काठमाडौं–शेयर लगानीकर्ताले भुक्तानी गरेको पुँजीगत लाभकरलाई अन्तिम कर मानेर कर चुक्ता प्रमाणपत्र दिन आन्तरिक राजस्व विभाग सहमत भएको छ। नेपाल धितोपत्र बोर्डले केही दिनअघि धितोपत्र बजारको पुँजीगत लाभकरलाई अन्तिम कर मानी गणना गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको थियो।
लगानीकर्ताले लामो समयदेखि पुँजीगत लाभकरलाई अन्तिम करको रुपमा गणना गर्न माग गर्दै आएको थिए। लगानीकर्ताको माग सम्बोधन गर्ने क्रममा धितोपत्र कारोबारमा हुने पुँजीगत लाभको अग्रिम कर असुलीको विवरण तथा विद्युतीय प्रणाली ‘इ टिडिएस’ मार्फत् दाखिला भएको अवस्थामा सम्बन्धित लाभग्राही प्राकृतिक व्यक्तिले आफ्नो पायक पर्ने आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट कर चुक्ता प्रमाणपत्र लिन सक्ने व्यवस्था गरेको हो।
सरकारले गत वर्षको वैशाख यता ५ लाख रुपैयाँभन्दा माथिको कारोबार गर्दा स्थायी लेखा नम्बर प्यान अनिवार्य गरे पनि लगानीकर्ताले भुक्तानी गरेको पुँजीगत लाभकरको विवरण उक्त प्यान नम्बरमा देखिने गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।