काठमाडौं- नेपाली नक्साभित्र समेटिएका कालापानी, कुटी र गुंजीलगायत क्षेत्रमा संचार सुविधा पुर्याउन नेपाल टेलिकमले टावर स्थापना गरेसँगै सोमबारबाट त्यहाँ टेलिकमको सिडिएमए सेवा पुगेको छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार दार्चुला जिल्लाको व्यास गाउँपालिकामा नेपाल टेलिकमले नयाँ टावर राखेपछि ती क्षेत्रमा संचार सुविधा पुगेको हो। त्यहाँ राखिएको नयाँ मोबाइल टावर भिस्याट टर्मिनलबाट जोडिएको छ।
केही समय अघिमात्र सशस्त्र प्रहरीले त्यहाँ बिओपी स्थापना गरेको थियो। मन्त्रालयका अनुसार छाङ्ग्रु, कालापानी, कुटी, गुंजी र तिंकर क्षेत्रमा सिडिएमए सेवा पुगेको छ। त्यस्तै भारतको सीमाभित्र पर्ने केही क्षेत्रमा पनि यसले काम गर्नेछ।
गृह मन्त्रालय दार्चुला जिल्ला प्रशासन कार्यालयको समन्वयमा हेलिकप्टरमार्फत टेलिकमका कर्मचारी त्यहाँ पुर्याएर टावर निर्माणको काम गराएको हो। नेपाल टेलिकम केन्द्रीय कार्यालयले थप टेक्निसियन र उपकरणहरु त्यहाँ पुर्याउनका लागि गृह मन्त्रालयसँग आग्रह गरिरहेको पनि संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।