संकेत गर्यौं । उनी मस्त हाँसे, ‘त्यति चाहिँ नपुग्ला । अलि चाँडै गर्छु ।’
उनलाई विवाह गर्ने ठ्याक्कै यही समय हुन्छ भन्ने लाग्दैन । आफूलाई मन लागेका बेला र जुरेर गर्ने हो भन्छन् । विवाह नै भएन भने पनि असफल जिन्दगी ठान्दैनन् । उनी सफल अविवाहित नेपाली राजनीतिज्ञ कृष्णप्रसाद भट्टराई, सुशील कोइरालाको उदाहरण दिन्छन् । यस्तै, बलिउड अभिनेता सलमान खानको नाम अघि सार्छन् ।
‘यी उदाहरण हुन्, मेरा आदर्श होइनन्,’ उनी तर्किन्छन्, ‘उनीहरुको सिद्धान्त अपनाएको होइन।’
अचेल उनलाई बिहेको लागि घर–परिवारको असाध्यै ठूलो दबाव छ । चाँडै बिहे गरेर छोराले नाति–नातिना खेलाउने मौका देओस् भनेर बा–आमाले चाहना राख्दा रहेछन्।
उनका प्रशंसक पनि ‘तपाईंको चाँडै बिहे होस्’ भन्छन् । ‘अचेल आइ लभ यू भन्ने भन्दा पनि चाँडै बिहे होस् भन्नेको संख्या बढ्दो छ,’ उनी भन्छन्, ‘कुनै अविवाहित कलाकारसँगको तस्बिर फेसबुकमा राख्छु, उसैसँग भए पनि छिटै बिहे गर्नुस् भन्ने कमेन्ट आउँछ।’
केही समयअघि उनले अभिनेत्री रेखा थापासँगको तस्बिर पोष्ट गरेका थिए । ‘राजेश–रेखाको जोडी जम्छ’ भनेर कमेन्ट र इनबस्क गर्नेहरु निकै भएछन् । कतिले त उनीहरुबीच ‘खिचडी पाकिरहेको’ बुझेका रहेछन्।
‘यतिबेला सबैतिरबाट मेरो बिहेका लागि प्रेसर बढ्दो छ,’ उनले भने, ‘अब धेरै दिन प्रेसर थाम्न सकिन्न कि!’
छुट्टिनै लाग्दा हामीले राजेशसँग ठट्टा गर्यौं– तपाईंले साँच्चै मन पराएकी तर तपाईंले मन पराएको सुइँको दिँदा ठट्टा ठानेकी युवतीको नाम भन्नुहोस् । हामी उहाँ साँच्चिकै मन पराउनुहुन्छ भनिदिउँला।
राजेशले हँसमुख भावमा उत्तर दिए, ‘यति पढ्यो भने त उनले बुझ्लिन् नि!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।