काठमाडौं– इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टसले जित हात पारेको छ।
सोमबार राति भएको खेलमा युभेन्टसले घरेलु टिम बोलोग्नालाई २-० गोलअन्तरले पराजित गरेको हो। युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डो र पाउल डिबालाले समान १-१ गोल गरे।
लिगको मध्यस्थानमा रहेको बोलोग्नालाई पराजित गर्ने क्रममा खेलको २३औं मिनेटमा युभेन्टसले गोल गर्न सफल भयो। डिबक्स क्षेत्रमा बोलोग्नाका स्टेफानो डेन्सविलले फोउल गरेपछि भारबाट पेनाल्टीको छिनोफानो भएको हो। पेनाल्टीको सदुपयोग गर्दै रोनाल्डोले गोल गरेका हुन्।
खेलको ३६औं मिनेटमा डिबालाले गोल गर्दै युभेन्टसलाई २-० को अग्रता दिलाए। पहिलो हाफमा २-० गोलको अग्रता लिएको युभेन्टसले दोस्रो हाफमा गोल थप्न सकेन। यता, बोलोग्ना पनि पाएको अवसर गुमाउँदा हारबाट जोगिन सकेन।
शीर्ष स्थानमा रहेको युभेन्टसको जितसँगै २७ खेलबाट ६७ अंक भएको छ। लिगको दोस्रो स्थानमा रहेको लाजियोको २६ खेलबाट ६२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।