काठमाडौं–इंग्लिस प्रिमियर लिग फुटबलमा लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले बर्नलीलाई ५–० गोलअन्तरले पराजित गरेको छ।
सोमबार राति भएको खेलमा घरेलु टिम सिटीले बर्नलीलाई फराकिलो अन्तरले पराजित गरेको हो। सिटीको जितमा फिल फोडेन र रियाद महरेजले समान २–२ गोल गर्दा डेविड सिल्भाले एक गोल थपे।
खेलको पहिलो हाफमा तीन गोलको अग्रता लिएको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्दै जित निश्चित गरेको हो। खेलको २२औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। खेलको ४३औं मिनेटमा गोल गरेका महरेजले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दा सिटीले पहिलो हाफसम्म ३-० को अग्रता बनायो।
खेलको ५१औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ४-० को अग्रता दिलाए। बर्नलीमाथि दबाब बनाइ राखेको सिटीले खेलको ६३औं मिनेटमा फेरि अर्को गोल थप्यो। फोडेनले गोल गर्दै सिटीलाई ५-० गोलको जित दिलाए।
जितसँगै दोस्रो स्थानमा रहेको सिटीको ३० खेलबाट ६३ अंक भएको छ। पराजित बर्नलीको भने ३० खेलबाट ३९ अंक छ। लिगको शीर्ष स्थानमा भने लिभरपुल रहेको छ। लिभरपुलको ३० खेलबाट ८३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।